घरदैलोका ‘डाक्टर’ महिला स्वयंसेविका

गत वैशाखमा कनकासुन्दरी–६ की लछिमा कामीकी १४ महिनाकी छोरी अञ्जुली कामी महिना कडा कुपोषणले ग्रसित भइन् । उनको अवस्था हेर्दा सबैले आस मारिसकेका थिए । परिवारमा अब बचाउन सकिँदैन भन्ने भान परिसकेको थियो ।
धामीझाँक्रीलाई देखाउनेदेखि घरेलु औषधि प्रयोग गर्दा केही उपाय लागेन ।सदरमुकाम खलंगाको अस्पताल पु¥याउन सक्ने आर्थिक अवस्था नभएकाले लछिमालाई छोरीको छटपटहाट हेर्नुको विकल्प थिएन ।
नजिकैको स्वास्थ्य चौकीमा कुपोषणको उपचार हुने थाहा नपाएकी उनले गाउँकै महिला स्वास्थ्य स्वयंसेविकाबाट छोरीको उपचारको विकल्प पाइन् ।
स्थानीय स्वयंसेविका निरमाया हमालले तत्कालै हाडसिंजा स्वास्थ्य चौकीमा सम्पर्क गराइदिएर अञ्जुलीलाई भर्ना गरिदिइन् ।
२४ दिन स्वास्थ्यचौकीमा राखेर उपचारयता अञ्जुलीको अवस्था सामान्य छ । हिँडडुल गर्नेदेखि बोल्नेचाल्ने भइसकेकी छन् ।
‘गरिबका डक्टर त गाउँमै रहेछन् । जसको सुझावले छोरी बाँच्न सकिन्,’ लछिमाले भनिन् । कनकासुन्दरी–२ की एक वर्षीया बालिका शान्ति कामी बिरामीले थलिइन् । निकै दुब्ली र बिमारले ग्रसित शान्ति बाँच्ने आशा कसैलाई थिएन ।
परिवारले आशा मारिसकेकी महिला स्वास्थ्य स्वयंसेविकाले शान्तिलाई मञ्जाउमा रहेको स्वास्थ्य चौकीमा भर्ना गरिदिए । परिवारको आर्थिक अवस्था नाजुक भएकाले स्वास्थ्यचौकी पु¥याउनसमेत कठिन थियो ।
२४ दिन स्वास्थ्यचौकीमा राखेर उपचार गरेपछि उनी निको भइन् । अहिले स्वास्थ्य अवस्था निकै राम्रो छ । उनकी आमा राजु कामीले स्वयंसेविकाले बच्चा बचाइदिएकोमा निकै खुसी ब्यक्त गरिन् । उनले भनिन्, ‘ठूला डक्टर भेटेर उपचार गर्ने त आस मरिसकेको थियो । गाउँकै स्वयंसेविकाले बच्चा बचाइदिइन् यसैमा खुसी छु ।

स्वयंसेविका गाउँका डाक्टर मात्र होइन, भगवान् पनि हुन् ।’ कनकासुन्दरी–६ की अर्की स्वयंसेविका रामु पछाइ हरेक दिन गाउँका बिरामीलाई निगरानी गर्छिन् । बालबालिका र बुढापाकाको स्वास्थ्यमा प्रायः उनीहरू चासो राख्ने गरेका छन् । गाउँमा सामान्य चोटपटकदेखि अन्य बिरामी भए स्वयंसेविकाले अवस्था बुझेर सल्लाह दिने गरेको स्थानीय बताउँछन् ।
बिरामीलाई सान्त्वना र हौसला दिएर उपचारका लाग्न पठाउने गरेको पछाईंले बताइन् । उनको गाउँमा अहिले कुनै पनि गर्भवती घरमा सुत्केरी हुँदैनन् ।
सबै गर्भवतीलाई स्वास्थ्य संस्थामै लिएर सुत्केरी गराउँदै आएको उनले बताइन् । स्वास्थ्यचौकी लैजाँदा खोल्सा, डाँडा र जंगल पर्ने भएकोले बालबालिकालाई भूतप्रेत लाग्ने अन्धविश्वास यथावत् छ ।
तर महिला स्वास्थ्य स्वयंसेविकाले आफू सँगै गएर पनि स्वास्थ्य संस्थामा लैजाने गरेका छन् । लछिमाका अनुसार गाउँबस्तीमा सबै एकैनासका मानिसको बसोबास छैन । कोही धेरै गरिब छन्, जसलाई अस्पतालसम्म गएर उपचार गर्न सघाउने काम स्वयंसेविकाले गराइरहेका छन् ।
‘गाउँमा स्वास्थ्यकर्मी र डक्टर भने पनि स्वयंसेविका हुन् ।
त्योभन्दा माथिल्लो स्तरको सेवा पाउन त घरमा आर्थिक पनि हुनुप¥यो । नत्र रोग लुकाएर थलिनेबाहेक अर्को बाटो छैन,’ उनले भनिन् । हरेक महिनाको २९ गते स्वास्थ्य स्वयंसेविकाहरू गाउँमा भेला गराउँछन् ।






