जुम्लामा मह बिक्रीबाट वार्षिक २४ करोड आम्दानी

पातारासी गाउँपालिका–७ का टेकबहादुर बुढाले लम्पी स्किन रोगले सबै गाईगोरु मरेपछि गत वर्षबाट मौरीपालन थालेका थिए । ४० हजार लगानी गरेर पाँचवटा मौरीका घार खरिद गरेका उनीसँंग अहिले एउटा घार पनि छैन । उमेरले पाँच दशक नाघिसकेका बुढाले दुहुना गाई र खेत जोत्ने गोरु मरेपछि सहज व्यवसायका रूपमा मौरीपालन गरे पनि उनलाई फापेन ।

लम्पी स्किन रोगले गाई गोरु सखाप ग¥यो, चरण क्षेत्र अभाव र अज्ञात रोगले मौरी । उनी भन्छन्, ‘सहज होला भनेर मौरीपालन गरें । तर एक वर्ष नबित्दै पाँचवटै घार रित्तिएर आम्दानीमात्र खोसिएको छैन । अब केही गर्ने जाँगर नै हराएको छ । रोग कीरा संक्रमण हुँदा, आपतविपद् पर्दा सहयोग गर्ने, सल्लाह सुझाव दिने कुनै सहयोगी निकाय नहुँदा व्यवसायमा फाइदाभन्दा जोखिम बढी छ ।’

त्यस्तै चन्दननाथ नगरपालिका–३ का बालकृष्ण उपाध्यायसँग पनि एक वर्ष पहिलेसम्म २५ वटा मौरीका घार थिए । मह बेचेर वार्षिक मनग्य आम्दानी पनि गर्दै आएक थिए । तर चरण क्षेत्र अभावले होकी, कुनै रोग लागेर १८ वटा घारका मौरी एकाएक मरेर अहिले सातवटा घार मात्रै बाँकी छन् ।

उनी भन्छन्, ‘अज्ञात रोगले मौरी पालनमा ठूलो क्षति गरेपछि आम्दानी खोसिएको छ । २५ घार मौरीमध्ये अहिले सातवटा मात्रै छन् । मौरी निस्क्रीय हुँदै जाने, मौरी र पोला दुवै कालो हुँदै जानेजस्ता लक्षण देखिएका छन् । कसरी रोग निवारण गर्ने होला ? केही थाहा छैन । व्यवसायबाट हात धुनुको विल्कप रहेन ।’

टेकबहादुर बुढा र बालकृष्ण उपाध्यायजस्तै जुम्लाका सयौ मौरीपालन कृषकका मौरी धमाधम मर्न थालेपछि चिन्तित बनेका छन् । मौरीले परागशेचन गर्ने अर्थात् फूल फुल्ने सिजनमै मौरी मर्न थालेपछि जुम्लामा मौरीपालन किसान र सरोकारवालाबीच बुधबार बृहत् छलफल गरिएको छ । जुम्लामा हिउँदको समय प्रायः चिसोले मौरी मर्ने गरेका छन् । तर पछिल्लो वर्षमा सबैभन्दा परागशेचन गर्ने मौरीले मह बनाउने सिजन जेठदेखि साउनको अवधिमा मर्न थालेपछि छलफल गरिएको हो ।

छलफलमा मौरी विज्ञ सत्तानन्द उपाध्यायले जुम्लामा अरुभन्दा चरण क्षेत्र अभावकै कारण मौरीपालन संकटमा परेको बताए । उनले भने, ‘जुम्लामा मौरीका लागि पर्याप्त चरण क्षेत्र छैन । स्थानीयले फलफूल जन्य बाली रोप्नै छोडिसकेका छन् । हामीले मह निकाल्दा मौरीलाई चाहिने आहारा नै नछोड्ने रित्याउने गर्दा पनि मौरीपालन संकटमा छ । साथै रोगको संक्रमण पनि देखिन्छ । यसको निवारण गर्न विज्ञ टोली ल्याउनै पर्छ ।’

