बबई नदीमा पक्की पुल निर्माण

![]()
सदरमुकाम खलंगादेखि कालिमाटी–दम्दवाली–घुईयाबारी हुँदै बाँकेको चप्परगौरी जोड्ने सडक पूर्णरुपमा सम्पन्न हुन नपाउँदै कालिमाटी गाउँपालिकाको वडा नं ५ हात्तीदमार र दम्दवाली बीचमा पर्ने बबई नदीमा पक्की पुल निर्माण भएको छ ।
राष्ट्रिय योजना आयोगको २१ करोड बजेटबाट पक्की पुल निर्माण गरिएको हो । पक्की पुल निर्माण भएपछि दम्दवाली र हात्तीदमारका स्थानीयलाई आउजाउमा सहज भएको छ ।
विगतमा पुल नहुँदा विभिन्न किसिमका जोखिम मोलेर बबई नदी वारपार गर्दै आएका स्थानीयलाई अब देखि नदी तर्न नपर्ने भएको छ । वर्षात्को समय भएकले सडक अवरुद्ध भएका कारण गाडी नचलेपनि पुल बनेपछि आउँदा दिनमा हात्तीदमारबाटै स्थानीयले खलंगा आउन तथा बाहिर जाँदा गाडी चढ्न पाउने भएका छन् ।
२०७४ मा पुलको काम सुरु गरेको निर्माण कम्पनीले सात वर्ष लगाएर योजनाको काम सम्पन्न गरेको स्थानीय सुरेश कुमार गाहा मगरले बताए । सुरुवाती चरनमा ईलाईट जेभीले काम सम्पन्न गर्न नसकेपछि साझेदारी कम्पनी रसुवाले पछिल्लो समयमा काम गरेर २ सय २० मिटर रहेको पक्की पुल सम्पन्न गरेको उनले जानकारी गराए ।
खलंगाबाट कालीमाटी–दम्दवाली–चचप्परगौरी हुँदै नेपालगन्ज जाने सडक बाँके राष्ट्रिय निकुन्जका कारण अहिलेसम्म पूर्णरुपमा जोडिन नसकेपनि पुल बनेपछि स्थानीयलाई राहत भएको छ । वर्षात्को समयमा बबई नदी तर्न आँधा घन्टा टाढाको बाटो हिडेर झोलुङ्गे पुलसम्म पुग्नुपर्ने बाध्यता हटेको छ ।






