सरकारी सवारी साधन पूर्ण रुपमा बन्द

बालकुमारीमा भएको आन्दोलनका क्रममा दैलेखका सुजन रावत र अछामका वीरेन्द्र शाहको मृत्यु भएपछि शनिबार कर्णालीमा आन्दोलन चर्किन थालेको छ । ‘युवा विद्रोह’ नाम दिएर सरकारविरुद्ध आन्दोलन भइरहेको हो ।
शनिबार प्रदर्शन गर्दै युवाहरुले आइतबार सुर्खेतमा सरकारी सवारी साधन पूर्ण रुपमा बन्द गर्ने घोषणा गरेका छन् ।युवाहरुले आइतबार सुर्खेतमा सम्पूर्ण सरकारी सवारी साधनहरू दिनभर बन्द गर्ने र बाँकी अन्य निजी तथा सार्वजनिक यातायातका साधनहरू दिउँसो १२ बजेदेखि १ बजेसम्म बन्द गर्ने बताएका छन् ।
आन्दोलनमा उत्रिएका युवाहरुले गृहमन्त्री नारायणकाजी श्रेष्ठ र भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालाको राजीनामा माग गरेका छन् । मृतक युवाहरूलाई सहिद घोषणा, पीडित परिवारलाई उचित शिक्षा, स्वास्थ्य, लालनपालनको सम्पूर्ण ग्यारेन्टी राज्यले गर्नुपर्ने पनि युवाहरूको माग छ ।शनिवार जारी विज्ञप्तिमा भनिएको छ, ‘मृतकका आफन्त, शुभचिन्तक र शुभेच्छुकहरूबाट भइरहेको चरणबद्ध आन्दोलनमा यहाँहरूको साथ, सहयोग र समर्थनको अपेक्षा गरिएको छ ।’






