२०८२ फाल्गुन ५ गते
×

Now Playing

सात बर्षपछि सुनथरालीमा पुनः जहाज पुग्दै


तत्कालीन राज्य पक्ष र विद्रोही पक्ष नेकपा माओवादीबीच चलेको १० वर्षे युद्धको दौरानमा २०५८ फागुन ४ गते तत्कालीन अछामका प्रमुख जिल्ला अधिकारी मोहनसिंह खत्रीसहित १ सय २२ जनाले ज्यान गुमाएको घटनापछि विद्रोहीलाई खोज्दै तत्कालीन शाही नेपाली सेना ११ फागुनमा कालीकोटको कोटबाडा पुग्यो ।

सुनथराली विमानस्थल निर्माणमा संलग्न धादिङ गजुरीका १७ निर्माण मजदुरसहित ३५ जनामाथी शाही नेपाली सेनाले अन्धाधुन्ध गोली चलाएर एकै चिहान बनाई दिएको त्यो कालो दिनले स्थानीयवासीलाई अझै झस्काइरहन्छ ।‘तलबाट जनमुक्ति सेना आईगया हेर त यी जनमुक्ति सेना हुन् कि शाही सेना हुन् भन्न के पाएको थिएँ, भटटटट गोली चल्यो । पानीको गाग्रीसित ढोका निरै आँखा चिम्लेर अडेस लागेँ, छिनभरमै आँगनै भरी गोली नै गोली भयो, खै म अभागीलाई किन गोलि लागेन, मेरो छोरालाई गोली लाग्यो,’ स्थानीय मिर्गे विष्टलाई त्यो क्षण अहिले जस्तै लाग्छ ।

३५ जनाको सामूहिक हत्या गरेको सेनाले विमानस्थलको धावन मार्गमै मृतकहरूको शव गाडेको थियो । यो घटनाको २१ वर्ष र निर्माण सुरु भएको ३८ वर्षपछि कोडबाडा विमानस्थल तयार भएको छ । रगतसँग साटिएर तयार भएको विमानस्थलमा नियमित उडान भएको हेर्ने धोकोमा छन् स्थानीय मानबहादुर विष्ट ।

‘हामीले रगत साटेर पाएको विमानस्थलमा जहाज आएको भए शान्ति मिल्ने थियो, हामी बुढाबुढीहरूले सेवा पाउने थियौँ’, जहाजको टिकटमा शहीदका परिवारलाई छुट हुनुपर्ने भन्दै विष्टले भने । निर्माण सुरु भएको लामो समयसम्म नबनेको तर, हाल आएर जहाज आउँछ कि भन्ने आस लाग्न थालेको विष्टको भनाई छ ।

विमानस्थल निर्माणको सुरुवात २०४२ सालमा भएको हो । तत्कालीन जिल्ला विकास समितिले विमानस्थल निर्माणका लागि एक लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । सो बजेटमा तीनवटा उपभोक्ता समितिमार्फत विमानस्थलका लागि भीर हटाउने काम सुरु गरिएको थियो ।

तर देशमा चलेको सशस्त्र द्वन्द्वले विमानस्थललाई अघि बढ्न भने दिएन । द्वन्द्वको चपेटामा पर्दा विमानस्थल निर्माण कार्यमा निकै सुस्तता आयो । २०६३ मा माओवादी र राज्य पक्षबीच शान्ति सम्झौता भएपछि मात्र विमानस्थल निर्माणले गति लिएको थियो । शान्ति सम्झौतापछि मृतक मजदुरका परिवारलाई राज्यले जनही १० लाख रुपैयाँ राहत उपलब्धसमेत गराएको थियो ।

विमानस्थलमा गाडिएका मजदुरको आत्मशान्तिका लागि समेत विमानस्थल चाँडो सञ्चालनमा ल्याइनुपर्ने सुनथराली विमानस्थल सरोकार समाजका संयोजक धनराज वास्तविक बताउँछन् । उनले भने, ‘विमानस्थल सञ्चालनका लागि धेरै लामो समय लागेको छ । अब भने सञ्चालन हुन्छ कि भन्ने अन्तिम विश्वास मानेका छौँ ।’

