मानव सेवा आश्रमको भवन निर्माणका लागि सुर्खेतमा महायज्ञ


कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११ मा आश्रयविहीनहरूको सहायताका लागि एक विशेष महायज्ञ आयोजना हुँदैछ । यहि मंसिर २१ देखि २८ गतेसम्म सञ्चालन हुने यो महायज्ञ खुल्लामञ्चमा गरिनेछ । मानव सेवा आश्रमको भवन निर्माणका लागि आवश्यक रकम संकलन गर्ने उद्देश्यले महायज्ञको आयोजना गरिएको हो ।
महायज्ञका संयोजक डा. नवराज केसीका अनुसार, भवन निर्माणका लागि गंगामाला धार्मिक वन तथा देउती बज्यै सामुदायिक वन समितिले २९ बिघा जग्गा उपलब्ध गराएको छ । भवन निर्माणका लागि आवश्यक पूँजी जुटाउन महायज्ञ आयोजना गरिएको हो ।
मानव सेवा आश्रम हाल वीरेन्द्रनगर नगरपालिका–१२ मा रहेको भाडाको घरबाट सेवा सञ्चालन गर्दै आएको छ । २०७५ माघ १८ मा स्थापना भएको यो आश्रमले हालसम्म ४०६ जना बेसहारा व्यक्तिहरूको उद्धार गरेको छ ।
मानवसेवा आश्रमका संस्थापक रामजी अधिकारीका अनुसार, भवन निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भइसकेको छ । चालु आर्थिक वर्षमा कर्णाली प्रदेश सरकारले भवन निर्माणका लागि १ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । तर, उक्त रकम अपुग हुने भएकाले महायज्ञबाट थप रकम जुटाउने प्रयास भइरहेको छ ।
महायज्ञमा प्रमुख कथावाचकका रूपमा भागवत भाष्कर कमलनयन गौतम रहनेछन् । सात दिनसम्म चल्ने कार्यक्रममा धार्मिक तथा सांस्कृतिक गतिविधिहरूको विविध प्रस्तुति हुनेछ ।
कार्यक्रममा राष्ट्रियस्तरका कलाकार मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य,आने छोईङ डोल्मा र संगीतकार सन्दुक रोइतलगायतका व्यक्तित्वको उपस्थिति रहनेछ ।
मानव सेवा आश्रमले २०८२ सालसम्म नेपाललाई सडक आश्रित मानवमुक्त राष्ट्र घोषणा गर्ने लक्ष्य लिएको छ। संस्थापक रामजी लामिछानेका अनुसार, २०६९ सालदेखि आश्रमले बेसहारा व्यक्तिहरूको उद्धार गरी मानवोचित व्यवस्थापन गर्दै आएको छ । अहिलेसम्म १०,६८७ भन्दा बढी व्यक्तिको उद्धार गरी सुरक्षित व्यवस्थापन गरिसकिएको बताइएको छ ।
आश्रमको प्रयासले नेपालमा कोही पनि व्यक्तिलाई भोकै वा नाङ्गो बस्न नपर्ने वातावरण बनाउने योजना छ ।
यो महायज्ञ केवल एक धार्मिक आयोजनामा सीमित नभई, मानवसेवा, सामाजिक उत्तरदायित्व, र सहअस्तित्वका मूल्यहरूको प्रवर्द्धन गर्ने अभियानको रूपमा प्रस्तुत भएको छ । यसको सफलताले कर्णाली प्रदेशमा मात्र नभई, सम्पूर्ण देशमा मानवता र सहयोगको भावना फैलाउने विश्वास गरिएको छ ।






