सम्पादकीय : वीरेन्द्रनगरले अरु हाटबजार बनाओेस्

वीरेन्द्रनगर–६ हटियालाइनमा सञ्चालित तरकारी हाट बजारमा यहाँको स्थानीय उत्पादनले स्थान पाउँदैनन् । सयौंको संख्यामा राखीका सटर कवलमा ९० प्रतिशत तरकारी भारतबाट आयातित तरकारी तथा फुलफुलनै हो । स्थानीय कृषक तथा व्यापारीले बेच्नका लागि त्यही हाटबजारभित्र गाइवस्तु थुन्नेगरी बनाइएको एउटा सानो ट्रस्ट छ त्यही ट्रस्टमा विहान ५ बजेदेखि ६ बजेसम्म एक घण्टा मात्रै कृषकले आफ्ना उत्पादन ल्याएर त्यहीबाट विक्रि गर्ने गरेका छन् ।
यहाँ उत्पादित तरकारीहरु बारीमै कुहिएका हुन्छन, डोकोमा डुलाएर बेच्ने पनि भारतबाट आयातित उच्च विषादीजन्य तरकारी नै हुन । स्थानीय उत्पादीत तरकारी तथा फलफुल डोकोमा राखेर बेच्न पनि कृषकलाई गाह्रो भैसकेको छ । स्थानीय उत्पादन हो भन्दा पनि खरिदकर्ताले नपत्याउने अवस्था छ किन कि धेरैजसो डोकामा व्यापार गर्नेहरुले पनि भारतबाट यहाँका ठूला मण्डीवालाले ल्याएको तरकारी कुरेर बस्छन र त्यही डोकोमा लिएर शहरका कुना कन्दरा पुगेर बिक्री गर्छन् र साँझमा बिक्री नभएको तरकारी पुनः उही मण्डीले फिर्ता लिइदिने भएकोले डोकोमा व्यापार गर्नेहरुका लागी पनि घाटा लाग्ने सम्भावना कम भएकोले उनीहरुले पनि त्यही काम गर्न थालेको देखिन्छ ।
यसरी स्थानीय उत्पादीत मौसमी तथा बेमौसमी तरकारी र फलफूल वीरेन्द्रनगरको वीरेन्द्रचोकदेखी खोर्के जाने बाटोमा केही पाईन्छ । त्यो स्थानमा सडकको फुटपाथ भएकोले अलि अशुरक्षित र धुलो धुवाँका कारण व्यापारिहरुलाई गाह्रो हुने गरेको छ । तरकारी बजार त छ तर त्यहाँ स्थानीय उत्पादनले स्थान नपाउनु दुखद् कुरा हो ।
व्यापारीहरु नाफा कमाउन बसेका हुन स्वास्थ्यका लागी हानीकारक तरकारी तथा फलफूल सकभर नबेच्नुपर्ने उनीहरुको पनि सामाजिक उत्तरदायित्व हो ? तर व्यापारीलाई नाफा र नेतृत्वलाई कमिसन भए अरु सब चल्ने हाम्रो यो देशमा कसको भर पर्नु र खै ? नभए त कोरोनाकालमा बाह्य कुनैपनि तरकारी र फलफूलजन्य कुराहरु आएको थिएन मानिसहरु घरको छत र भएको थोरै जमिनमा समेत तरकारी खेती गरेर आफ्नो लागी खाने र कतिले त बेच्ने समेत गरेका थिए ।
त्यो अव किन सम्भव नहुने हो र ? भारतबाट आउने तरकारी र फलफूलको कि त विषदी जाँच गरेर मात्र विक्रि, बितरणको लागी अनुमती दिनुपरो भने कि त निर्यात नै गर्न रोक लगाउनु पनि एउटा उपाए होईन र ? हरियो सागसव्जी खाने नाममा स्वास्थ्यका लागी हानीकारक चिज खाएको कसले देखेको छ र ? कसलाई त्यो विषयमा चासो दिने ? के राज्यको दायित्व हुदैन नागरिकको स्वास्थ्य प्रति ? जे पनि दिने सरासर सरकारले नागरिकलाई स्लो पोईजन खुलेआम बेचेको छ र नेतृत्वले समेत त्यही खाने गरेको हेक्का कसलाई हुने ? खाली कमिसनको चक्करमा नागरिकको स्वास्थ्यमा यसरी खेलवाड गर्न पाईन्छ ? स्थानीय सरकार आफैमा नीति नियम बनाएर आफ्नो स्थानीय तह चलाउने अधिकारसम्पन्न निकाय हो यसले यो विषयमा के नीति बनाएको छ र त्यो कार्यान्वयनको पाटो कस्तो छ ? आजसम्म बेखवर छन् आम वीरेन्द्रनगरबासी ।
विषादी रहित स्थानीय उत्पादीत चिजहरु पाकेको धेरै दिनसम्म पनि चाउरिन्छ तर कुहिँदैन तर विषादी हालेको भारतबाट आयातित तरकारी तथा फलफूल भने किनेको १÷२ दिनमै कुहिन्छ । यसरी तरकारी आफै समेत यति छिटो कुहिनेगरी हालेको विषादीले मानव स्वास्थ्यमा कति हानि गर्छ होला ? तर आँखाले नदेखे हेर्दा राम्रो भए उसै राम्रो ।
वीरेन्द्रनगरमा उत्पादित स्थानीय तरकारी, फलफुलको वजारीकरणमा वीरेन्द्रनगर नगरपालिकाले के गरेको छ अहिलेसम्म ? अलिअलि कमिसनको चक्करमा गरेको काम पनि उपयुक्त नहुँदा त्यत्तिकै गौचरण बनेको छ ? प्रभावकारी अध्ययन नगरी नागरिकले तिरेको कर जता पनि दुरुपयोग गरिदिन मिल्छ ? लगानी नगरिकन पनि व्यवस्थापन गर्न मिल्ने उपाए सोच्ने गुदी भएका नेतृत्व भए त अर्कै हुने थियो त्यति अपेक्षा पनि नगरौं होला ।
तरकारी विक्रि स्थल हाट बजार अब वीरेन्द्रगरको बजारमा मात्रै केन्द्रीत गर्नुहुँदैन । यसलाई समेत विकेन्द्रित गर्दै सुब्बाकुना, धुलियाविट, पिपिरा, एर्पोटचोक, खजुरा, यरिचोक, बाङ्गेसिमल, रेडियो नेपाल, मसुरीखेत, नेवारे, इत्राम, लाटीकोइली जस्ता पायक पर्ने र जनघनत्व बढी भएका केही महत्वपूर्ण ठाउँमा स्थानीय तरकारी तथा फलफुल विक्रि तथा प्रदर्शनी स्थल निर्माणमा ध्यान दिन जरुरी छ ।
कृषि प्रदर्शनी स्थल निर्माण गरी स्थानीय उत्पादन गर्ने कृषक र व्यापारीहरुलाई त्यही मार्फत आफ्ना उत्पादनको प्रदर्शनी र विक्रि गर्ने व्यवस्था गर्न सके र आयातित तरकारी र फलफूल बन्द गरेमा कृषि प्रदान देश नेपालको साख र वीरेन्द्रनगरका कृषिमा आवद्ध कृषक समेत यसमा अवसर देखेर कृषि उत्पादनमा युवा समेत सहभागी भएर विदेश पलाएन हुने सङ्ख्यामा कमी समेत आउने थियो कि ?





