रातो हाब्रे (रेडपाण्डा)संरक्षण अभियान जुटेःइमिल्चा गाउँका स्थानीय


जुम्लाको तातोपानी गाउँपालिका –४ इमिल्चाका स्थानीय रातो हाब्रे (रेडपाण्डा) संरक्षण अभियानमा जुटेका छन् । दुर्लभ मानिएको रेडपाण्डाको बासस्थान बचाउन कार्य अग्रसर देखिएका हुन् ।
वर्षेनि रेडपाण्डाको अध्ययन गर्न विदेशी तथा स्वदेशी आउन थालेपछि रेडपाण्डाको बासस्थान बचाउन जुटेको स्थानीय बताउँछन् । पछिल्लो समय जुम्ला रातो हाब्रे (रेडपाण्डा) को अध्ययनस्थल बन्दै गएको छ । हाब्रेको अध्ययन गर्न स्वदेशी तथा विदेशी पर्यटक पुग्ने गरेका छन् ।
तथ्यांक केलाउने हो भने, ५० भन्दा बढी विदेशी र १ सय ५० भन्दा बढी स्वदेशी पर्यटक रेडपाण्डाको अध्ययन अवलोकन गर्न पुगेका छन् । पाँच वर्षअघि तातोपानी गाउँपालिका–८ नदै सामुदायिक वनमा रातो हाब्रे (रेडपाण्डा) को अध्ययन गर्न दुई नेपाली विद्यार्थी पुगेका थिए । सामुदायिक वन समितिसँग अनुमति लिएर इमिल्चा, दुम्बारा बनमा दुई दिन बसेका थिएँ । स्थानीयले नै रेडपाण्डा देखाउन सहयोग लिए ।
अध्ययनका क्रममा जंगलमा रेडपाण्डाको आलो दिशा फेला पारे । विद्यार्थीहरु निकै खुसी भएर फर्किए । गएको दुई वर्षअघि एक जना विदशी पर्यटक रेडपाण्डाको अध्ययन गर्न इमिल्चा गाउँमै पुगेका थिए । समुदायस्तरमा रेडपाण्डाको अवस्थाका बारेमा जानकारी पुगेका उनले जंगलमै रेडपाण्डा प्रत्यक्ष रुपमा भेटे,भिडियो र तस्बिर खिचेर फर्किए ।
फेरि गत वर्ष हातेमालो नेपाल जुम्ला नामक संस्थासँग समन्वय गरेर तीन जना फ्रान्सेली नागरिक रेडपाण्डाको अध्ययन गर्न नदै सामुदायिक वनमै आइपुगे । उनिहरु दिशा फेला पारेपछि रेडपाण्डाको क्षेत्र पहिचान गरेर फर्किए।स्थानीयले नदै सामुदायिक वनलाई रेडपाण्डाको क्षेत्र तोकका छन् । उक्त क्षेत्रमा जंगल आगोबाट बचाउने, नियमित बृक्षारोपण गर्ने, वनफँडानी रोक्ने र वन उपभोक्ता समितिले रेडपाण्डाको बासस्थान जोगाउने जस्ता कार्य जुटेका छन् ।
स्थानीयले वनमा रेडपाण्डाको बासस्थान अनुकुलका निगालो, द्यार, धुपी, घोडापांगर, चुक, काठेओखर, खर्सु, सल्लो, झुलो, भोजपत्र र ठिंगोका विरुवा वृक्षरोपण गरेका हुन् । जंगलभित्र रेडपाण्डाका लागि तिर्खा मेटाउने पानीको पोखरी बनेका छन । वन समितिका पूर्व उपाध्यक्ष ५८ वर्षीय बीरबहादुर रोकाया दुर्लभ रेडपाण्डाको बासस्थान गाउँ नजिकै भेटिँदा उत्साहित छन् ।
उनले भने, ‘दुर्लभ रेडपाण्डाको संरक्षण, बासस्थान जोगाउन सुरु हुन थालेको छ ।’ रेडपाण्डाको बचाउन आफ्नै गाउँले नीति निमार्ण गरेका छन् । स्थानीयलाई पहिलोपटक सचेत गर्ने, जंगल फडानी गर्नेलाई समुदायस्तरमा राखेर स्पष्टीकरण सोध्ने, अटेरी गरे क्षति हेरी जरिवाना तोक्ने स्थानीय कानुनी प्रावधान छ । नीतिले अहिलेवन संरक्षणमा टेवा पुगेको छ । अर्का ६५ वर्षीय मुनबहादुर बुढाले कहिलेकाँही जंगलमा जाँदा रेडपाण्डा देखिन थालेपछि उत्साहित हुने गरेको बताउँछन् । रेडपाण्डा हो भन्ने जानकारी नहुदासम्म खासै वास्ता नगर्ने अहिले यार्सा टिप्न, गुच्ची च्याउ संकलन गर्न, जडीबुटी कोर्न जाँदा निगालको झ्याङमा लुकेर बसेको लजालु स्वभावको रेडपाण्डा देखिने बित्तिकै उनीहरु समुदाय स्तरमा आएर छलफल गर्छन् ।
तातोपानी–४ इमिल्चाका २५ वर्षीय पदम रोकाया वर्षायाममा प्रायःजसो पाटनतिर जान्छन् । कहिले जडीबुटी खोज्न त कहिले च्याउ टिप्न । उनी हरेक पल्ट जाँदा रेडपाण्डा देख्ने गरेको बताउँछन् । आजभोलि गाउँमा भेडाबाख्रा चराउन लैजाँदा कुकुर साथमा नलग्न पनि सुझाव दिन्छन् ।
