काभा महिला भलिबल नेसन्स लिगका उपविजेता खेलाडीलाई तीन लाख


काभा महिला नेसन्स लिग भलिबलमा रजत पदक विजेता खेलाडीले जनही तीन लाख रुपैयाँ नगद पुरस्कार पाउने भएका छन् ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले काभा नेसन्स लिगमा उपविजेता नेपाली टोलीका प्रत्येक खेलाडीलाई तीन लाख रुपैयाँ नगद पुरस्कारका लागि सिफारिस गरेको हो । युवा तथा खेलकुद मन्त्रालयमार्पmत नेपाल सरकारसमक्ष उक्त सफारिस गरेको छ ।
परिषद्को कार्यकारी समितिको बैठकले राष्ट्रिय महिला भलिबल टोलीलाई पुरस्कारका लागि उक्त निर्णय गरेको थियो । राष्ट्रिय खेलकुद विकास नियमावली अनुसार प्रतियोगितामा सहभागी १४ जना खेलाडीले जनही तीन लाख रुपैयाँ पाउनेछन् ।
मुख्य प्रशिक्षकले दुई लाख पाउँदा सहायक प्रशिक्षक, व्यवस्थापक र फिजियोले जनही एक लाख २० हजार नगद पुरस्कार पाउने भएका छन् । गत साउन १७ देखि २३ गतेसम्म सन्चालन भएको प्रतियोगिताको लिगमा नेपालले श्रीलंका, माल्दिभ्स र भारतलाई हराएको थियो । सोही लिगमा इरानसँग पराजित हुन पुगेको नेपालले सेमिफाइनलमा भने इरानलाई नै हराउँदै उपाधि भिडन्त तय गरेको हो । तर, फाइनलमा भने भारतसँग ३–२ ले पराजित भएपछि फेरि नेपाल उपविजेतमा नै सीमित हुन पुग्यो ।
प्रतियोगितामा नेपाल सहित भारत, श्रीलंका, इरान र माल्दिभ्स सहभागी थिए । सन् २०१९ को १३औं दक्षिण एसियाली खेलकुद (साग) मा उपविजेता बनेको नेपाल पाँच वर्षपछि पनि घरेलु मैदानमा भारतसँग बदला लिन असफल भएको हो । सागमा पनि नेपाल भारतसँग ३–२ ले नै पराजित भएको थियो । तर, घरेलु मैदानमा गत हप्ता सम्पन्न काभाको लिगमा नेपालले भारतमाथि ३–२ को जित निकाल्यो । यो जित नै भारतमाथि महिला भलिबलमा नेपालको पहिलो र ऐतिहासिक हो ।






