कर्णाली क्षेत्रमा प्रचलित प्राचीन परम्परा र प्रथाहरु


प्राचीनकालदेखि नै हाम्रो समाजमासंयुक्त परिवार प्रचलित थियो । काम, सीप र पेशाको आधारमा जात र वर्ण व्यवस्थामा आधारित समाज रहेको थियो । सबै जात र वर्ण समुदायका मानिसहरु एकआपसमा सहयोग, सहकार्य गर्दै मिलेर बसेको सामाजिक संरचना थियो । कटुवाल प्रथा, छुवाछुत प्रथा, बहुविवाह प्रथा, छाउप्रथा, सति प्रथा, डोलाजी प्रथा जस्ता सामाजिक प्रथाहरु प्रचलित थिए ।

-धर्म संस्कार, संस्कृति र परम्परामा आधारित चाडपर्व, मेला, जात्राहरुको माध्यमबाट परिवार र समुदायमा हर्षउल्लास तथा खुसीयाली मनाउने प्रचलन रहेको थियो ।

-पितृसत्तात्मक परम्परा ः बाबुको नामबाट वंशपरम्परा चल्ने व्यवस्था, परिवारको स्वामी वा मालिक बाबु मानिने र बाबुका अनुशासनमा पविारका सदस्यहरु रहने प्राचीनकालिन सामाजिक व्यवस्थालाई पितृसतात्मक परम्परा भनिन्छ । यो परम्परालाई पितृसत्ता पनि भनिन्छ ।
-धामीझाँक्री परम्परा ः भूत, प्रेत, देवीदेवता, लागो आदि लागेको आशङ्कामा सो बिरामी निको गराउन शरीरमा देवीदेवता वा भूतप्रेत आदिको प्रवेश गराएर तन्त्रमन्त्र, झारफुक गर्ने र ढ्याङ्ग्रो ठटाएर बिरामीको उपचार गर्ने परम्परालाई धामीझाँक्री परम्परा भनिन्छ । यस्तो उपचार गर्ने व्यक्तिलाई धामी वा झाँक्री भनिन्छ । प्राचीनकालमा गाउँबस्तीहरुमा स्वस्थ्यकेन्द्र र स्वास्थ्यकर्मीको अभाव हुने भएकाले यस्तो उपचार पद्धति व्यापक रुपमा प्रचलित रहेको थियो । पश्चिम नेपालको पहाडी र हिमाली खस बस्तीहरुमा र खसहरुको प्राचीन मष्टो संस्कृतिमा धामीझाँक्री परम्परा हालसम्म पनि प्रचलित रहेको पाइन्छ ।

– मितेरी परम्परा ः फरक फरक जाति समुदायका कुनै दुई व्यक्तिका बिचमा विशेष औपचारिक विधिअनुसार पारस्परिक बन्धुभाव गाँसिएर मित नाता वा सम्बन्ध जोड्ने परम्परालाई मितेरी परम्परा भनिन्छ । मितेरी नाता सहोदर दाजुभाईको सम्बन्ध सरह मान्यता राख्ने गरिन्छ । मितको नाताबाट जोडिएका अन्य नाताकुटुम्बहरु पनि सोही सरहको मान्ने गरिन्छ ।

– कटुवाल प्रथा ः कटुवाल प्रथा प्राचीनकाल देखि नै चलेकोपरम्परागत सूचनाको माध्यम थियो ।गाउँ समाजमा बाटोघाटो, कुलो, पोखरी, लप्को जस्ता विकास निर्माणका काम, जनश्रमदानका काम, राजसभाको निर्णय,राजाको आदेश वा हुकुम सर्वसाधारण जनतालाई सुनाउदै तत्कालिन समयमा सूचना र सञ्चारको काम गर्ने व्यक्तिलाई कटुवाल भनिन्छ । यसरी कटुवालले ठुलो स्वरमा कुर्लेर सरकारी उर्दीपुर्दी जारी गर्ने प्रचलनलाई कटुवाल प्रथा भनिन्छ । यो प्रथा कुवालहरुको पुख्र्यौली पेशाको रुपमा एक पुस्ताबाट अर्को पुस्तामा क्रमशः पुस्तान्तरण हुदै जाने गरेको पाइन्छ । कटुवालहरुले यस्तो काम गरेबापत घरघरबाट मानो, पाथी वा मुठी अन्न उठाएर आफ्नो परिवारको जीविका धान्ने गर्दथे । यसरी कटुवालले जारी गरेको उर्दीको पालन गर्नु प्रत्येक सर्वसाधारण जनताको प्रमुख कर्तव्य हुन्थ्यो । नेपालका कतिपय स्थानहरुमा यो प्रथा हालसम्म पनि प्रचलित रहेको पाइन्छ ।

