वृक्षारोपणसंगै संरक्षणलाइ पनि अभियानकै रुपमा सञ्चालन गर्नुपर्ने


सल्यानको छापडाँडामा विभिन्न प्रजातीका एकसय बढी विरुवा रोपण गरिएको छ । आई.एम.ई.लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड सल्यान उप–शाखाको आयोजनमा आइतबार शारदा नगरपालिका वडा नम्बर १ छाँपडाडामा वृक्षरोपण गरिएको हो ।
वृक्षारोपणको सुरुवात गर्दै कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री सुरेश अधिकारीले पछिल्ले समय वृक्षरोपणको महत्व बढेको भन्दै खुसी व्यक्त गरे । यद्यपी रोपिएका विरुवाको संरक्षणमा पनि अभियानकै रुपमा काम गर्नुपर्ने भन्दै उनले जीवनका लागि आवश्यक हावा, पानी, खाना र आश्रयहरु वनबाट नै प्राप्त हुने गरेकोले वनको महत्वको चर्चा गरे ।
कम्पनीको सातौं बार्षिक उत्सवको अवसर पारेर खाली जमिनमा तेजपात, मालागिरी, अमला, रिठ्ठा लगाएतका एकसय बढी विरुवा रोपिएको आई.एम.ई.लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड सल्यान उपशाखा प्रमुख भरत रोकायाले जानकारी दिए ।
कार्यक्रमका सहभागिहरुले जलवायु परिवर्तनको प्रभाव न्युनिकरणका लागि पनि वृक्षारोपणको महत्व रहेको भन्दै आर्थिक महत्व बोकेका वनस्पतिहरु रोप्दै, हुर्काउदै यस कार्यलाई मुलुकको समृद्धिसंग जोड्नुपर्ने धारणा राखेका थिए ।
जिल्लामा पछिल्लो समय विरुवा उत्पादन संगै वृक्षारोपण अभियान तिब्र बन्दै गएको छ । स्थानीय तहहरु संगै डिभिजन वन कार्यालय, वनस्पति अनुसन्धान केन्द्र तथा विभिन्न वन समूहले वृक्षारोपण कार्य गर्दै आएका छन् । वृक्षारोपण कार्य पश्चान त्यो ठाउँमा फर्केर पनि नजाने परिपाटीका कारण रोपिएका बिरुवाको संरक्षण हुन नसकिरहेको अवस्था देखिन्छ ।






