३४ औँ राष्ट्रिय पुरुष भलिबल सुर्खेतमा हुने

वीरेन्द्रनगरमा ३४ औँ राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता सञ्चालन हुने भएको छ । नेपाल भलिबल संघको आयोजनामा पुष २० देखि २६ गतेसम्म प्रतियोगिता सञ्चालन हुने भएको हो । प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टिमको सहभागिता रहने आयोजकले जनाएको छ ।

कर्णाली प्रदेश सरकारको आर्थिक सहयोगमा उक्त आयोजनामा कर्णाली प्रदेश भलिबल संघको व्यवस्थापन रहेको छ । नेपाल भलिबल संघको संखुवासभामा भएको अधिवेशनले प्रतियोगिता सुर्खेतमा आयोजना गर्ने निर्णय गरेको थियो । सोही अनुसार सुर्खेतमा राष्ट्रिय भलिबल आयोजना गरिएको कर्णाली प्रदेश भलिबल संघले जानकारी दिएको छ ।
यो खेलबाट नेपालको लागि राष्ट्रिय टिम छनोट हुने जनाइएको छ । खेलाडीको गाँस र बासको व्यवस्थापन प्रदेश भलिबल संघले गर्ने बताइएको छ । खेलका लागि आवश्यक तयारी अन्तिम चरणमा पुगेको छ ।






