लयमा आउने प्रयासमा छन् कर्णालीका सानादेखि ठुला जलविद्युत आयोजना


कर्णाली प्रदेशमा हालसम्म कुनै पनि ठूला जलविद्युत आयोजनाहरु सञ्चालनमा छैनन् । केही ठूला र महत्वपूर्ण जलविद्युत आयोजना भने निर्माणाधीन अवस्थामा छन् । आर्थिक बर्ष २०८०/०८१ सम्म ११ वटा जलविद्युत आयोजनाबाट कुल १८.५४ मे.वा. विद्युत उत्पादन भएको छ । अन्य थुप्रै जलविद्युत आयोजनाहरु निर्माणाधीन अवस्थामा छन् । आर्थिक २०८०/०८१ सम्ममा यस प्रदेशमा आयोजना निर्माण अनुमतिका लागि ९ वटा आयोजनाहरुको निवेदन परेका छन् भने आयोजना अध्ययनका लागि ६ वटा आयोजनाहरुको निवेदन परेको नेपाल लगानी बोर्डले जनाएको छ ।
निर्माण चरणकोअवस्थामा स्थानीय स्तरमा रोजगारीका अवसरहरुको सिर्जना, स्थानीय बासिन्दाहरुको दक्षता तथा क्षमतामा बृद्धि, स्थानीय स्तरमा उत्पादन हुने सामानहरुका लागि बजार–व्यवसायहरुको अवसर सिर्जना तथा राजस्वमा बृद्धि हुने अनुमान गरेको छ भने सञ्चालन चरणमा उर्जाको उत्पादन, ग्रामीण विद्युतिकरणका अवसरहरु, ग्रामीण अर्थतन्त्रमा सुधार, स्थानीय पर्यटन विकासका अवसरहरु तथा शेयर लगानीमा अवसर हुने नेपाल विद्युत उत्पादन कम्पनी लिमिटेड कार्यकारी निर्देशक बखतबहादुर शाहीले बताए । ‘जलविद्युतको उत्पादन बृद्धि गरी ऊर्जाको निरन्तर बढ्दो माग पूरा गर्न र विदेशबाट आयात गरिने विद्युतलाई प्रतिस्थापन गर्न यस्ता आयोजनाको प्रमुख भुमिका हुने देखिन्छ ।’
उनले भने, ‘रोजगारी सिर्जना हुन गई स्थानीय जनताहरु लाभान्वित हुने देखिन्छ । यो आयोजना निर्माण भई सञ्चालनमा आएमा विद्युतको आन्तरिक माग परिपूर्ति गर्नुका साथै बाँकी बिजुली छिमेकी देशहरुमा बिक्री गरी आर्थिक लाभ लिन सकिने हुँदा यस आयोजनाको सञ्चालनबाट समष्टिगत रुपमा समग्र देशको आर्थिक उन्नतिमा टेवा पुग्नेछ ।’
यी आयोजना प्रक्रियामा गए नलसिंह गाड (नलगाड) जलाशययुक्त जलविद्युत (४१७ मे.वा) आयोजना नेपालको कर्णाली प्रदेश अन्तर्गत जाजरकोट जिल्ला स्थित नलगाड नदीमा अवस्थित छ । यस आयोजनाको निर्माण तथा सञ्चालक नलगाड हाइड्रोपावर कम्पनी रहेको छ । जुन विद्युत उत्पादन कम्पनीको सहायक कम्पनीका रुपमा सन् २०१७ मा स्थापित भएको थियो । हाल यस आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) प्रतिवेदन पेस गरिने चरणमा छ । प्रस्तावित आयोजनाले नलगाड नगरपालिकाको वडा नम्बर २, ५, ७, ८, र बारेकोट गाउँपालिकाको वडा नम्बर १, २, ५, ६, ७, ८ र ९ लाई प्रभाव पार्नेछ । यस आयोजना निर्माण सम्पन्न हुन ७ वर्ष ५ महिना लाग्ने अनुमान गरिएको छ भने आयोजनाको अधिकृत पुँजी रु. १ अर्ब र जारी पुँजी रु. ५० करोड रहेको छ ।
४३९ मेगावाट विद्युत क्षमताको बेतन कर्णाली अर्ध जलाशययुक्त जलविद्युत आयोजना हो । जुन कर्णाली प्रदेश सर्खेत जिल्लाको चौकुनेगाउँपालिका वडा न.४, ५, ६ र पञ्चपुरी नगरपालिका वडा न. ७ साथै सुदूरपश्चिम प्रदेशको अछाम जिल्लाको ढकारी गाउँपालिको वडा नं. ६, ७ र तुर्माखाद गाउँपालिकाका वडा न. ३, ४ र ५ को क्षेत्र भित्र अवस्थित छ । प्रधानमन्त्रीको भारत भ्रमणमा फुकोट कर्णाली अर्धजलाशययुक्त जलविद्युत आयोजना भारतीय सरकारी कम्पनीले लगानी गर्ने सम्झौता भएको छ । यस आयोजनाको विद्युत उत्पादन क्षमता ४८० मेगावाट रहेको छ । नेपालका तर्फबाट विद्युत उत्पादन कम्पनी लिमिटेड र भारतको सरकारी कम्पनी एनएचपीसीको संयुक्त उपक्रम (ज्वाइन्ट भेन्चर) बनाएर यस आयोजनाको विकास गर्ने गरी सम्झौता भएको छ । एमओयूको मस्यौदाअनुसार एनएचपीसीको ५१ र भीयूसीएलको ४९ प्रतिशत लगानीमा फुकोट कर्णाली आयोजना बनाउने तयारी छ ।