-छउ प्रथा ः मासिक धर्म वा रजस्वला भएका महिलाहरु सात दिनसम्म घरबाट अलग्गै गोठ वा आँटीमा बस्नुपर्ने प्रचलनलाई छउ प्रथा वा छाउपडी प्रथा भनिन्छ । रजस्वला भएका महिलाहरु बस्ने त्यस्तो गोठलाई छाउगोठ पनि भनिन्छ । शिक्षा र चेतनाको विकास सँगै हाल यो प्रथा हाम्रो समाजबाट विस्तारै हराउदै गएको छ ।

-छुवाछुत प्रथा ः मध्यकालिन समयमा प्रचलित हिन्दु आर्य परम्परा अनुसार तत्कालिन शासकहरुबाट काम, सीप र पेशाको आधारमा विभाजित जात र वर्ण व्यवस्था अनुसार ठुलो जात र सानो जातको नाममा पानी चल्ने छुत र पानी नचल्ने अछुत गरी विभिन्न समुदायमा विभाजन गरिएको परम्परालाई छुवाछुत प्रथा भनिन्छ । चार वर्णहरु मध्ये ब्राहमण, क्षत्रिय र वैश्य पानी चल्ने वर्ण समुदाय अन्र्तगतमा र शूद्र वर्ण समुदायलाई पानी नचल्ने गरी जातिय विभाजन गरिएको थियो । छुवाछुत प्रथामा शूद्र वर्ण र जाति समुदायका मानिसहरुलाई अन्य वर्ण र जाति समुदायको घरभित्र पस्न, चुलो वा पानी छुन बर्जित गरिएको थियो । नेपाली समाजमा हालसम्म पनि यो प्रथा कायम रहको यो प्रथा शिक्षा र चेतनाको विकास सँगसँगै समाजबाट विस्तारै हराउदै गएको देखिन्छ ।

-दाइजो प्रथा ः विवाह परम्परा अनुसार छोरीको विवाह संस्कार सम्पन्न गरेर दुलहीको बुबाआमा र दाजुभाइको तर्फबाट नगद, धन, सम्पत्ति, भाँडाकँुडा, सुनचाँदी, गाडी, मोटर, घर, घडेरी इत्यादि दिनुपर्ने परम्परालाई दाइजो प्रथा भनिन्छ । हाम्रो समाजमा यो प्रथा हालसम्म पनि आंशिक रुपमा प्रचलित नै रहेको पाइन्छ । नेपालको हाल प्रचलित कानुनमा कसैलाई पनि छुवाछुतको व्यवहार गर्न नहुने र कसैले छुवाछुतको व्यवहार गरेको उजुरी आएमा कानुनी कार्बाही समेत हुने व्यवस्था गरिएको छ ।

– डोलाजी प्रथा ः मध्यकालिन नेपाली समाजमा विवाह परम्परामा दुलाहालाई दुलहीको घरमा बोलाई दुवैको विवाह गराएर दुलाहाले आफ्नो थर समेत त्याग गरेर दुलहीको थर ग्रहण गर्नुपर्ने प्रथालाई डोलाजी प्रथा भनिन्छ ।

– बहुविवाह प्रथा ः एक पुरुषले दुई वा दुईभन्दा बढि महिलासँग श्रमतिको रुपमा विवाह गरेर राख्ने परम्परालाई बहुविवाह प्रथा भनिन्छ । नेपालको मध्यकालिन समयमा यो प्रथा व्यापक रुपमा प्रचलित रहेको पाइए पनि हाल कानुनी रुपमा नै निषेध गरिएको छ ।
– बलिप्रथा ः कुलदेवता वा अन्य देवीदेवतालाई पशुप्राणीहरुको वध गरेर बलि दिने परम्परालाई बलिप्रथा भनिन्छ ।

