मिडिया काउन्सिललाई अब आमसञ्चार परिषद् बनाइने


राष्ट्रियसभाको विषयगत समितिमा छलफल प्रारम्भ भएको मिडिया काउन्सिल विधेयकलाई आमसञ्चार परिषद् विधेयकका रुपमा अघि बढाउने विषयमा सहमति जुटेको छ ।
राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिको मंगलवार बसेको बैठकमा सांसदहरुले मिडिया काउन्सिल विधेयकको नेपाली नामाकरण गरिनुपर्ने माग राखेपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले मिडिया काउन्सिलको नाम परिवर्तन गर्न सकिने बताएका थिए ।
बैठकमा सांसदहरुले आमसञ्चार परिषद्को पदाधिकारी नियुक्त गरिँदा विषय विज्ञ र स्वतन्त्र व्यक्तिको संयोजकत्वमा गठित समितिले सिफारिसमा गरिनुपर्ने, समग्र प्रेसलाई मर्यादित बनाइने विषय कानूनी रुपमा विधेयकमा समावेश गर्नुपर्ने विचार व्यक्त गरे ।
समितिका सभापति जयन्तीदेवी राईले आमसञ्चार परिषद् सरकारको नियन्त्रणमा नभइ नियमनमा रहने व्यवस्था गरिनुपर्नेमा जोड दिए ।






