कर्णाली नदीमा विश्व किर्तिमानको कसरत, विश्वकै सबै भन्दा लामो रयाफ्टिङ प्रतियोगिता

भक्तबहादुर शाही/दैलेख
कर्णाली, सुदुरपश्चिम र लुम्बिनी प्रदेशलाई हुँदै बग्ने कर्णाली नदीमा विश्वको सबैभन्दा लामो अन्तर्राष्ट्रिय रयाफ्टिङ दौड प्रतियोगिता हुने भएको छ । अन्तर्राष्ट्रिय स्तरको सबै भन्दा लामो रयाफ्टिङ दौड प्रतियोगिता दैलेखको आठविस नगरपालिकादेखी कैलालीको दौलतघाटसम्म २४८ किलोमिटर रयाप्टिङ दौड प्रतियोगिता द गे्रट कर्णाली क्वेस्टले २०२४ मार्च ८ देखी १३ तारिखसम्म नेपालको सबै भन्दा लामो नदीमा कर्णाली नदीमा हुने भएको हो ।
सधै रोग, भोक, अशिक्षा, अन्धविश्वासले चिनिने कर्णालीमा प्राकृतिक सौन्र्दय, संस्कृतिको प्रचार हुन नसक्दा सोचे जस्तो पर्यटकले कर्णालीमा पाईला टेकेका छैनन् । कर्णाली सुनको शिरानीमा सुतेर नुनको खोजीमा बर्षौदेखी भौतारी रहनु नै विडम्बना हो । पृथ्वीको रक्तनली र प्राकृतिक उपहार मानिने कर्णाली नदी साहसिक जल पर्यटकका लागि उत्तिकै महत्वपूर्ण मानिन्छ ।
कर्णाली नदी प्याफ्टिङ्गको लागि विश्वको पाँच स्थानमा पर्ने रयाफ्टिङ व्यवसाय बताउँछन् । स्वच्छ, सुन्दर र प्राकृतिले उपहार मानिएको कर्णाली नदी धार्मिक आस्थालाई लिएर बग्छ भने माथिल्लो कर्णालीमा भोटे संस्कृति, मध्यभागमा खस संस्कृति, तल्लो भागमा राउटे, राजी, थारु, सोनाहा संस्कृतिसँग घुलमिल हुन्छ । कैलास पर्वतको दक्षिणतिरमा मयुरको मुखबाट बग्ने यो नदीलाई (माप्चा खम्बाब) भनिन्छ । धार्मिक आस्था रहेको यो नदी कैलाश हुदै गंगामा मिसिन्छ ।
नेपाल एसोसिएसन अफ रयाफ्टिङ एजेन्सीज, नेपाल नदी संरक्षण संस्था एनआरसिटी र कर्णाली बेसिन संरक्षण प्रतिष्ठानको संयुक्त आयोजनामा कर्णाली क्षेत्रको पर्यटन प्रवद्र्धनको लागि अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता हुन हो । प्रतियोगितामा १६ टिमको लागि फेबु्रअरी ५ देखि २४ सम्म खुला गरेको छ । अहिलेसम्म ६ अन्तर्राष्ट्रिय टिम सहभागिता हुने निश्चित भईरहेको पनि आयोजकले जनाएको छ ।
कर्णाली नदी धार्मिक आस्था उत्तिकै महत्वपूर्ण छ । कैलाश पर्वतबाट मुहान रहेको यो नदी गंगामा गएर मिसिन्छ । नदी सुन्दरतासँगै साँस्कृतिक र धार्मिक हिसाबले महत्वपूर्ण भएकाले यस नदीलाई विश्व सम्पदामा सुचिकृत गर्न द ग्रेट कर्णाली क्वेस्टले विश्वकै लामो रयाप्टिङ दौड प्रतियोगिता गर्न लागेको द ग्रेट कर्णाली क्वस्टका अध्यक्ष मेघ आलले बताए ।
‘हामी नदी, खोला भनेकै गिट्टी बालुवा र विद्युतका लागि मात्र हुन भनेर बुझ्छौ । तर विकल्प खोज्दैनौ, यो नदीलाई संरक्षण गरेर सम्पदामा सुचिकृत गरे भावि सन्ततीका लागि उपयुक्त हुनेछ । हिन्दु धर्मको आस्था कैलाश, कर्णाली र गंगा हुन् । कैलाशदेखि निस्किने एकमात्र नदी कर्णाली धेरै सभ्यता र संस्कृतिको मुहान पनि हो’ आलेले भने ।