-झाराप्रथा ः प्राचीनकालिनसमाजमा ज्यालामजुरीविना उर्दीका भरमा जमिनदार, सामन्त, जिम्वाल, मुखियाहरुको खेतबारीमा निःशुल्क काम गर्नुपर्ने प्रचलनलाई झाराप्रथा भनिन्थ्यो । गाउँघरमा कुनै दुःख पर्दा वा सुखद अवसरहरुमा र सामाजिक कार्यहरु गर्दा हालसम्म पनि यो प्रथा कायम रहेको पाइन्छ ।
– बालीघरे प्रथा ः स्थानीय शिल्प (दलित) समुदायका मानिसहरुलाई वर्षभरि कपडा सिलाउने, फलामका कृषि औजारहरु र हातहतियारहरु बनाउने काम गरेबापत उनीहरुलाई अन्य मानिसहरुले पाथीले भरेर बाली (अन्न) दिनुपर्ने परम्परालाई बालीघरे प्रथा भनिन्थ्यो । हाल यो प्रथा करिब करिब हराइसकेको छ । यसको सट्टामा नगदी ज्यालामा यस्ता कामहरु गर्ने गराउने गरिन्छ ।

– पर्मप्रथा ः स्थानीय टोल छिमेकमाखेतीकिसानी लगायतका कार्यहरु गर्दा अरुलाई आफ्नो काममा लगाए बापत आफुले पनि अरुको काम गर्नुपर्ने वा कामको पैँचो तिर्नुपर्ने परम्परालाई पर्माप्रथा भनिन्छ । पर्माप्रथालाई प्राचीनकालिन सहकारीको अभ्यास पनि मान्न सकिन्छ । गाउँघरमा हालसम्म पनि यो प्रर्था प्रचलित रहेको पाइन्छ ।

– जारप्रथा ः अर्काको श्रीमति भगाएर लैजाने प्राचीनकालिन परम्परालाई जारप्रथा भनिन्छ । त्यस्तो पुरुषलाई उसको श्रीमतिको अघिल्लो लोग्नेले जार भन्ने गरिन्छ । जारबाट जन्मेको छोरालाई जारपुत्र भनिन्छ । जारको विरुद्धमा गाउँका भद्रभलाद्मीहरुको कचहरीबाट केही नगद रकम असुल गराई जारी बुझ्ने प्रचलन समेत रहेको पाइन्छ । प्राचीन शासन व्यवस्थामा जारप्रथालाई नियन्त्रण गर्न जारलाई काट्दा वा मार्दा ज्यानमारा दोष नलाग्ने कानुनी व्यवस्था समेत गरिएको पाइन्छ ।

-बहुपतिप्रथा ः प्राचीन खस साम्राज्य अन्र्तगत पर्ने हालका मुगु, हुम्ला, डोल्पा, मुस्ताङ जिल्ला लगायतका हिमाली भेगका केही समुदायमा प्रचलित एक भाइले विवाह गरेपछि अन्य दाजुभाई समेतको साझा पत्नी हुने प्रचलनलाई बहुपति प्रथा भनिन्छ ।
– सती प्रथा ः आफ्नो मृतक पतिको चितामा पत्नी पनि जिउँदै जल्ने प्रथा नै सती प्रथा हो ।

सती शब्द मुख्यत हिन्दु देवी सतीबाट आएको हो, जसले आफ्ना पिता दक्ष प्रजापतिले पति शिवको अपमान गरेका कारण आगोमा फालहालेर आत्मदाह गरेकी थिइन्। सती शब्द नितान्त संस्कृत शब्द हो, यसको शाब्दिक अर्थ “असल पत्नी” भन्ने हुन्छ।

प्राचीन हिन्दू समाजमा खासगरी शासकवर्गमा राजा महाराजाहरू मरेका पतिसँगै जीवित जल्ने नारीलाई ‘सती’ र त्यस्तो प्रथालाई ‘सतीप्रथा’ भनिन्थ्यो। राजाको मृत्यु भइसकेको र श्रीमान्को शवसँग चितामा जीवित जल्नु–जलाइनुपूर्व निजले दिने श्राप नै सतीश्राप हो । मल्लकालिन समयमा कान्तिपूरका राजा प्रताप मल्लको पालामा उनका सेनानायक काजी भीम मल्लको षडयन्त्रपूर्वक हत्या गरिएपछि उनकी धर्मपत्नी भुवनलक्ष्मीले सती जानु अघि “देशको भलो चाहने मान्छेको यो देशमा कहिल्यै भलो नहोस् ।” भनी श्राप दिएकी थिइन् त्यतिबेला देखि नै नेपाललाई सतीले सरापेको देश भनेर पनि भन्ने गरिएको पाइन्छ ।

समाजमा यस प्रकारको सतीप्रथा कहिलेदेखि चल्यो ? निश्चित भन्न सकिन्न। हिन्दूधर्मका अति प्राचीन ग्रन्थहरूमा सतीप्रथाको वर्णन गरिएको पाइन्न र यदाकदा चर्चा पाइन्छ तर त्यसबेला सती जान बाध्यात्मक थिएन ।