यसअघि २०७३ साल माघ २९ मा सो विमानस्थलमा परीक्षण उडान गरिएको थियो । विमानस्थलको कच्ची धावनमार्गमा सो समय भएको परीक्षण उडानको ७ वर्षपछि २०८० बैशाखमा विमानस्थलमा अन्तिम परीक्षण उडानको तयारी थियो । वैशाखको पहिलो हप्ताबाट विमानस्थलमा परीक्षण उडानको तयारी भए पनि हालसम्म उडान हुन सकेको छैन । विमानस्थलमा ६ सय ४० मिटरको धावनमार्ग निर्माण गरिएको छ ।

गत वर्ष मात्रै विमानस्थलको धावनमार्ग कालोेपत्रे गर्ने काम भएको थियो । विमानस्थल निर्माणकार्य चाँडो अघि बढाउन नेपाल नागरिक उड्डयन प्राधिकरणले ठेकेदार कम्पनीलाई समयसीमा समेत दिएको थियो । विमानस्थल निर्माणका लागि हालसम्म पटक–पटक गरी करिव आधा अर्व रुपैयाँ बजेट विनियोजन भइसकेको छ ।

पछिल्लो समय गौरी पार्वती श्याम एण्ड शंकर जेभीले पक्की धावनमार्ग, नाला, माटो काट्ने गरी १३ करोड ८१ लाख रुपैयाँमा र पीआर इन्फ्रास्टक्चरले भवन र टावर निर्माणतर्फ तीन करोड ४७ लाख ७४ रुपैयाँमा विमानस्थल पूर्वाधार निर्माणको ठेक्का पाएका थिए । विमानस्थल सञ्चालनमा आएमा त्रिवेणी पाटन, बडिमालिकाको पर्यटन प्रर्वद्धनमा सहयोग पुग्ने विश्वास स्थानीयहरूको छ ।

त्यसैगरी विमानस्थलले अछाम, बाजुरालगायतका क्षेत्रलाई कालीकोटसँग जोड्न समेत मद्दत गर्नेछ । योगी नरहरीनाथको जन्मस्थल नरहरीनाथमा रहेका दर्जनौं पर्यटकीय क्षेत्रमा पर्यटकीय गतिविधि बढ्ने स्थानीयहरू बताउँछन् ।

सोमबार प्रधानमन्त्रीले उद्घाटन गर्ने
निर्माण सम्पन्न भए पश्चात लामो समयदेखि उद्घाटन हुन नसकेको विमानस्थल अन्तत प्रधानमन्त्री पुष्पकमल दाहल ‘प्रचण्ड’ ले उद्घाटन गर्ने भएका छन् । १४फागुन (सोमबार) प्रधानमन्त्री प्रचण्डले विमानस्थल उद्घाटन गर्ने कार्यतालिका रहेको नरहरिनाथ गाउँपालिकाका अध्यक्ष नगेन्द्रबहादुर बिष्टले जानकारी दिएका छन् ।

यसअघि विमानस्थल उद्घटनको मिति पटक–पटक स्थगित हुँदै आएको थियो । अध्यक्ष बिष्टका अनुसार प्रधानमन्त्री प्रचण्ड, संस्कृति पर्यटन तथा नागरिक उड्यानमन्त्री सुदन किराँती, कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा र मन्त्रीहरुको सहभागितामा विमानस्थल उद्घाटन हुनेछ ।

नियमित उडानमा छैन टुङ्गो
विमानस्थल उद्घाटन हुने भएपनि नियमित उडानको भने अझैसम्म पनि टुङ्गो लागेको छैन । देश संघीयतामा गएसँगै साविक कर्णालीका ४ जिल्ला प्रदेश राजधानी सुर्खेतसँगको सिधा हवाई सेवाको पहुँचबाहिर छन् ।

२०७४ अघि साविक कर्णालीका जुम्ला, मुगु, हुम्ला र डोल्पा तथा सुदूरपश्चिम प्रदेशको बाजुरा जिल्लामा सुर्खेत विमानस्थलबाट नियमित रूपमा हुँदै आएका उडानहरू त्यसयता भने नेपालगञ्जबाट हुँदै आएका छन् । जसले हवाई सेवा प्रयोग गरी प्रदेश राजधानी आउन लुम्बिनी प्रदेशको नेपालगञ्ज धाउनुपर्ने बाध्यतामा नागरिकहरू छन् ।

