सूर्यताराले पायो बराहतालमा चुनढुङ्गा उत्खन्ननकाे ठेक्का


खानी तथा भूगर्भ विभागले सुर्खेत पश्चिमको आर्थिक समृद्धिसँग जोडिएको सिमेन्ट उत्पादनका लागि आवश्यक पर्ने कच्चा पदार्थ उत्खनन्को अनुमति दिएको छ । बुधबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको खानी तथा भूगर्भ विभागले सूर्यतारा सिमेन्ट उद्योग प्रालिलाई सिमेन्ट उद्योगका लागि आवश्यक पर्ने कच्चा पदार्थ चुनढुङ्गा उत्खनन्को अनुमति दिएको हो ।
विभागले चुनढुङ्गा उत्खनन् लागि परेका प्रस्तावहरु मध्ये सूर्यतारालाई खनिज पदार्थ नियमावली, २०५६ को नियम २६ (४) बमोजिम उत्खनन्का लागि अनुमति दिएको हो । सूर्यताराले विभागमा खनिज पदार्थ उत्खनन्का लागि एक करोड ११ लाख ११ हजार एक सय एघार रुपैयाँ बरारबरको प्रस्ताव पेश गरेको थियो ।
विभागले अनुमति दिएसँगै सूर्यताराले बराहताल गाउँपालिका वडा नम्बर ७ स्थित लखरपाटामा ९५ हजार हेक्टर जमिनबाट चुनढुङ्गा उत्खनन् गर्न पाउने छ । दुई बर्षभित्रै उत्पादन सुरु गर्ने लक्ष्यसहित २०७७ मा लगानी बोर्डबाट सूर्यताराले उद्योग सञ्चालनका लागि स्वीकृति प्राप्त गरी उद्योग स्थलमा पूर्वाधार निर्माणका प्रारम्भिक कामसमेत सुरु गरिसकेको छ ।
१४ अर्बभन्दा बढीको लगानी लाग्ने अनुमान गरिएको उद्योगलाई लगानी बोर्डले १४ अर्ब २७ करोड ५० लाखको लगानी स्वीकृत यसअघि नै गरिसकेको छ । उद्योग स्थापनाका लागि पञ्चपुरी नगरपालिकामा ४२ बिघा जमिन खरिद गरी उद्योगलाई आवश्कय पर्ने पूर्वाधार निर्माणका कामहरु सुरु भइसकेको सूर्यतारा इन्भेष्टमेन्ट कम्पनीका अध्यक्ष मुकुन्दप्रसाद तिमिल्सेनाले बताए ।
‘केही दिनअघि हामीलाई खानी तथा भुगर्भ विभागले उद्योगलाई आवश्यक पर्ने कच्चा पदार्थ उत्खनन्को अनुमति दिएको छ, यसअघि हामीले उद्योग स्थापना गर्नुपूर्वका कार्यहरु जारी राखेका छौं,’ उनले भने, ‘विभागबाट अनुमति प्राप्त गरेसँगै यसका लागि आवश्यक प्रक्रियाहरु अगाडि बढाउने तयारी गरेका छौं ।’
विभागबाट लगानी र उत्खनन्को अनुमति पाए पनि संघ तथा प्रदेश सरकारले उद्योग र खानीस्थलमा आवश्यक पूर्वाधार निर्माणमा ध्यान नदिदा उद्योग स्थापनाको काम थप्प भएको तिमिल्सेनाले बताए । ‘पछिल्लो समय संघ र प्रदेश सरकारले यस विषयमा चासो दिएका छन्, तर पूर्वाधार निर्माणमा भने ध्यान दिन सकेका छैनन्, अहिलेसम्म पनि पूर्वाधार अभावले उद्योगको काम ठप्प भएको छ,’ उनले भने, ‘अनुमति मात्रै दिएर कहाँ हुन्छ, हामीलाई आवश्यक पर्ने पूर्वाधारहरु निर्माण भए न हामीलाई काम गर्ने वातावरण मिल्ने हो, सडक, विजुली लगायतका पूर्वाधार निर्माण हुने वित्तिकै उद्योग स्थापना हुन्छ ।’
उद्योगले दैनिकदेखि ६० हजार बोरा सिमेन्टका साथै तीन हजार टन क्लिङ्कर उत्पादन लक्ष्य राखेको छ । उद्योग स्थापन भएको खण्डमा स्थानीयस्तरमा प्रत्यक्ष रोजगारी सिर्जना भई प्रभावित क्षेत्रका नागरिकको जीवनस्तर उकास्न मद्दत गर्नेछ ।
अघि बढ्यो पूर्वाधार निर्माणको काम
प्रदेश सरकारले चालु आर्थिक वर्षमा उद्योगका लागि आवश्यक पर्ने चुनढुङ्गा उत्खनन् स्थलसम्म पुग्ने पहुँचमार्ग र विद्युत लाईन विस्तारको काम अघि बढाएको जनाएको छ । पूर्वाधार विकास निर्देशनालय सुर्खेतले कच्चा पदार्थ ढुवानीका लागि १० किलोमिटर सडक निर्माणको काम अगाडि बढाएको हो ।