यो आयोजना कालिकोटको पचाल झरना गाउँपालिका, रास्कोट नगरपालिका, सान्नी त्रिवेणी गाउँपालिका र खाँडाचक्र नगरपालिका हुँदै बग्ने कर्णाली नदीको खण्डमा निर्माण हुनेछ । जलविद्युतको राष्ट्रिय उत्पादन वृद्धि गरी उर्जाको निरन्तर बढ्दो माग पूरा गर्न र विदेशबाट आयात गरिने विद्युतलाई प्रतिस्थापन गर्न यस्ता आयोजनाको प्रमुख भूमिका हुने देखिन्छ ।
लगानीमा भारतीय चासो बढ्दै
१९०२ मेगावाटको मुगु कर्णालीमा पनि भारतीय पक्षले चासो दिएको छ । यो आयोजना नेपालको सबैभन्दा ठुलो आयोजना हो । फुकोट कर्णालीको लगानीका बिषयमा भारतीय पक्षसँग सम्झौता हुँदा उसले मुगु कर्णालीमा लगानी गर्ने प्रस्ताव गरेको थियो ।
एनएचपीसीलाई फुकोट कर्णाली जलविद्युत आयोजना दिइएको हो । फुकोट कर्णालीसँगै सोही मोडलमा निर्माण गर्न एनएचपीसीले पनि १९०२ मेगावाटको मुगु कर्णाली पनि मागेको थियो । दुवै आयोजनासँगै निर्मण अघि बढाउने भन्दै प्रस्ताव गरेको थियो । तर नेपाली पक्षले मुगु कर्णालीमा शर्त राखेपछि सम्झौता हुन सकेन ।
मुगु कर्णाली जलविद्युत आयोजनाको पूर्व सम्भाव्यता सकेर एनईए इन्जिनियरिङ कम्पनीले सम्भाव्यता अध्ययन गरिरहेको छ । करिब ६ महिनामा सम्भाव्यता अध्ययन प्रतिवेदन तयार पार्ने लक्ष्य छ । नेपालमा हाल अध्ययन भइरहेकामध्ये सबैभन्दा ठूलो जलाशययुक्त जलविद्युत आयोजना हो । यो आयोजना निर्माणका लागि करिब ४ खर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । आयोजनाले वार्षिक ५८८३.१० गिगावाट आवर उत्पादन गर्न सक्छ । कर्णाली नदीमा पहिचान भएको यो आयोजना सबैभन्दा माथि निर्माण हुनेछ । त्यसभन्दा तल्लो बेल्टमा बाँकी आयोजनाहरु निर्माण हुनेछन् ।
तल्लो तटीय क्षेत्रमा फुकोट कर्णाली जलविद्युत आयोजना रहेको छ । ती आयोजनाका लागि समेत यो आयोजनाको जलाशयले फाइदा पुग्नेछ । यो आयोजनाले बाढी रोक्छ । बाजुराको पिलुवाचौरमा आयोजनाको दुई विकल्पसहित हेडवर्क्स प्रस्ताव गरिएको छ ।
माथिल्लो कर्णालीमा लगानी जुट्यो
भारतीय निजी कम्पनी जीएमआर इनर्जी लिमिटेडले लगानी जुटाउन नसकेर १८ वर्षदेखि होल्ड गर्दै आएको ९०० मेगावाटको माथिल्लो कर्णाली जलविद्युत् आयोजना निर्माणमा थप दुई भारतीय कम्पनीले साथ दिने भएका छन् ।
आयोजना विकासका लागि सहकार्य गर्न भारतकै सरकारी कम्पनी सतलज जलविद्युत् निगम (एसजेभीएन) र भारतको नवीकरणीय ऊर्जा विकासमा काम गर्दै आएको अर्को कम्पनी रिन्यूएवल इनर्जी डेभलपमेन्ट एजेन्सी लिमिटेड (इरेडा) ले जीएमआरसँग सहकार्य गर्ने भएका छन् । जीएमआर ग्रुपको शतप्रतिशत स्वामित्वमा रहँदै आएको जीएमआर अपर कर्णाली हाइड्रोपावर लिमिटेडको केही प्रतिशत शेयर स्वामित्व समेत लिने गरी यी दुई कम्पनी आयोजना निर्माणमा सहकार्य गर्न भित्रिएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।