‘नदी भूगर्भ जैविक विविधता र जलवायुको संग्रहालय हो । यो दुर्लभ नदी हो, जसलाई हामीले विश्व सम्पदा सूचीमा सूचीकृत गर्नुपर्ने छ । जसले विश्वलाई नयाँ सन्देश दिन सक्छ । समृद्धिको द्वारसँगै पर्यटक र कृषि क्षेत्रको पनि द्वार यही नदी हो, उनले थपे ।’
विश्वका देशहरूको राफ्ट दौडको लागि कर्णालीमा आँखा रहेकाले तत्काल द ग्रेट कर्णाली क्वेस्ट राफ्ट दौड गर्न लागेको नदी संरक्षण संस्थाका कार्यकारी निर्देशक मौसम खनालले बताए । द ग्रेट कर्णाली क्वेस्ट दौडले कर्णालीको ब्रान्ड, आर्थिक पर्यटन र कर्णालीको दिगो पर्यटनलाई समेत जोड्ने दैलेख आठविस नगरपालिका नगर प्रमुख तर्कबहादुर बडुवालले बताए ।
द ग्रेट कर्णाली क्वेस्ट राफ्ट दौडमा ६ जनाको टिम हुने छ भने द ग्रेट कर्णाली क्वेस्ट राफ्ट दौडमा भाग लिने टिमले ४ सय ५० डलर शुल्क तिर्नुपर्ने छ । द ग्रेट कर्णाली क्वेस्टको पुरस्कार ३ हजार डलर राखिएकोमा ४ हजार डलर पुग्ने अपेक्षा गरिएको आयोजनकले जनाएको छ ।

साहसिक जलयात्रा गर्ने यात्रीले विभिन्न साँस्कृति, जंगल र जंगली जनावरको पनि अवलोकन गर्न सक्छ । कर्णाली नदीमा ५० औं पटक रयाफ्टिङ गरेका रिभर गाईड महेन्द्र सारुले विदेशीले मन पराउने नदी कर्णाली भएको बताए । यहाँको सुन्दर स्वच्छ हावापानी, ठाउँ ठाउँमा ठुल ठुला विच क्याम्प भएको र सँगै विभिन्न जातजातिको साँस्कृति पनि हेर्न मिल्ने भएकाले विदेशीले यो नदीमा रयाप्टिङ गर्न धेरै मनपराउने सारुको भनाई छ ।
नदीको सुन्दरता जोगाई राख्न तीनै तहका सरकार र नागरिकले पनि आफ्नो दायित्व पुरा गर्नुपर्ने कर्णाली नदीको जलयात्रामा भेटिएकी अमेरिकन हटसन रिभरकी अध्यक्ष टेसी ब्राउन बताउँछन् । ‘हामीले हडसन नदीलाई पुरानो लयमा फर्काउनका लागि ६० बर्षसम्म लागिरहयौं । अहिलेसम्म पुरानो लयमा आउन सकेको छैन । नदी सँगै नागरिकको जीवन जोडिएकाले नदीलाई स्वतन्त्र बग्न दिदा वातावरण बिग्रिदैन’ उनले भनिन् ।
अन्तर्राष्ट्रिय रयाप्टिङ दौड प्रतियोगिताले नदीलाई विश्वमा चिनाउनुका यो नदीमा जलयात्रा गर्ने पर्यटक बढने स्थानीयले गाउँघरमै रोजगारी पाउने आशा गरिएको छ । यस अघि ब्राजिलको एमाईजन नदीमा १८० किलोमिटर विश्वकै सबै भन्दा लामो रयाफ्टिङ रेस भएको थियो । २४८ किलोमिटर रयाफ्टिङ दौड प्रतियोगिता सम्पन्न भए, नेपाल गिनिज बुक अफ बल्ड रेकर्डमा नाम लेखाउने छ ।

फोटो क्याप्सन : कर्णाली नदीमा रयाप्टिङमा रमाउँदै विदेशी तथा स्वदेशी पर्यटक ।