केही वर्षअघि जुम्लामा आएको एक विज्ञ टोलीले पनि जुम्लामा चरण क्षेत्र अभावकै कारण मौरी पालन संकटमा परेको बताएका थिए । किसान भने चरण क्षेत्र अभावले मात्रै मौरी मरेका हुन् भन्ने पक्षमा छैनन् । विज्ञ टोली ल्याएर अध्ययन तथा हरेक वर्ष मौरी मर्ने रोगको निवारण हुनुपर्ने बताउँछन् ।

जुम्लामा वार्षिक २४ करोड भित्रिँदै
जुम्लामा मौरीपालनबाट वार्षिक २४ करोड भित्रिने गरेको छ । मौरीपालन निरन्तर संकटमा परे पनि वार्षिक २४ करोड रुपैयाँ मह बेचेरमात्रै जुम्लाको आम्दानी हुने गरेको छ । जुम्लामा २०६३ सालदेखि कर्णाली मौरीपालन सहकारी संस्था छ । जसले मौरीपालक किसानको हकहितमा काम गर्दै आएको छ । मौरी पालनबाट वर्षेनी करोडौं आम्दानी गर्दै आएको जुम्लाले महलाई लेबलिङ प्याकेजिङ गरेको खण्डमा विश्व बजारमा माग बढ्ने देखिन्छ । हाल प्रतिमानाको १५ सयसम्म बिक्री हुने गरेको छ । माग बढे पनि उत्पादन घट्दै गएको छ ।

तर जुम्लामा हालसम्म एकिन मौरी पालक किसान र मौरी घार कति छन् भन्ने तथ्यांक छैन । तर अनुमानित जुम्लाका आठै पालिकामा आठ हजार मौरीका घार रहेका छन् । जुम्लामा रहेका आठ सय मौरी घारबाट उत्पादित मह बिक्रीबाट वर्षमा अनुमानित सरदर २४ करोड आम्दानी हुने गरेको कर्णाली मौरीपालन सहकारी संस्थाका सचिव नायारण चौलागाईंले बताए । उनका अनुसार मौरीपालनमा ७५ प्रतिशत क्षति हुँदा पनि वार्षिक रूपमा मह बेचेर जुम्लामा २४ करोड भित्रिने गरेको छ ।

मौरीपालनबाट वर्षेनी करोडौं भित्रिँदै आएको र अझै आम्दानी बढाउने सम्भवाना भए पनि चरण क्षेत्र अभावले समस्या निम्तिँदै गएको कृषि विकास कार्यालयका योजना अधिकृत लछिराम महतले बताए । मौरीपालनलाई बढवा दिन हरेक किसानले अनिवार्य ढटेलोको विरुवालगायत अन्य फूल फुल्ने अन्न लगाउन जरुरी छ । कर्णाली मौरीपालन सहकारी संस्थाले जिल्लाभरि मौरीपालन बढाउन स्थानीय तहलाई दबाब दिने सहकारीका अध्यक्ष दिपबहादुर मल्ले बताए ।

प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले मौरीपालन व्यवसायमा देखिएको समस्या समधान गर्न मौरी अनुसन्धान केन्द्र गोदावारीबाट विज्ञ ल्याउन पहल गर्ने बताए । साथै छलफलबाट जुम्लामा विज्ञ बोलाउने, आठै पालिकामा मौरी पालन क्षेत्रमा लगानी गर्ने नीति बनाउन दबाब दिनेलगायतका निर्णय भएका छन् ।-कारोबार

जुम्लामा मह बिक्रीबाट वार्षिक २४ करोड आम्दानी

प्युठानमा एकै परिवारका तीनजनामा हैजा संक्रमण

जुम्लामा मह बिक्रीबाट वार्षिक २४ करोड आम्दानी

लिट्मस केबल्सको “पावर पार्टनर्स मीट २०८१” सम्पन्न