गत सोमबार नयाँ दिल्लीमा जीएमआर ग्रुप, एसजेभीएन र रेडाबीच त्रिपक्षीय समझदारी (एमओयू) पत्रमा हस्ताक्षर भएको हो । हस्ताक्षर समारोहमा एसजेभीएनका प्रमुख प्रबन्ध निर्देशक (सीएमडी) सुशील शर्मा, इरेडाका वित्त निर्देशक डा. बीके मोहन्ती, इरेडाकै वरिष्ठ अधिकारी एसके शर्मा, एसजेभीएनका जीएम जितेन्द्र यादव, जीएमआरका प्रमुख कार्यकारी अधिकृत एसएन बार्डेलगायतको उपस्थिति थियो ।
माथिल्लो कर्णाली जलविद्युत आयोजना कर्णाली नदीमा प्रस्तावित रन अफ द रिभर जलविद्युत आयोजना हो । यो आयोजना दैलेख जिल्लाको आठबीस नगरपालिका वडा नं. १ सात्तलाको डाब र अछाम जिल्लाको केही भागसमेत पर्दछ । यो आयोजनाको विद्युत उत्पादन क्षमता नौ सय मेगावाट रहेको छ । यो आयोजना निर्माण गर्ने जिम्मा नेपाल सरकारले भारतीय कम्पनी जीएमआरलाई दिएको छ ।
यस आयोजनाबाट उत्पादन हुने अधिकांश बिजुली बंगलादेश (पाँच सय मेगावाट) र भारत (दुई सय ९२ मेगावाट) दुवैतर्फ चार सय केभी डबल सर्किट प्रसारण लाइनमार्फत निर्यात गर्ने तय गरिएको छ । बाँकी रहेको कुल विद्युतको एक सय आठ मेगावाट नेपाल सरकारले प्राप्त गर्नेछ ।
सन् १९९० मा पहिलोपटक सानो स्केल दुई सय ४० मेगावाट सुविधाका रुपमा योजना गरिएकोमा हालको नौ सय मेगावाट डिजाइन २००८ मा स्वीकृत भएको थियो । लामो समयदेखि यो आयोजनाको कार्य गर्ने भनिए पनि उत्पादनको जिम्मा पाएको कम्पनीले कार्य गर्न नसकी पटकपटक म्याद थपिँदै आएको छ । नेपालको ठूलो आयोजना मध्येको यस आयोजना समयमै सम्पन्न भएका देशमा आवश्यक विद्युतको परिपूर्ति हुनुका साथै ठूलो मात्रामा विद्युत निर्यातको सम्भावना छ । भारत र बंगलादेशमा विद्युत आपूर्ति हुने निर्यातमुखी आयोजना भएकोले समयममै विद्युत उत्पादन गर्नसके यसले नेपालको विकासका लागि बहुआयामिक महत्व राख्दछ ।
यी हुन् बन्दै गरेका साना आयोजना
दैलेख जिल्लामा हाल २.१५ मेगावाट क्षमताको माथिल्लो पराजुली खोला, ४.२ मेगावाट क्षमताको लोहोरे खोला आयोजना निर्माणाधीन अवस्थामा रहेका छन् । त्यस्तै, कालिकोट जिल्लामा १६ मेगावाट क्षमताको रुरुबन्चु खोला (पहिलो), १२ मेगावाट क्षमताको रुरुबन्चु खोला (दोस्रो), चार सय ४० मेगावाट क्षमतको तिला (पहिलो) र चार सय २० मेगावाट क्षमतको तिला (दोस्रो) जलविद्युत आयोजनाको निर्माण कार्य भइरहेको छ ।
खत्याड खोला जलविद्युत आयोजना (०.५० मे.वा.) मुगु, सिमरुतु खोला जलविद्युत आयोजना (०.२० मे.वा.) रुकुम पश्चिम, सानी भेरी जलविद्युत आयोजना (०.३० मे.वा.) रुकुम पश्चिम, आँखे खोला जलविद्युत आयोजना (०.७५ मे.वा.) डोल्पा, चुकेनी खोला जलविद्युत आयोजना (०.९९ मे.वा.) जुम्ला, जल्दीगाड जलविद्युत आयोजना (२१ मे.वा.) रुकुम पश्चिम, स्यार्पु जलविद्युत आयोजना (३.३ मे.वा.) रुकुम पश्चिम, सौर्य ऊर्जा आयोजना (०.९९ मे.वा.) जुम्ला, सौर्य ऊर्जा आयोजना (०.३० मे.वा.) मुगु, सौर्य ऊर्जा आयोजना (०.६२ मे.वा.) डोल्पा, र सौर्य ऊर्जा आयोजना (१ मे.वा.) हुम्लामा गरी जम्मा १७ वटा आयोजना निर्माणाधीन अवस्थामा रहेका छन् ।






