जुम्ला विमानस्थल: रनवे बढाउन मिल्ने जग्गा छैन,आएको बजेट खर्च गर्न समस्या


जग्गा उपलब्ध नहुँदै जुम्ला विमानस्थलको रनवे बढाउनको लागि बजेट आएपछि कार्यान्वयनमा समस्या देखिएको छ। रनवे बढाउन भन्दै गत भदौमै ४ करोड ४२ लाख रुपैयाँ विनियोजित भएको थियो । तर रनवे बढाउनका लागि जग्गा उपलब्ध नभएकोले बजेट कार्यान्वयन गर्न चुनौति देखिएको नेपाल नागरिक उड्ययन प्राधिकरणको कार्यालय जुम्लाका प्रमुख सन्तोष अधिकारीले बताए।
उनले भने, ‘रनवे बढाउनको लागि बजेट आएको छ। रनवे बढाउन मिल्ने जग्गा छैन। बजेट खर्च गर्न सकिने अवस्था छैन । जग्गा प्राप्त भएपछि मात्र बजेट कार्यान्वयन गर्न सकिने देखिन्छ ।’जुम्ला विमानस्थलको विस्तारको लागि १८ हजार ३ सय ८० रोपनी जग्गा चाहिएको छ । तर अहिले सम्म जग्गा नै प्राप्त भइसकेको छैन । प्रमुख अधिकारीले भने, ‘जग्गाको मुआब्जाको लागि बजेट आउन नसकेकोले प्रक्रिया नै अघि बढ्न सकेको छैन । ’ जग्गाको मुआब्जा र रनवे विस्तारको लागि ५० करोड भन्दा बढि बजेट लाग्ने अनुमान गरिएको छ ।
त्यही अनुसार बजेट एकिन गरेर सम्बन्धित निकायमा पठाउने तयारी भइरहेको नागरिक उड्ययन कार्यालय जुम्लाले जनाएको छ ।रनवे विस्तारको लागि आएको बजेट खर्च गर्न नसकिने अवस्था देखिएपछि मंगलबार विहान प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेको अध्यक्षतामा बैठक बसेर विमानस्थलको विस्तार गर्न आवश्यक जग्गाको मुआब्जाको लागि चाहिने रकम यकिन गरी सम्बन्धित निकायमा पठाउने निर्णय गरिएको छ । जबसम्म मुआब्जा र विमानस्थलको विस्तारको लागि प्रयाप्त बजेट आउँदैन ।
तबसम्म विमानस्थलको विस्तार गर्ने कार्य अघि बढ्न सक्दैन ।बैठकमा चन्दननाथ नगरपालिका प्रमुख राजुसिंह कठायत,प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरे, नागरिक समाजका राजबहादुर महत, जिल्ला स्थित सुरक्षा प्रमुखहरु, वडाध्यक्ष, नापी र मालपोत कार्यालयका प्रतिनिधिहरु र पत्रकारहरुको उपस्थिति रहेको थियो ।जिल्ला प्रशासन कार्यालयमार्फत् नागरिक उड्ययन मन्त्रालय र नागरिक उड्ययन प्राधिकरणमा पत्र पढाउने निर्णय बैठकले गरेको छ ।
जुम्लाबाट प्रतिनिधित्व गर्ने सांसदहरुले काम गर्दै गर्नुस् बजेट पठाउछौँ भन्ने आश्वासन दिइरहेका छन्,’ कार्यालय प्रमुख अधिकारीले भने, ‘तत्काल बजेट विनियोजन भएको खण्डमा दुई महिना भित्रै सबै प्रक्रिया अघि बढाइने छ ।’जग्गाको मुआब्जा पाउने भन्दै किसानहरुद्धारा धमाधम स्याउ बगैंचा थपिएको र खेती विस्तार गरिरहेकोले महँगो पर्न जाने अनुमान समेत गरिएको छ ।
बैठकले रनवे तथा एप्रोन विस्तारका लागि विनियोजित रकम प्राप्ति नहुँदासम्म प्रयोगमा नआउने भएकोले यो रकम जग्गा मुआब्जा प्रयोगमा ल्याउनका लागि खर्च हुने गरेर निर्णय गर्न आग्रह गरेको छ । साथै कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट जुम्ला उडान हुन नसकेको र फागुन १४ गते दशकपछि सरकारी जहाजले पहिलो उडान भरेकोले उडानलाई नियमित गर्न आग्रह गर्ने पनि निर्णय भएको छ ।
जुम्लाबाट प्रतिनिधित्व गर्ने सांसदहरुले जग्गाको मुआब्जा नभइकन रनवे विस्तारका लागि वकालत गरिरहेको भन्दै जुम्लाबासीले आक्रोश व्यक्त गरेका छन् । उनीहरुले तत्काल जग्गा प्राप्ति गरेर रनवे बढाएर ठुला जहाज बसाल्न मिल्ने गरेर प्रक्रिया थाल्न समेत माग गरेका छन्। जुम्ला विमानस्थलमा फयुल सेन्टर स्थापना गरेर आन्तरिक उडान चल्ने गरेर पहल गर्न आग्रह समेत गरेका छन् ।






