कालानमक धानको अस्तित्व संकटमा : संरक्षण र प्रवर्द्धनको आवश्यकता


सरला सुवेदी ।
नेपालको पश्चिम तराईका फाँटहरूमा पहिलेदेखि नै महत्वपूर्ण मानिने रैथाने कालानमक धान लोप हुने अवस्थामा पुगेको छ। लगानीअनुसार प्रतिफल नपाएको भन्दै कृषकहरूले यसको खेती गर्न छाड्दै गएपछि यो समस्या देखिएको हो।
एक समय आफ्नो बासना र स्वादका कारण प्रतिष्ठाको प्रतीक बनेको कालानमक धान अहिले खेतबारीबाट हराउन थालेको छ। खजुरास्थित कृषि अनुसन्धान निर्देशनालयका बाली वैज्ञानिक नवराज आचार्यका अनुसार बेलैमा यसको संरक्षण र प्रवर्द्धनमा ध्यान दिइएन भने कालानमक धानको सुगन्ध र स्वाद नेपाली भान्साबाट सधैँका लागि हराउन सक्ने उनको भनाई रहेको छ।
भान्सामा पाकेको कालानमक भातको बासना घर आँगनमा मात्र होइन, खेतमै पाकेको धानको बासना टाढासम्म फैलिन्थ्यो। यसले आगन्तुकको स्वागत गर्ने मुख्य साधनको रूपमा काम गर्थ्यो। तर अहिले किसानहरूले सरकारबाट मल, बीउ, र सिँचाइ जस्ता आवश्यक सहयोग नपाउँदा कालानमकको खेती गर्न छाडेको खजुराका किसान मन्नु बर्माले बताए।
सरकारले उन्नत जातका धानका लागि अनुदान उपलब्ध गराउँदा रैथाने धानलाई बेवास्ता गर्दै आएको छ।
यसले कालानमक जस्ता बासमती धानमा रोग किरा लाग्ने र उत्पादन घट्ने समस्या थपिएको छ। जानकीका किसान बेनिराम कहारका अनुसार,बोट ढल्ने समस्या र सरकारी सहयोगको अभावले किसानहरूले कालानमक धानको खेती त्यागेका छन्।
रैथाने बासमतीका साथै श्यामजिरा धान पनि हराउन थालेको छ। यस्ता धान जातको संरक्षणको प्रयासस्वरूप अन्तर्राष्ट्रिय धान अनुसन्धान केन्द्रले नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) लाई होचो जातको कालानमक बिउ उत्पादन गर्न दिएको छ। तर, यो नयाँ जातले पुरानो रैथाने धानको बासना र स्वादको पूर्ति गर्न सकेको छैन।
विश्वमा उत्पादित ९०% धान एशियामै उत्पादन र खपत हुन्छ। नेपालका छिमेकी देश चीन र भारतले विश्वको कुल धान उत्पादनको ५०% हिस्सा ओगट्छन्। तर नेपालमा कालानमक धानजस्तो मूल्यवान जात संरक्षण अभावका कारण लोप हुने अवस्थामा पुगेको छ।
वैज्ञानिकहरूका अनुसार यदि अहिले नै कालानमक धानको बिउ संरक्षणमा ध्यान दिइएन भने भविष्यमा यसको स्वाद र रंगसम्बन्धी ज्ञान पनि हराउन सक्छ। यसैले, यो ऐतिहासिक रैथाने धानको संरक्षण र प्रवर्द्धनका लागि सरकार, अनुसन्धानकर्ता, र किसान सबैको सहकार्य अपरिहार्य छ।






