जुम्लाका किसानलाई स्याउ बगैँचा व्यवस्थापनको चटारो


जुम्लाका किसान आजभोलि स्याउ बगैँचा व्यवस्थापन कार्यमा जुटेका छन् । पुसको पहिलो सातादेखि माघको अन्तिम हप्तासम्म जुम्लाका किसानलाई स्याउ बगैँचा व्यवस्थापनमा भ्याइनभ्याई हुने गर्दछ । हिमा गाउँपालिका–३ का किसान गोपाल रोकायाले स्याउ बोटको काँटछाँट तथा यसको व्यवस्थापनमा आफूहरू जुटेको बताए । उनको सात सय विरुवा फल्ने छन् ।
१२ हजार बर्गमिटर क्षेत्रफलमा स्याउका बिरुवा रोपेका छन् । बगैँचा व्यवस्थापनमा किसानले ध्यान नदिँदा स्याउका बोटले राम्रो र गुणस्तरीय फल दिन नसक्ने भएकाले व्यवस्थापन अनिवार्य गरिएको सिंजा गाउँपालिका–६ का वडाध्यक्ष लालबहादुर बुढाले बताए ।
बगैँचा व्यवस्थापन कार्यका साथै खेर गएका र बाँझो जग्गामा समेत नयाँ बिरूवा लगाउने समय समेत सुरू भइरहेको छ । जुम्लाका ८ वटै स्थानीय तहका स्याउ किसान यतिखेर खेतबारीको स्याउ बगैँचामा स्याउ कटिङमा लागि परेको स्थानीय तहका कृषि शाखा जुम्लाले जनाएका छन् । धेरैजसोलाई प्राविधिक ज्ञान नहुँदा बगैंचा काँटछाँट तथा व्यवस्थापन किसानले राम्रोसँग नगरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाई जुम्लाका निमित्त कार्यालय प्रमुख खेमराज शाहीले बताए ।
उनका अनुसार जुम्लाका कृषकलाई हिजोआजा स्याउ बगैंचा व्यवस्थापनको चटारो चलिरहेको छ । स्याउलाई गुणस्तरीय बनाउनका लागि कृषि विशेषज्ञ प्रविधिक टोली र स्याउ सुपर जोन कार्यालयको टोलीले यहाँका स्याउ किसानका बगैंचामै पुगेर स्याउ बगैँचा काटँछाँटदेखि स्याउ व्यवस्थापन गरिने उनले बताए ।

बिरूवा लगाउन पहिले खाडल खन्दादेखि नै ध्यान दिन कृषि विज्ञले सुझाव दिएका छन् । खाडल खन्दा एउटादेखि अर्को स्याउको बिरूवासम्म ६ मिटरको दूरी आवश्यक हुने कृषि विकास कार्यालय जुम्लाका प्रमुख बालकराम देवकोटाले बताए ।
खाडल खन्दा निस्किएको माथिल्लो सतहको माटोमा २० केजी कम्पोष्ट, रासायनिक मल र माटो उपचार गर्ने विषादी राम्रोसँग मिसाएर बिरूवा लगाउन उपयुक्त हुने उनी बताउँछन् । दाना टिपेर पात झरेर रित्ता बनेका स्याउका बोटबाट अनावश्यक हाँगा हटाउने, जरामा मल राख्ने, गोडमेल र सिंचाइ गर्ने काममा कृषक जुटेका हुन् ।
भदौअसोजमा स्याउको दाना टिप्ने गरिन्छ । फूल खेल्नु र हिउँ पर्नुअघि नै बगैंचा व्यवस्थापन गर्न जुटेका हुन् । हिउँ पर्ने समयमा स्याउ बगैंचाको उचित व्यवस्थापन गर्दा उत्पादन र गुणस्तर सुधार गर्न सकिन्छ । पुस र माघमा कृषकले अनावश्यक हाँगा हटाउने गर्छन् ।
रोग किरा फैलिन नदिन सर्वो आयल र बोडो पेष्ट लगाउने गर्छन् । जुम्लाको प्रमुख निकासीयोग्य कृषिउपज स्याउ हो । जरा वरपरको झार हटाएर खन्ने र भेडा, च्याङ्ग्रा, गाई, गोरुको मल हाल्ने गरिन्छ । कृषि प्राविधिकको सल्लाह अनुसार स्याउका बिरूवा रोप्दा र समयमै बगैंचा व्यस्थापनमा गरे गुणस्तरीय फल र बगैंचा राम्रो देखिने पातारासी गाउँपालिका कृषि शाखा प्रमुख रुपक बुढाले बताए ।
उनले फागुन महिनामा स्याउको पालुवा पलाउने भएकाले त्योभन्दा अगाडि नै स्याउका बिरूवा रोपिसक्नुपर्ने बताए । हिउँ परेपछि माटोले छोपेर राखिएको मल मिज्ने र जराबाट बिरुवालाई पौष्टिक तत्व आपूर्ति हुन्छ । स्याउको परागशेचनका लागि माइनस डिग्रीको तापक्रम आवश्यक पर्छ ।
अनावश्यक हाँगा नहटाउँदा उत्पादन र गुणस्तरमा असर गर्छ । दाना साना लाग्छन् । दानाको स्वाद मीठो हुँदैन । पालुवा र कोपिला पलाउनुअगावै स्याउका बोटमा हाँगा काँटछाँट गरिन्छ । स्याउको हाँगा काटेर ग्राफ्टिङ गर्ने सिजन पनि यही हो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको स्याउ जोन, कृषि विकास कार्यलय र स्थानीय तहको कृषि शाखाले कृषकलाई बगैंचा व्यवस्थापनसम्बन्धी बर्षपिच्छे तालिम सञ्चालन गर्दै आइरहेका छन् ।
स्याउका बिरूवा रोप्दा पाकेको गोठेमललाई माटोसँग मिसाएर हाल्दा राम्रो हुनेदेखि स्याउखेतीका लागि सकेसम्म दक्षिणी मोहडा भएको पारिलो जग्गा उपयुक्त हुने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाई जुम्लाका प्राविधिक सहायक पदमराज कार्कीले बताए ।
जुम्लामा चार हजार दुई सय ५० हेक्टर क्षेत्रफलमा स्याउ खेती भइरहेको छ । कृषि विकास कार्यालय जुम्लाको तथ्यांक अनुसार आर्थिक वर्ष २०७८–७९ मा ६ हजार एक सय ७० मेट्रिक टन स्याउ उत्पादन भएको थियो । भने आर्थिक वर्ष २०७७–७८ मा ६ हजार दुई सय १० मेट्रिक टन स्याउ उत्पादन भएको छ ।






