जिवनज्योति स्कुलले शैक्षिक सुधार र व्यवहारिक शिक्षामा विशेष पहल गर्दै : प्रमुख गिरि


सरला सुवेदी ।
बाँकेको कोहलपुरमा रहेको जीवनज्योति स्कुलले शनिबार कक्षा एलकेजी र कक्षा २ का विद्यार्थीका अभिभावकहरूलाई बोलाएर अभिभावक दिवस भव्य रूपमा सम्पन्न गरेको छ। कोहलपुर नगरपालिकाका प्रमुख मानबहादुर गिरिको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा शैक्षिक सुधार, बालबालिकाको समग्र विकास, र अभिभावकहरूको भूमिकाबारे विशेष जोड दिइएको थियो।
कार्यक्रममा प्रमुख अतिथि गिरिले बालबालिकाको समग्र विकासमा अभिभावक र विद्यालय दुवैको जिम्मेवारीलाई जोड दिए। “बालबालिकाको शारीरिक र मानसिक स्वास्थ्य सबल बनाउन उनीहरूको खानपान र आहारविहारमा विशेष ध्यान दिनुपर्ने हुन्छ। उनीहरूलाई कस्तो बनाउने भन्ने कुरा अभिभावककै लालनपालनले निर्धारण गर्छ,” गिरिले भने।
उनले आधुनिक प्रविधिको प्रभावबारे पनि चर्चा गर्दै भने, “जब अभिभावक मोबाइल खेलाउँछन्, बालबालिकाले पनि त्यसैको अनुसरण गर्छन्। त्यसैले, अभिभावकहरूले आफ्ना सन्तानलाई पढाइ लेखाइमा प्रेरित गर्न र राम्रो व्यवहारिक कृत्य देखाउन आवश्यक छ। बालबालिकामा ‘नेपालमै केही गर्नुपर्छ’ भन्ने भावना जगाउन शिक्षक र अभिभावकले पहल गर्नुपर्छ। यसले देशमै जनशक्ति उत्पादन गरी विदेश पलायन रोक्न मद्दत गर्छ।”
कोहलपुर नगरपालिकाले शैक्षिक सुधार र समाज निर्माणमा आफ्नो साथ सधैँ रहने बताउँदै उनले थपे, “देशको विकासका लागि जनशक्ति बलियो बनाउनु आवश्यक छ। यसका लागि विद्यालय तहबाटै सीप, संस्कार र प्रविधिमा आधारित शिक्षा दिनुपर्नेछ। जीवनज्योति स्कुलले यस क्षेत्रमा गरेको प्रयास सराहनीय छ।”

कार्यक्रममा विद्यालयका अभिभावक समितिका अध्यक्ष फुलाराम चौधरीले जीवनज्योति स्कुलले शैक्षिक क्षेत्रमा देखाएको प्रतिबद्धताप्रति अभिभावकहरूको सन्तुष्टिलाई प्रतिबिम्बित गरे। “विद्यालयको सफलतामा अभिभावकहरूको पनि ठूलो भूमिका छ। शिक्षामा संस्कार, सीप, र प्रविधिलाई जोड्न विद्यालयले गरेको प्रयासले जिल्लामै छुट्टै पहिचान बनाउन सफल भएको छ,” चौधरीले बताए।
चौधरीले अभिभावक दिवसजस्ता कार्यक्रमहरूले बालबालिकालाई आफ्नो प्रतिभा प्रस्तुत गर्न उत्साह प्रदान गर्ने र अभिभावकलाई आफ्ना सन्तानको प्रगति नजिकबाट बुझ्ने अवसर दिने बताए। “आमाबुबा दुवै आफ्नो बच्चाको प्रस्तुति हेर्न आउँदा बालबालिकामा थप आत्मविश्वास पैदा हुन्छ,” उनले जोड दिए।
कार्यक्रममा विद्यार्थीहरूले विभिन्न कला र संस्कृतिलाई झल्काउने नृत्य तथा प्रस्तुतिहरू देखाएका थिए। बालबालिकाले अभिभावकको सामु आफ्ना प्रतिभा प्रस्तुत गर्न पाउँदा निकै उत्साहित देखिन्थे। विद्यालयले शिक्षाका साथै व्यवहारिक ज्ञान, संस्कार, र रचनात्मक सोचको विकासलाई जोड दिँदै आएको छ।
अभिभावक दिवसमा विद्यालयले विद्यार्थी र अभिभावकलाई एउटै मञ्चमा राखेर उनीहरूको आपसी सहकार्य र विश्वासलाई बलियो बनाउने प्रयास गरेको थियो। उपस्थित अभिभावकहरूले विद्यालयप्रति आभार व्यक्त गर्दै शिक्षाको गुणस्तर र सुधारको लागि विद्यालयले गरेको प्रयासप्रति प्रशंसा व्यक्त गरे।
जीवनज्योति स्कुलले शैक्षिक गतिविधिलाई थप उत्कृष्ट बनाउँदै कोहलपुरलाई शैक्षिक हबको रूपमा स्थापित गर्न महत्त्वपूर्ण भूमिका खेलिरहेको छ। विद्यालयको शैक्षिक गुणस्तर र व्यवहारिक शिक्षामा दिएको जोडले स्थानीय समाजमा सकारात्मक प्रभाव पारेको छ।
विद्यालय परिवार र अभिभावकबीचको सहकार्यले मात्र शिक्षा क्षेत्रलाई नयाँ उचाइमा पुर्याउन सकिने धारणा व्यक्त गर्दै कार्यक्रम समापन भएको थियो।