जसका लागि वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन (इआईए) तयार गरी स्वीकृतिका लागि उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा पेश गरिएको निर्देशनालयका निमित्त निर्देशक रामशरण आचार्यले जानकारी दिए । उक्त प्रतिवेदन स्वकीकृत भएपछि बराहताल गाउँपालिका वडा नं. ७ को लखरपाटादेखि मदनभण्डारी राजमार्गको खम्बागाडेसम्म १० किलोमिटर सडक निर्माण गरिने उनले बताए ।
जसका लागि प्रदेश सरकारले ५० लाख बजेट विनियोजनसमेत गरेको छ । झण्डै एक अर्ब २० करोड लागत अनुमान रहेको सडकको पहिलो चरणमा ट्रयाक खोल्ने, कच्ची नाला निर्माण, टेवा पर्खाल निर्माण, कल्र्भट निर्माण र ग्रावेल बिच्छ्याउने काम गरिने छ । बजेटको स्रोत सुनिश्चितताका लागि फाइल अर्थ मन्त्रालयमा पेस भई सकेको जनाईएको छ । राष्ट्रिय वन क्षेत्रमा निर्माण गरिने सडकमा तीन हजार तीन सय ३७ रुख कटानको अनुमति प्राप्त हुने चरणमा रहेको उनले बताए ।
त्यस्तै, संघीय सरकारले उद्योग सञ्चालनका लागि विद्युत विस्तारको काम अघि बढाएको छ । उद्योगका लागि आवश्क पर्ने विद्युत प्रशारण लाइनका लागि टेण्डर आह्वान भएको छ । नेपाल विद्युत प्राधिकरण प्रादेशिक कार्यालय सुर्खेतले प्रशारण लाइन विस्तारका लागि पाँच करोड बजेटमा टेण्डर आह्वान गरिसकेको नेपाल विद्युत प्राधिकरण प्रादेशिक कार्यालय सुर्खेतले जनाएको छ ।
१४ वर्षदेखि गोलचक्करमा मुक्तिश्री
सिमेन्ट उत्पादनका हिसावले ठुलो सम्भावना बोकेको सुर्खेतको पश्चिम क्षेत्रमा उद्योग स्थापनाका लागि भएको यो दोस्रो प्रयास हो । यसअघि व्यवसायी अजय सुमार्गी अध्यक्ष रहेको मुक्तिश्री सिमेन्ट इन्डस्ट्रिज प्रा.लि. ले आर्थिक बर्ष २०६६–६७ मा सुर्खेतको चौकुने गाउँपालिकामा सिमेन्ट उद्योग स्थापना गर्न खानी तथा भूगर्भ विभागसँग उत्खननको अनुमति लिएको थियो ।
एसियाकै ठूलो सिमेन्ट उद्योग स्थापना गर्ने भन्दै सरकारबाट पटक–पटक सम्झौता नवीकरण गर्दै आएको मुक्तिश्री उद्योग स्थापनाका लागि अनुमति पाएको १४ वर्ष भइसक्दा पनि जग्गा खरिदको गोलचक्कर मै अल्झिएको छ । २०३५ सालमा खानी विभागले चौकुनेमा चुनढुंगा रहेको तथ्य पत्ता लगाएको थियो । सरकारले चुनढुंगा पहिचान गरेको ४२ वर्ष बितिसक्दा पनि उद्योग स्थापनामा कुनै संकेत देखा नपरेपछि स्थानीयहरूमा उद्योग स्थापना हुनेमा विश्वस्त बन्न सकेका छैनन् ।
कारखानामा ७ सय जनालाई रोजगारी दिने र प्रतिदिन ६ सय मेट्रिक्टन सिमेन्ट उत्पादन गर्ने योजनामा रहेको मुक्तिश्री रहेको थियो । तर, सुमार्गीले अहिलेसम्म पनि जग्गा प्राप्त गर्न नसकेको भन्दै लाइसेन्स होल्ड गरेर राखेका छन् । लामो समयसम्म उद्योग स्थापनाले गति लिन नसकेपछि लाइसेन्स रद्द गर्नुपर्ने आवाज स्थानीयस्तरबाट उठ्न थाले पनि निर्माण कम्पनी भने अझै जग्गा खरिदकै गोल चक्करमा छ । सडक र विजुली लगायतका पूर्वाधारहरु नपुगेको भन्दै चौकुने सिमेन्ट उद्योगका नाममा सुमार्गीले वर्षौदेखि लाइसेन्स होल्ड गरेर बसेका छन् ।







