जेष्ठ नागरिकलाई निःशुल्क आयुर्वेद सेवा


जेष्ठ नागरिकले निःशुल्क आयुर्वेद उपचार सेवा पाएका छन् । जुम्लाको चन्दननाथ नगरपालिका–५ मा रहेको जेष्ठ नागरिकसंगको कार्यालयमै आयुर्वेद फार्मेसी स्थापना गरेर आयुर्वेद सेवा निःशुल्क दिन थालिएको हो ।

धेरै जसो जेष्ठ नागरिक कार्यालयमै आउने भएकोले सोही ठाउँमा आयुर्वेद सेवा उपलब्ध गराइएको आयुर्वेद स्वास्थ्य केन्द्र जुम्लाका प्रमुख नन्दप्रसाद न्यौपानेले बताए।उनका अनुसार चन्दननाथ नगरपालिकाको सहयोगमा आयुर्वेद स्वास्थ्य केन्द्रले सेवा दिन थालेको हो ।

आयुर्वेद स्वास्थ्य सेवा उपलब्ध गराउनको लागि चन्दननाथ नगरपालिकाले २० लाख रुपैयाकक बिनियोजन गरेको थियो । जसले आयुवेर्द फार्मेसी कक्ष सञ्चालन, आयुर्वेद औषधी खरिद, स्नेह कक्ष, आराम कक्ष तथा आयूर्वेद वाफ कक्षको व्यवस्थापन गरिएको हो ।

नगरपालिकाले दिएको २० लाख रुपैयाकक मध्येबाट ९ लाख ५० हजार रुपैयाँले फार्मेसी सञ्चालन गरिएको हो । सो सेवाका लागि २ जना कर्मचारी समेत व्यवस्थापन गरिएको छ । चन्दननाथ–१० बोहोरागाउँमा भएको आयूर्वेद अस्पतालमा जान टाढा र कठिन भएकोले ज्येष्ठ नागरिकको कार्यालयमा सेवा दिन थालिएको भन्दै ज्येष्ठ नागरिकहरु निकै खुसी छन् ।

जिल्ला ज्येष्ठ नागरिक संघ जुम्लाका कार्यवाहक अध्यक्ष तुलाराम न्यौपानेले पछिल्लो समय चन्दननाथ नगरपालिका, आयुर्वेद स्वास्थ्य केन्द्रले जेष्ठ नागरिकमैत्री स्वास्थ्य सेवा सञ्चालन गरिएकोमा खुसी व्यक्त गरे ।

उनले भने, ‘भगवानलाई पुजा गर्न सधैँ मन्दिर जानुपर्दैन । हामी जस्ता जेष्ठ नागरिकलाई सेवा दिए प्रयाप्त हुन्छ ।’ चन्दननाथ नगरपालिकाका नगरप्रमुख राजुसिंह कठायतले सवै भोलिका ज्येष्ठ नागरिक भएकाले ज्येष्ठ नागरिकको सेवा सवैभन्दा महत्वपूर्ण रहेको बताए । जिल्लाभरिका ज्येष्ठ नागरिकहरु आवद्ध भएको संस्थामा अझ राम्रा राम्रा काम गर्नका लागि नगरपालिका प्रयासरत भएको बताए ।

जेष्ठ नागरिकलाई निःशुल्क आयुर्वेद सेवा

सम्पादकीय: आफ्नो अधिकार खोज्दा अरुको हनन् भयो