स्थानीयले इमिल्चा, दुम्बारा, हिड्ने धारा र करेशिल्ला वन क्षेत्रमा रेडपाण्डा पाइने गरेको बताए । यी क्षेत्रमा स्थानीयले जंगल र वन्यजन्तुको रेखदेखका लागि हेरालो( चौकिदार)राखेका छन् । जंगलमा वन्यजन्तु र जडीबुटीको सिकार तथा अबैध उत्खनन् भइरहेको संकेत पाउने वित्तिकै हेराले पठाइरहेका हुन्छन् । भदौदेखि हिउँ नपरुन्जेलसम्म जंगलमै हेरालुले बेलाबेला जंगलमा गस्ती गरिरहनु पर्ने स्थानीय बताउँछन् ।
सामुदायिक वन क्षेत्रमा १५ देखि २० वटा सम्म रेडपाण्डा रहेको स्थानीयको आँकलन छ । पानीखोला हुदैं केसरपानी, तेलेलडाँडा हुदैं राक्ष र सल्ली थाक्नसम्मको ४ सय ९१ वर्गमिटर जग्गा सामुदायिक वन क्षेत्रमा पर्छ । मछाली, बुढाबाडा र इमिल्चाका ५५ घरधुरी अहिले रेडपाण्डा बचाउन लागिरहेका छन् ।
समुदायको रेडपाण्डाप्रतिको मोह देखेर रेडपाण्डा नेटवर्क काठमाडौं र हातेमालो नेपाल जुम्लाले ती क्षेत्रहरुमा पश्चिम नेपालमा समुदायमा आधारित हाब्रे संरक्षण परियोजना कार्यन्वयनमा ल्याएका छन् । उनीहरुका अनुसार जिल्लाको सिंजा, तातोपानी, पातारासीका ५ वटा सामुदायिक वनमा रातो हाब्रे छ । हाब्रेको सर्भे गर्ने र सामुदायिक वन छनौट गरेर सचेतना फैलाउने कार्य चलिरहेको छ ।
जिल्लाका विभिन्न स्थानमा होर्डिङबोर्ड राखिएको छ । रेडपाण्डाको चोरीसिकार नियन्त्रण, संरक्षण र पर्या पर्यटनको विषयमा तालिम,सेमिनार र गोष्ठी प्रदान गरिरहेको छ । पातारासीको महारुद्ध आधारभूत विद्यालय र सिंजाको मावि चुलेलगाउँमा कक्षा–६ मा वातावरण संरक्षण सम्बन्धी पाठ्यक्रम तयार गरेर अध्ययन अध्यापन भइरहेको छ ।
हातेमालो नेपाल जुम्लाका कार्यकारी निर्देशक टेकबहादुर रावतका अनुसार महारुद्र सामुदायिक वन पटमारामा १४ र सियालामुल सामुदायिक वनमा २ वटा क्यामरा राखिएको छ । प्रत्येक ४५ दिनमा तीन पटक क्यामरा हेर्ने गरिएको छ ।
जिल्लाका ५ वटा सामुदायिक वनमा ४ वटामा १७ हजार भन्दा बढी विरुवा रोपिएको छ । वन जोगाउनको लागि सुधारिएको चुलो दिइएको छ । घरपालुवा जनावर सँगै जंगली वन्यजन्तुको लागि पानी पोखरी, बेमौसमी तरकारी खेती, आकाशेपानी संकलन पोखरीको समेतको व्यवस्था छ ।
जुम्लामा सन् २०१७ मा हातेमालो सेवा समाज र रेडपाण्डा नेटवर्कले जिल्लाको एक नगरपालिकासहित सातवटै गाउँपालिकामा रेडपाण्डाको अनुसन्धान गरेको थियो । सन २०२१ मा महारुद्र सामुदायिक वन पातारासी पटमारा र २०२२ मा नदै सामुदायिक वन तातोपानीमा रेडपाण्डा भेटिएको थियो ।
विज्ञहरूका अनुसार उच्च पहाडी क्षेत्रका वनमा पाइने रेडपाण्डाको आयु ८ देखि १० वर्षसम्म हुने गरेको छ । पुस र फागुनमा भाले लाग्ने र जेठदेखि साउनसम्म रेडपाण्डाको गर्भाधान हुने महिनाको रुपमा लिइन्छ । रेडपाण्डालाई पर्यटन प्रवर्द्धन गर्न र अध्ययन अनुसन्धान गर्न महत्त्वपूर्ण वन्यजन्तु मानिएकाले यसको संरक्षणमा स्थानीय सरकार लाग्नुपर्नेमा संरक्षकहरूले जोड दिने गरेका छन् ।
समुन्द्र सहतबाट २ हजार २ सय मिटरदेखि ४ हजार ८ सय मिटर उचाइ सम्ममा रेडपाण्डा पाइने गरेको यस क्षेत्रका विज्ञहरुले बताउने गरेका छन । वन्यजन्तु संरक्षण ऐन २०२९ मा कुनै पनि व्यक्तिले नियन्त्रणमा राखेको वा मारेको र ओसारपसार गरेको पाइएमा एक देखि १० वर्षसम्म कैद वा एकदेखि पाँच लाखसम्म जरिवाना वा दुवै सजाय हुने प्रावधान रहेको छ ।






