प्रहरी चौकीमा ११ वटा बेवारिसे मोटरसाइकल थन्किए

दक्षिणी क्षेत्रका दुई वटा प्रहरी चौकीमा ११ वटा मोटरसाइकल बेवारिसे अवस्थामा थन्किएका छन् । प्रमाणबिनै सञ्चालन गरिँदै आएका ती मोटरसाइकल स्थानीय प्रहरी चौकी बालुकुना र प्रहरी चौकी सर्केगार्ड स्थानमा विभिन्न मितिमा नियन्त्रणमा लिइएका मोटरसाइकल प्रहरी चौकीमा बेवारिसे अवस्थामा रहेका हुन् ।
प्रहरी कार्यालय हुम्लाले विभिन्न मिति र स्थानबाट प्रमाणबिनै सञ्चालन भएका जफत गरिएका मोटरसाइकलको हकदावी गर्न ताकेता गरेको छ ।
पहिलो पटक यसरी सूचना जारी गरेर बेवारिसे मोटरसाइकलको हकदावी गर्न आह्वान गरिए पनि कोही पनि हकदावी गर्न नआएपछि पुनः अर्को सूचना जारी गरेर ताकेता गरिएको हो ।
प्रहरी निरीक्षक नरेन्द्र चन्दका अनुसार पहिलो पटक बेवारिसे मोटरसाइकलको हकदावीका लागि कार्यालयबाट १५ दिने सूचना जारी हुँदा एक जनाबाहेक अन्य कोही नआएपछि पुनः अर्को सूचना जारी गरिएको छ। प्रहरीले पहिलो पटक माघ २९ गते १५ दिने सूचना जारी गरेको थियो ।
उनले सो अवधिमा एक जनाबाहेक कोही पनि दावी पेश गर्न नआएपछि पुनः दोस्रो पटक सात दिने सूचना जारी गरिएको हो ।
यी मोटरसाइकल प्रहरीले आफूसँग रहेका बेवारिसे मोटरसाइकल ०७९ साल चैत ११ गतेदेखि ०८० साल मंसिर ३ गतेसम्म जिल्लाका विभिन्न स्थानबाट नियन्त्रणमा लिएको थियो । हाल जिल्लाका विभिन्न स्थानबाट लाइसेन्स र नम्बर प्लेट नभएको मोटरसाइकल ११ थान छन् ।
ती बेवारिसे मोटरसाइकल सर्केगार्ड प्रहरी चौकी अस्थायी प्रहरी चौकी बालुकुना तुम्चमा प्रहरीले राख्दै आएको छ । मोटरसाइकलको अवस्था भने राम्रो छ। दोस्रो सूचना अवधिमा पनि कोही हबदावी गर्न नआएमा प्रहरीले नियमानुसार लिलाम बिक्रीको प्रक्रिया अगाडि बढाइने भएको छ ।






