कर्णाली राजमार्ग २४ सैँ घण्टा खुलाउन माग

कर्णाली राजमार्गको सुर्खेत–जुम्ला सडकमा रात्रीकालीन यातायात संचालन गर्न कालीकोटका नागरिकले माग गरेका छन् । सडकको स्तरोन्नति गर्नुको सट्टा गाडी संचालनमा रोक लगाएर सरकारले नागरिकलाई सास्ती दिएको गुनासो गर्दै यहाँका नागरिकले राजमार्गमा २४ सैँ घण्टा यातायात खुलाउन माग गरेका हुन् । एक दशकअघि बढी सडक दुर्घटना भएको भन्दै सरकारले कर्णाली राजमार्गमा रात्रीकालीन यातायात बन्द गर्ने निर्णय गरेको थियो ।

कालीकोट र जुम्ला जिल्ला प्रशासनको अनुरोधमा सरकारले कर्णाली राजमार्गमा रात्रीकालीन यायातात रोकेको थियो । त्यसयता सुर्खेत–जुम्ला खण्डमा बेलुकी ८ बजेदेखि बिहान ५ बजेसम्म यात्रुबाहक तथा मालबाहक यातायात संचालन गर्न पाइदैन ।

०६८ को भदौमा कालीकोटको वित्तामोड दुर्घटनामा २८ जनाको ज्यान गएपछि रात्रीकालीन गाडी संचालनमा रोक लगाइएको थियो । तर, कर्णाली राजमार्गमा ०६६ चैत्रमा ४२ जनाको ज्यान जाने गरी भएको किटु दुर्घटना बिहान ९ बजे भएको थियो भने १८ जनाको ज्यान गएको खिड्कीज्यूला बस दुर्घटना पनि दिउँसो नै भएको थियो । सरकारले सडक गतिलो बनाउनुको सट्टा गाडी संचालनमै रोक लगाएर कर्णालीबासीलाई अन्याय गरेको अधिकारकर्मी कर्णप्रसाद चौलागाईले बताए ।

‘कर्णाली राजमार्गको स्तरोन्नति गरेर सडक सुर्धानुको सट्टा राति गाडी चलाउन रोकेर दुःख दिने काम भएको छ,’ जिल्ला प्रहरी कार्यालयले गरेको नागरिक सुनुवाइमा मान्म बजारका ब्यवसायी जीवनकुमार शाहीले भने,’ रारा आउने पर्यटकलाई सास्ती भएको छ ।’

उनले काठमाडौंबाटै मान्ममा होटल बुक गरेर आएका पर्यटकलाई दैलेखको पाल्ताडामै राति जान पाइदैन भनेर प्रहरीले आउन नदिएर दुःख दिने गरेको गुनासो पोखे ।’ पहिलेको जस्तो सडक पनि अप्ठेरो छैन,’ मान्मस्थित होटल रोनीका संचालनसमेत रहेका ब्यापारी शाहीले भने, ’मान्ममा रुम बुक गरेका यात्रुलाई बाटोमै अलपत्र पार्ने काम बन्द हुनुपर्छ ।’

उनले कर्णालीबासीलाई सडक फराकिलो र स्तरीय चाहिएकोमा सरकारले गाडी नै चल्न नदिने नियम बनाएर अन्याय गरेको तर्क गरे । उनले मान्म बजारमा पनि प्रहरीले शान्ति सुरक्षाको कारण देखाएर १० बजेपछि हिँडडुल गर्नेको नाम, ठेगाना, हिड्नुको काराण लेख्ने गरेकोप्रति समेत आक्रोश पोखे ।

फागुन लागे यता कालीकोटको बाटो हुँदै रारा जान दैनिक दुई सयदेखि ३ सयसम्म आन्तरिक पर्यटक आउने गर्छन् । सरकारले नै कर्णाली राजमार्गमा रात्रीकालीन यातायात संचालन गर्न नदिएर निश्चित ब्यवसायीलाई पोस्ने काम गरेको सुनाउँदै कालीकोट उद्योग वाणिज्य संघका अध्यक्ष रतनवहादुर शाहीले कर्णाली राजमार्गमा ट्राफिकले कुना काप्चामा बसेर गाडीवालासँग पैसा असुल्ने गरेको बताए ।

‘नियम विपरीत काम गर्नेलाई खुला ठाउँमा बसेर पनि जरिवाना काट्न सकिन्छ,’ उनले भने, ’कोल्टो परेको ठाउँमा लुकेर पैसा असुल्ने काम हुन्छ ।’ आर्थिक मन्दीको बेला राति पनि कर्णाली राजमार्ग सुचारु हुनुपर्ने, मान्मलगायतका बजार केन्द्र राति पनि खोल्न पाउनुपर्ने उनको माग छ ।

उनले कर्णाली राजमार्गमा अनावश्यक चेकजाचको नाममा प्रहरीले यात्रुलाई सास्ती दिने गरेको भन्दै कर्णाली अपराधी बस्ने ठाउँ नभएको जिकिर गरे । कर्णाली राजमार्गमा गाडीवालाले प्रहरीलाई पैसा दिए चल्न पाउने, नत्र दुःख दिने गरेको गैसस महासंघका अध्यक्ष वीरेन्द्रवहादुर बुढाले गुनासो पोखे ।

प्रमुख जिल्ला अधिकारी गणेश नेपाली, जिल्ला प्रहरी प्रमुख अर्जुन केसी र खाडाचक्र नगर उपप्रमुख गणेशवहादुर शाही जवाफदेही वक्ता रहेको नागरिक सुनुवाईमा नागरिकले मान्म बजारको खानेपानी अभाव, स्थानीय तहमा भएका अनियमितता र बेतिथि, बजारमा भएको महँगी, चैत्रदेखि जिल्लाभर लागेको आगलागी लगायतका सवाल उठाएका थिए ।

कर्णाली राजमार्ग २४ सैँ घण्टा खुलाउन माग

मुख्यमन्त्री कँडेलले बोलाए सर्वदलीय बैठक

कर्णाली राजमार्ग २४ सैँ घण्टा खुलाउन माग

बाँकेको राप्तीसोनारीमा झाडापखाला फैलियो, २९ जना बिरामी