दीपा हमालको संघर्षकथा : प्रावि शिक्षकदेखि उपसचिवसम्म


भौगोलिकरूपले विकट कर्णाली प्रदेशमा लैंगिक विभेदको खाडलसमेत गहिरो हुँदा छोरीहरुको शिक्षामा पहुँच अझै पनि सुलभ हुनसकेको छैन । तर छोरीलाई पढाएर के काम भन्ने जमानामा जन्मिएर पनि लेखपढ गर्ने अवसर पाएर सरकारी सेवामा प्रवेश गरी कर्णालीलाई नै कर्मथलो बनाउने महिला हुन् दीपा हमाल । हाल कर्णाली प्रदेशको शिक्षा विकास निर्देशनालयको नेतृत्व सम्हालिरहेकी हमालले प्रावि शिक्षकदेखि उपसचिव हुँदासम्म तय गरेको यात्रा प्रेरणादायी छ । भनिन्छ, संघर्षबिना सफलता असम्भव हुन्छ अर्थात कर्ममा विश्वास गर्नेहरु नै सफलताको असली हकदार हुन्छ । त्यही कर्म र संघर्षको उदाहरण हुन् दीपा हमाल । कृषक ? बुबा हीरालाल र आमा कृष्णाकी पााचौं सन्तान दीपा २०२७ माघ १९ गते वीरेन्द्रनगर–५ चिसापानीमा जन्मिएकी हुन् । प्रावि शिक्षक हुँदै हाल उनी नेपाल सरकारको उपसचिव पदमा कार्यरत छन् । छोरीलाई पढ्ने अवसर दिनुपर्छ भन्ने बुबाको मान्यता र आफ्नो मिहिनेतले यहाँसम्म ल्याइपु¥याएको उनी बताउँछिन् ।
वीरेन्द्रनगरको जन माविबाट २०४३ सालमा एसएलसी गरेपछि उनले तत्कालीन सुर्खेत शिक्षा क्याम्पसबाट बीएड उत्तीर्ण गरिन् । ताहचाल क्याम्पसबाट शिक्षामा स्नातकोत्तर पूरा गरेकी उनी आत्मनिर्भर बन्नुपर्छ भन्ने मान्यताकै कारण २०४६ सालमा प्राथमिक तहको शिक्षकबाट सरकारी सेवामा प्रवेश गरिन् । प्रावि शिक्षकदेखि उपसचिव हुँदासम्म कणर्लीका विभिन्न जिल्लामा बसेर सेवा गरिन् । तत्कालीन मध्यपश्चिमाञ्चल विकास क्षेत्रबाट एक मात्र महिला अधिकृत हुने रेकर्ड बनाएकी दीपा भन्छिन्, ’कर्मचारी संगठनमा समेत महिलालाई कमजोर ठान्ने प्रवृत्तिको सामना गर्नुप¥यो ।’
अझै पनि जातीय विभेद कायमै रहेको हाम्रो समाजमा दीपाले २०५१ सालमै अन्तरजातीय विवाह गरेकी थिइन् । श्रीमान् पूर्णमान श्रेष्ठ सरकारी सेवामै दीपाभन्दा तल्लो तहमा कार्यरत थिए । पूर्णमानलाई नै यो जातिका आधारमा पनि र पदीय आधारमा पनि असमान भएकाले विवाह गर्न सहज नहोला भन्ने लागेको थियो । तर, उनीहरुको प्रेमले जित्यो र परिवारले चाँडै नै सबैकुरा सहज बनाइदियो ।
सरकारी सेवामा ३३ वर्ष पूरा गरिसकेकी दीपाले साक्षरता अभियान, जिल्ला शिक्षा कार्यालय, शैक्षिक तालिम केन्द्रको सफल नेतृत्व गरिसकेकी छन् । प्राप्त जिम्मेवारी कुसलतापूर्वक वहन गर्न सकेकै कारण उनले नेपाल सरकारले प्रदान गर्ने प्रवल जनसेवाश्री पदक, उत्कृष्ट निजामती कर्मचारी पुरस्कार तथा शिक्षाको राष्ट्रिय पुरस्कारसमेत प्राप्त गरेकी छन् । सेवानिवृत्त भएपछि कणर्लीका छोरीहरुलाई सर्वसुलभ शिक्षा, आत्मनिर्भर र महिला सशक्तीकरणको अभियानमा जोड्ने सपना उनले साँचेकी छन् ।