प्रदेश राजधानी भएसँगै सुर्खेत राजनीतिक, प्रशासनिक, आर्थिक तथा शैक्षिक हब बनेको वीरेन्द्रनगर दशवटै जिल्लाका नागरिकको रोजाइ बन्दै गएको छ । सुर्खेत विमानस्थलबाट नियमित रूपमा हिमाली र पहाडी जिल्लामा हवाई सेवा सञ्चालन नहुँदा अध्ययन, रोजगारी, औषधी उपचार, प्रशासनिक कामकाजका लागि वीरेन्द्रनगर आउजाउ गर्ने नागरिकले ठूलो धनराशी खर्च गर्नुपर्ने बाध्यता छ ।

काठमाडौं–सुर्खेत सिधा हवाई उडान हुने विमानस्थलमा नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको नेपाल वायुसेवा निगमको कार्यालयसमेत सुर्खेतमा छैन । अझ नेपाल वायुसेवाले सुर्खेत विमानस्थल भएर कर्णालीका कुनै पनि जिल्लामा हालसम्म एउटा पनि उडान भरेको अवस्था छैन ।

उतिबेला सुर्खेतबाट माथिल्ला जिल्लाहरूमा यात्रु तथा कार्गो उडान हुँदा सरकारले लगाउने हवाई शुल्क महँगो पर्ने भन्दै निजी हवाई कम्पनीहरूले आफ्ना उडानहरू नेपालगञ्ज स्थानान्तरण गरेका थिए । यो विमानस्थल उद्घाटन भएपनि यात्रुका कारण निजी हवाई सेवा प्रदायक कम्पनीहरुले सहजै जहाज पु¥याउने अवस्था नदेखिनुले नियमित उडानमा समस्या हुने जानकारहरु बताउछन् ।

यात्रु पाए उडान भर्न सकिन्छ ः तारा एयर
कर्णालीका दुर्गम जिल्लाहरूमा सुर्खेत र नेपालगन्जबाट उडान भर्दै आएको निजी वायुसेवा प्रदायक कम्पनी तारा एयरले समय सापेक्ष भाडादर कायम भएर यात्रुको सुनिश्चिताको ग्यारेन्टी भए नियमित उडान भर्न सकिने बताउँदै आएको छ । कर्णालीका निर्वतमान उद्योग पर्यटन वन तथा वातावरणमन्त्री जितबहादुर मल्लको पहलमा संघीय पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले कर्णालीका दुर्गम विमानस्थलहरूमा सुर्खेतबाट नियमित विमान सञ्चालन गर्न अल्पकालीन र दिर्घकालीन योजनासहित मागेको राय सुझावको जवाफ दिँदै तारा एयरले यस्तो बताएकोथियो ।

दुर्गम क्षेत्रमा हवाई उडान गर्दा यात्रुहरू एकतर्फी हुने भएको खण्डमा वायु सेवा कम्पनीहरूको संचालन खर्चसमेत नपुग हुने हुँदा कर्णाली प्रदेश सरकारको तर्फबाट दुईतर्फी यात्रुसमेत गरी ३० यात्रुको सुनिश्चितता हुने भए नियमित उडान भर्न सकिने तारा एयरले जनाउँदै आएको छ ।

यस्तै दुर्गम क्षेत्रमा हुने हवाई उडानमा हाल कायम रहेको भाडादर अवैज्ञानिक र समय सापेक्ष नभएको, बिगत लामो समयदेखि दुर्गम क्षेत्रको हवाई भाडामा समेत पुनरावलोकन नगरिएको सन्दर्भमा विभिन्न समयमा विमान सेवा प्रदायकहरूले प्रस्तुत गरेको हवाई भाडा पुनरावलोकन र सहुलियतसहितको छुट सुविधा पाए नियमित व्यवस्थित र प्रभावकारी हवाई सेवा संचालन गर्न सकिने तारा एयरले उल्लेख गरेको छ ।

सात बर्षपछि सुनथरालीमा पुनः जहाज पुग्दै

जो आफू शिक्षाबाट बञ्चित भए उनैले छरिरहेका

सात बर्षपछि सुनथरालीमा पुनः जहाज पुग्दै

YUGAAWHAN NATIONAL DAILY (2080-11-13)