राजा महाराजाहरूको मृत्युपछि मृतककी रानीहरुलाई श्रीमान्को शव (लाश) सँगै अथवा अर्को चितामा सुताइन्थ्यो। यसमा राजनीतिक कारणले कुन रानीलाई सती पठाउने कुन रानीलाई नपठाउने भन्ने बारेमा पनि दाउपेच चल्ने गरेको इतिहास पाइन्छ। सती जानु अर्थात् मृतक श्रीमानसंग जीवितै चितामा जल्नुलाई सतीधर्म मानिन्थ्यो। भारतवर्षका गंगा, यमुना, जमुना लगायतका ठूला नदी किनारमा रहेका घाटहरूमा र नेपालका वाग्मती, कोशी, नारायणी, गण्डकी, कर्णाली, महाकाली लगायतका नदी किनारमा सती जाने गरिन्थ्यो।

भारत र नेपालमा प्रचलित यो प्रथा लाई भारतमा ले सन १८६१ मा कानुन द्वारा बन्देज गरिएको थियो । वि.सं. १९१० मा जङ्गबहादुर राणाले नेपालमै पहिलो पटक मुलुकी ऐन जारी गरी यसमा केही हदसम्म कमी ल्याउने प्रयास गरेका थिए। तर उनको मृत्यु हुँदा उनका केही रानीलाई सती पठाइयो भन्ने ऐतिहासिक तथ्यहरू भेटिन्छन्। जङ्गबहादुर राणाले १६ वर्षभन्दा मुनीका बिधवा महिला र ९ वर्षभन्दा साना उमेरका सन्तान भएकी महिलालाई सती जानमा रोक लगाएका थिए।

वि.सं. १९४४ असार १४ गते श्री ३ महाराज वीरशमशेर जबराले देशका विभिन्न स्थानमा तैनाथ गढी–गौँडाका हाकीमहरूलाई सती पठाउनपूर्व अनिवार्यतः स्वीकृति लिनैपर्ने, पठाइदा नारीको स्वीकृति चाहिने, छोराछोरी हुर्केका हुनुपर्ने, गर्भवती हुन नहुने लगायतका कडा नियम तर्जुमा गरी कार्यान्वयन गर्न लिखित निर्देशन दिएका थिए । यद्यपि सती प्रथा अन्त्यको घोषणा वि. सं. १९७७ साल असार २५ गते चन्द्र शमशेरले गरेका थिए ।

– देउकी प्रथा ः देउकी प्रथा नेपालमा प्रचलित सामाजिक कुप्रथाहरू मध्येको एक प्रथा हो । नेपालको सूदुरपश्चिमाञ्चलको सेती र महाकाली अञ्चलमा मन्दिरहरूमा देबी देवताको सेवा गर्न कन्या केटी चढाउने प्रचलन छ । यसरी चढाईएकी कन्या देउकी हुन् भने चढाउने प्रचलन प्रथा हो ।

महारोग लागेमा, छोरा नभएमा, मुद्दा जित्नु परेमा वा आफ्नो मनोकाङ्क्षा पूरा गर्नुपरेमा, कुनै भाकल पुरा गर्न आफ्नै छोरी वा गरीब परिवारकी अबोध बालिका किनेर देबी देवताको मन्दिरमा चढाउने गरिन्छ। यसरि चढाइएका कन्याहरूको बिवाह गर्न नहुने तर यौन संपर्क गर्न हुने अन्धविश्वास रहेको पाइन्छ ।

बैतडी जिल्लाको मेलौली देवीको मन्दिर यो प्रथाको केन्द्रविन्दु हो । मन्दिरमा चढाएको सामग्रीहरूबाट मात्र जिविकोपार्जन गर्नु पर्ने भएकोले देउकीहरू देहब्यापार गर्न बाध्य छन् । आजको विकसित समाजमा यो प्रथा निकै ठुलो विकृतिको रूपमा छ । यो प्रथा बालअधिकार विपरित कार्य हो । शिक्षाको विकास र चेतनामा भएको बृद्धका कारण यो प्रथामा केही कमी आएपनि पुरै निर्मुल हुन सकेको छैन ।

कर्णाली क्षेत्रमा प्रचलित प्राचीन परम्परा र प्रथाहरु

एमाले सुर्खेतको अध्यक्षमा देवकोटा निर्वाचित

कर्णाली क्षेत्रमा प्रचलित प्राचीन परम्परा र प्रथाहरु

हुम्लामा ८२ प्रतिशत बालबालिकाले लगाए खोप

This will close in 0 seconds