जुम्लाका युवा गाउँ शून्य गरि यार्सा टिप्न पाटनतिर


जुम्लाको पातारासी गाउँपालिकाका–६ उर्थु गाउँका चक्रबहादुर बेहोरा अहिले यार्सा संकलनका लागि पाटनतिर लागेका छन् ।
उनी एक हप्ता अघि नै घर छाडेका हुन् । स्वरोजगारका कुनै अवसर नभएपछि बाध्य भएर पाटनमा यार्सा संकलनमा खटिएको उनी बताउँछन् । यार्सा पाइएको खण्डमा वर्षदिनको खर्च व्यवस्थापन गर्न कुनै कठिनाइ हुँदैन ।उनले भने, ‘यहाँका अधिकांंश युवा पाटनमा गएर यार्सा संकलन गर्छन् ।’
दुई महिना खटिएर पाटनमा यार्सा टिप्नसके कालापहाड जानुनपर्ने अनुभव उनको छ ।पातारासी गाउँपालिकाको आयआर्जनको मुख्य स्रोत भनेकै यार्सा बनेको छ ।
यहाँका स्थानीयले वर्षदिनका लागि आर्थिक जोहो यार्साबाटै गर्दै आएका छन् । त्यसैले यसपटक पनि उनीहरु यार्सा पाइने उच्च हिमाली पाटनहरुमा पुगेका छन् । उक्त गाउँका धनसिंह बोहोरा पनि यार्सा संकलनका लागि पाटनतिर हिडेका छन् ।
खेतिपाती खासै नभएकाले यसले वर्षभरि खान नपुग्ने उनले बताए । यसले गर्दा स्थानीयवासीको मुख्य जीविकोपाजर्नको स्रोत नै जडिबुटी हो । घरको उत्पादनले बाह्रै महिना खाना पुग्दैन । घर खर्चदेखि बालबच्चालाई स्कुल पढाउन लेखाउँन, लुगाफाटो किन्न समेत यार्सा संकलन गर्न जानुको विकल्प छैन । बोहोराले भने, ’मकै, आलु, कोदो, चिन्नु गोड्मेल र घरायसी सबै काम महिलाले गर्दछन् । घरको सबै समान जोहो गर्न यार्साकै भर पर्नु पर्ने अवस्था छ ।
यता अर्का युवा उर्थु गाउँकै रामबहादुर विष्ट भन्छन्, पातारासी गाउँपालिका ग्रामीण क्षेत्रका सर्वसाधारण वर्षेनी पाटनतर्फ जान्छौं । जेठ महिना लागे देखि पातारासी क्षेत्रका युवा मात्रै होइन युवायुवती र वृद्धवृद्धासम्म बच्चा बोकेर पाटनतर्फ हिडेका उनी बताउँछन् ।
यता पातारासी गाउँपालिका अन्तर्गतको शिक्षा शाखा प्रमुख अविराज उपाध्यायका अनुसार पातारासी १,२ र ३ वडा भित्रका विद्यार्थी,युवा,युवती धेरै मात्रामा पाटन पुगिसकेका छन् ।
अघिल्ला वर्ष भन्दा यो वर्ष विद्यार्थी कम मात्रामा गएको प्रअहरुले रिपोर्टिङ गरेको उनी बताउँछन् । शिक्षा शाखा प्रमुख अविराज उपाध्यायले केही दिन अगाडि उक्त गाउँपालिका भित्रका विद्यालय प्रअको मिटिङमा ७५ प्रतिशत हाजिर नभए तथा ३३ प्रतिशत पढाइ नभएको भए विद्यार्थी स्वत फेल गर्ने निर्यण गरिएको छ ।
यो सूचना विद्यालयले अभिभावकलाई पत्राचार गरेका छन् । उक्त गाउँपालिकामा १६ वटा सामुदायिक विद्यालय छन् । निमावि ६ वटा ६ वटा मावि र ४ वटा प्रावि छन् । उनले भने, ‘यार्सा संकलन गर्ने समयमा दुई महिना विद्यार्थी विद्यालय नै आउँदैनन ।’
एक दशकदेखि यो क्रम जारी रहेको उल्लेख गर्दै उनले यसले पठनपाठनमा असर परेको जानकारी दिए । ५० प्रतिशत विद्यार्थी पाटन पुग्छन् । ‘विशेषगरी निमावि र माविस्तरमा पढने विद्यार्थी लेकतिर जान्छन्’, उनले भने । यता जुम्लाको गुठिचौर गाउँपालिका –२ का वडा अध्यक्ष दिपबहादुर ऐडीले वैशाख पहिलो हप्ता देखि १ र २ वडाका युता युवती पनि दिनदिनै यार्सा टिप्न पाटन जान लागेको बताए ।
प्रति दिन १० देखि २० जनाको लहर लागेको बताउँछन् । गोठिगाउँ,मुरुली,कोल्ते गाउँ मणिसाघुँ,मनिगाउ,चोत्र गाउँका सबै बेरोजगार युवा गएका हुन् । अहिले गाउँमा बालबालिका, महिला जेष्ठनागरिक मात्रै छन् । तातोपानी, सिंजा, कनकासुन्दरी, तिला र चन्दननाथ नगरपालिकाबाट गाउँका पनि १२ वर्षदेखि माथि ५० वर्षभन्दा तलका सबै पाटनतिर गएका छन् ।
गाउँमा बिरामीको रेखदेख गर्ने मान्छे भेट्न पनि मुस्किल छ । मर्दापर्दा मलामी जाने मान्छेढको पनि अभाव देखिएको बुढापाका बताउँछन् । दुई महिनामै वर्षभरि पुग्ने आम्दानी हुने मोहले अधिंकाश युवकयुवतीले वृद्ध आमाबाबु पनि छाडेर पाटनतिर लागेका छन् ।
विद्यार्थी विद्यालय छाडेर पाटनतिर उक्लिएका छन् । जुम्लाका ८० प्रतिशत यार्सा खोज्न पाटनतिर गएको अनुमान छ । तातोपानी गाउँपालिका –५ एैरेनी गाउँकी नारायणी चौलागाईका अनुसार ‘यार्सा टिप्न जानु कसैलाई रहर त कसैलाई बाध्यता छ’, उनले भनिन्, ‘गरिबको रोजीरोटीकै लागि पाटन गन्तव्य बन्छ ।
‘गाउँमा रोजगारीको अवसर छैन, ज्यानकै जोखिम मोलेर भए पनि नातेदारसँग लेकतिर लागेका छन्’, उनले भनिन् । स्थानीय सरकारले रोजगार प्रवद्र्धन हुने कार्यक्रम नल्याउँदा पनि युवाहरु पाटन जान बाध्य भएको यार्सा टिप्न लेकतिर लागेका जुम्लावासीको भनाइ छ ।
युवा उद्यमशीलताका विभिन्न कार्यक्रम अघि सारेर रोजगारी सिर्जना गर्ने स्थानीय सरकारको नारा नारामा सिमित छ ।’






