सम्पादकीय: आगलागीबाट बच्न सावधान बनौं

प्राय नेपालमा माघदेखी जेष्ठ महिनासम्म धेरै आगलागीका घटनाहरु भैरहेका हुन्छन । जसको कारण मानविय क्षति हुनुका साथै करोडौंको आर्थिक क्षतिसम्म हुने गरेको छ । थोरै सावधानीले जोगाउन सकिने आगलागी थोरै असावधानीका कारण मानविय र धनमालको समेत थुप्रै क्षति व्यहोर्न परिरहेको घटना छन् । हरेक व्यक्तिले आ–आफ्नो ठाँउमा सावधानी अपनाउने हो भने यो क्षति न्युनिकरणमा सहयोग पुग्छ । तर असावधानिका कारण बर्षेनी क्षति व्यहोर्नु परिरहेको छ । एउटा सानो गल्तिका कारण भर्खरैमात्र कर्णालीले ठूलो मानविय क्षति व्यहोर्नुपरेको छ । यो दुखद् घटना फेरी नदोहोरियोस् भन्नेमा हामी हरेक व्यक्ति सचेत हुन जरुरी छ ।
चैत २ गते कालिकोटको खाँडाचक्र नगरपालिका–५, ढाडगाँउस्थित नवदुर्गा सामुदायिक वनमा आगलागीमा भएको थियो । सो डढेलोमा परेर बाख्रा चराउन गएका एकै परिवारका घाईते बावुछोरीको उपचारको क्रममा मृत्यु भएको थियो । आगलागिमा परेर उनीहरुका ४५ वटा बाख्रा समेत मरेका थिए । यो कर्णालीलागि अपुरणिय क्षति हो । त्यसैगरी चैतको २६ गते डोल्पाको ठूलीभेरी नगरपालीका४, तिप्लामष्टाको भवानी सामुदायिक वनमा लागेको आगो निभाउने क्रममा ३ जना सैनिक जवानको समेत मृत्यु भएको थियो । यो मौसममा वन जंगलका रुखहरुका पात सुकेर झर्ने र नयाँ पालुवा पलाउने भएको हुन्छ । जसकारण भुईमा झरेका सुकेका पातहरु जताततै हुन्छन, यो समयमा त्यति पानी पनि नपर्ने र परेपनि एक दुई दिनमा पुरै सुकेर जताततै आगो लाग्ने हुन्छ ।
त्यसैगरी यो समय हावाहुरी पनि अन्य मौसमको तुलनामा बढीसमेत हुन्छ जसले गर्दा एक ठाउँ असावधानीवश आगलागि भयो भने त्यो आगोले थुप्रै मानविय, आर्थिक र वन्यजन्तु र चराचुरुङ्गीको बासस्थान समेतमा ठूलो क्षति हुन्छ । भर्खरै पोथ्रा भएका बुट्यान, साना विरुवा र वनमा रहेका जडीबुटी समेत डढेलोले क्षति गरेको हुन्छ । त्यसैले बुढापाकाले भन्छन आगो र पानीसङ्ग ख्यालख्याल कहिल्यै पनि गर्नुहुँदैन भनेर । गाउँघरमा वनको नजिकै रहेका र खरले छाएका घरमा रहने मान्छेहरु त्यो वनमा आगो लागेदेखि नै प्रत्येक सेकेण्ड त्रासमा रहेका हुन्छन । कतिवेला आगो यहाँ आउँछ र कतै आफ्नो घरमा त्यो आगोले क्षति नगरोस् भनेर भरपुर सावधानी अपनाउँदा अपनाउँदै पनि कहिले काँही जे नहुनुपर्ने त्यहि भैदिन्छ ।
यो समयमा आगलागी हुने सलाई, लाइटर, चुरोटका ठुटा लगायतका ज्वलनशिल चिजहरु प्रयोग गर्दा सावधानि अपनाउनु पर्छ । सानो गल्ती या ख्याल नगर्नाने त्यसले ठूलो क्षति गर्नसक्छ । जो कुरा न आगो लगाउनेलाई थाहा हुन्छ, न त अरु कसैलाई नै थाहा हुन्छ तर त्यसले अकल्पनीय क्षति निम्त्याउने गर्छ । त्यसैले यो समयमा सलाई, लाईटर जस्ता ज्वलनशिल चिजहरु बच्चाबच्ची भन्दा टाढा राख्नुपर्छ भने चुरोट खाएर त्यसको ठुटामा रहेको आगो पनि राम्ररी निभाएको कन्फर्म गरेरमात्र फाल्नुपर्छ ।
धेरै जसो आगलागिका घटना मेरो कारणले नै भएको हो भन्नेसम्म थाहा नहुनसक्छ । किनकी चुरोट खाएर ननिभाईकन चुरोटको ठूटो फाल्ने चलनले पनि आगलागिका घटनामा बृद्धि भएका छन् । यसमा सरकारले पनि कानुन बनाउने र डढेलो लगाउनेको कानुन कार्यान्वयनमा अलि कडा कानुन बनाउनु पर्छ भने सचेतनाका कार्यक्रम पनि अलि प्रभावकारी तरिकाले गर्नुपर्छ नकि डढेलोसम्बन्धि सचेतनामूलक कार्यक्रम भ्यालीका होटलहरुमा आवश्यक नै छैन । यो त सम्वन्धित गाउँटोल, वडा, समूह, बस्ती बस्तीमा बढी प्रभावकारी रहन्छ ।






