पाँच वर्षे विद्यालय सुधार योजना निर्माण


चन्दननाथ नगरपालिकाले ५ वर्षे विद्यालय सुधार योजना निर्माण गरेको छ । नगरपालिका भित्रका माध्यामिक र आधारभुत विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, जनप्रतिनिधि र विद्यार्थीको सहभागितामा उक्त योजना निर्माण गरेको हो ।
चन्दननाथ नगरपालिकाका नगर प्रमुख राजुसिंह कठायतले सामुदायिक विद्यालयको स्तर खस्किदै गएकोमा चिन्ता व्यक्त गरे । विद्यालयको अवस्था सुधार गर्नको लागि योजना बनाएको उनको भनाइ छ । योजना विना विद्यालयले के गर्ने भन्ने थाहा हुँदैन,उनले भने । विद्यालयलाई कस्तो बनाउने कुरा विद्यालय सुधार योजनाले बोल्छ । यस प्रकारको योजना निर्माणले विद्यार्थी संख्या बढाउने र शिक्षामा महत्वपूर्ण भूमिका खेल्ने नगर प्रमुख कठायतले बताए ।
विद्यालय सुधार योजनामा टेकेर काम गर्न शिक्षक र विद्यालय व्यवस्थापन समितिलाई अनुरोध गर्नु भएको छ । यस्तै, वडा नम्बर १ का वडाध्यक्ष तिलक न्यौपानेले शिक्षा बिना विकासको परिकल्पना गर्न नसकिने हुँदा शिक्षा क्षेत्रमा लगानि बढाउनु पर्नेमा जोड दिए। विद्यालय सुधार योजनामा टेकेर नगरपालिकाले लगानि गर्नेछ ।
योजना निर्माणमा सिमित नराखि कार्यान्यवन तर्फ बढी ध्यान दिनु पर्ने उनको भनाइ छ । न्यौपानेका अनुसार, सामुदायिक विद्यालयको अवस्था सुधार गर्नको लागि योजना महत्वपूर्ण हुन्छ । ४ दिने तालिमको आयोजना गरी विद्यालय सुधार योजना निर्माण गरिएको चन्दननाथ नगरपालिका शिक्षा शाखा प्रमुख खडानन्द चौलागाईंले बताए ।
सम्बन्धित विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, जनप्रतिनिधि र विद्यार्थीको सहभागितामा निर्माण गरिएको योजनाले शैक्षिक गुणस्तरमा थप टेवा पुग्ने शिक्षा शाखा प्रमुख चौलागाईको भनाइ छ ।
उनले विद्यालय सुधार योजना कार्यान्वयन गरेमा सबै विद्यालयको अवस्था परिवर्तन हुनेछ।जनज्योति माविका प्रधानाध्यापक तेज वहादुर शाहीले योजना बिना कुनै पनि कार्य प्राप्ती गर्न नसकिने भएको हुँदा यस्तो योजना अति आवश्यक रहेको औँल्याए ।
भगवती आधारभुत विद्यालय जातिभिडका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेश कामीले यस योजनालाई विद्यालयमा कार्यान्वयन गरिने बताए । तालिमको आयोजना नेपाल रेडक्रस सोसाइटी र चन्दननाथ शिक्षा शाखाले संयुक्त गरेका हुन् ।






