खेल क्षेत्रको विकास गर्न धावकले गरे ३५ लाखको जग्गा दान


विश्व किर्तिमानी धावक हरिबहादुर रोकायाले कर्णाली खेलकुद क्लबलाई निःशुल्क जग्गा दान गरेका छन् । उनले जुम्लाको चन्दननाथ नगरपालिका – ५ को वडा कार्यालय राजासिम आसपास नजिकै रहेको १ सय ३० वर्गमिटर जग्गा क्लबको नाममा दान गरेका हुन् ।

उक्त जग्गा लगभग ३५ लाख रूपैयाँ बराबरको जग्गा हो । समग्र जुम्लाको खेल क्षेत्रको विकासका लागि जग्गा दान गरेको धावक रोकाया बताउँछन् । खेलकुद र खेलाडीहरू प्रतिको समर्पणलाई योगदान पुग्नेछ ।

जुम्लाको खेल क्षेत्रको भविष्यलाई निश्चित बाटोमा पु¥याउने जग्गा दानले सहयोग पुग्ने क्लबका अध्यक्ष सरोज बताए । उनले भने, किर्तिमानी धावक रोकायाको प्रेणाले जुम्लामा खेलाडि उत्पादन भइरहेका छन् । रोकायाले उपलब्ध गराएको जग्गामा भवन निर्माण गरिनेछ । पहिलो तलामा फिटनेस क्लब हुने र जसबाट दिगो सञ्चालनका लागि कोष संकलन गर्ने योजना छ ।

दोश्रो तलामा क्लबको प्रशासनिक कार्य गर्नका लागि कार्यालय कक्ष निर्माण हुने र तेश्रो तथा चौथो तलामा न्युनतम शुल्कमा केटा र केटीहरूका लागि छुट्टाछुट्टै छात्रावास सुविधा प्रदान गरिने छ । शाहीका अनुसार, भवनबाट संकलन भएको रकमले योग्य खेलाडीहरूलाई छात्रवृत्ति प्रदान गरिने बताएको छ ।

जुम्लालाई नेपालकै प्रमुख उच्च प्रशिक्षण केन्द्रको रूपमा स्थापित गर्न सहयोग पुग्ने विश्वास लिइरहेको छ । प्रशिक्षण गर्न चाहने थुप्रै खेलाडीहरूको आकांक्षालाई मूर्तरूप दिन जग्गा दानले पहुँच र आवासको अभाव जस्ता चुनौतीहरूलाई समाधान गर्न सहयोग पुग्ने अपेक्षा छ ।

धावक रोकायाले खेल क्षेत्रमा आफुले भोगेको समस्यालाई मध्येनजर गर्दै जग्गा दान गरेको बताए । खेलक्षेत्रमा मैले भोग्नु परेको समस्या अरु खेलाडिले भोग्न नपरोप भन्ने मेरो चाहाना हो । रोकायाले जुम्लाको खेल क्षेत्रको विकासका लागि आफ्नो योगदान सँधै रहनेछ । उनले भने ‘जीवन पूरै खेल क्षेत्रमा लागेर बित्यो । कहाँ टाढा हुन सकुँला र ? म रहुन्जेल खेल क्षेत्रको विकासका लागि सकेको गर्नेछु ।’

धावक हरिबहादुरको खेलक्षेत्रको यात्रा
किर्तिमानी धावक हरिबहादुर रोकाया तत्कालीन चन्दननाथ गाविस –४ मा वि.सं. २०२२ असोज १५ गते जन्मेका थिए।उनी १५ वर्षको उमेरदेखि धावन यात्रा तय गरेका एक परिचित खेलाडी हुन् ।

एभरेस्ट म्याराथनमा ह्याट्रिक गर्दै विश्व कीर्तिमान राख्ने एक अद्भूत क्षमतावान् व्यक्तित्व हुन् । साविकको कर्णाली अञ्चललाई पहिलोपटक मेडल दिलाउने देशकै सान हुन् उनी । उनले १३ वटा राष्ट्रिय तथा २९ वटा अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका छन् । पहिलोपटक सन् १९९३ मा सगरमाथाको आधार शिविर (पाँच हजार १ सय ८४ मिटर उचाइ)बाट सुरु भई नाम्चे बजार (तीन हजार ४ सय ४६ मिटर) सम्मको एभरेस्ट म्याराथनमा भाग लिए । त्यसमा उनी तेस्रो भए । सन् १९९७ मा भएको प्रतियोगितामा दोस्रो भए । सन् १९९९ मा उनी पहिलो भए । त्यतिमा मात्र हरिबहादुरले चित्त बुझाएनन् ।

संसारकै सबैभन्दा अग्लो ठाउँमा हुने विश्वप्रसिद्ध म्याराथन एभरेस्ट म्याराथनमा सन् २००० मा पहिलो भएर विश्व कीर्तिमान नै राखे । तीन घन्टा ५० मिनेट २३ सेकेन्डमा म्याराथन पूरा गरी गिनिज बुक अफ द वल्र्ड रेकर्डमा कीर्तिमानी धावकको रूपमा नाम लेखाए । उनी भन्छन्, ‘यहाँसम्म ल्याइपु¥याउन उत्प्रेरणा दिने धेरै छन् । उनीहरूकै प्रेरणाका कारण मैले तीनपटक उपाधि उचालेँ । अन्तिममा प्रवेश शुल्क तिर्न सकिनँ र खेलमा भाग लिन पाइनँ ।’ अहिले उनले उत्पादन गरेका खेलाडी कोही हङकङ, इटलीलगायत देशमा प्रशिक्षण लिन र म्याराथनमा भाग लिन पुगेका छन् । केहीले त राष्ट्रिय–अन्तर्राष्ट्रिय पुरस्कारसमेत जितेका छन् । उनी भन्छन्, ‘मैले प्रशिक्षण दिएका खेलाडीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार जित्दा गर्व लाग्छ ।’
विश्वरुपा बुढा, सुनमाया बुढा, पूर्णलक्ष्मी न्यौपाने, दुर्गा बुढा, रेजिना भण्डारी, राममाया बुढा, मञ्जु बुढा, सबै रोकायाले उत्पादन गरेका खेलाडी हुन् । उनीहरू सबै अन्तर्राष्ट्रिय खेलाडी हुन् । निरन्तरको अभ्यासले धेरैजसो खेलाडी उपाधि उचाल्न सफल हुन्छन् ।

खेल क्षेत्रको विकास गर्न धावकले गरे ३५ लाखको जग्गा दान

युवा नेतृत्व विकासको लागि खलंगामा नमुना गाउँसभा