रारा आउने पर्यटकको भिडले चन्दननाथ अर्गानिक मार्केटमा व्यवसाय बढ्यो


हालको समयमा राजु बोहोरा कृषि उत्पादन बिक्रि गर्न व्यस्त भएका छन् । जुम्ला सदरमुकाम स्थित चन्दननाथ अर्गानिक मिनी मार्केट पसलमा उनलाई कृषि उत्पादन बिक्रि गर्न व्यवस्तता बढेको हो ।
ग्रामीण क्षेत्रबाट संकलित अर्गानिक वस्तु बेच्न भ्याइनभ्याइ छ । स्थानीय उत्पादनको संरक्षण, प्रवद्र्धन र बजारीकरणको लागि अर्गानिक मिनी मार्केट खुलेको थियो । यहाँको चन्दननाथ बहुद्देश्यीय सहकारी संस्था लिमिटेड, जुम्लाले मिनी मार्केट खोलेर यहाँ उत्पादित वस्तुको बजारीकरण गर्न थालेको छ ।
अर्गानिक मिनी मार्केट पसलमा जुम्लाका आठ वटै स्थानीय तहबाट कृषि उत्पादन आउँछन् । अहिले पसलमा बाह्य पर्यटकको खुब भिडभाड लाग्छ । मुगुको राराताल घुम्न जाने पर्यटकहरू आइरहन्छन् ।

उनीहरुले स्याउको चाना, सिमी, मार्सी चामल, मकै, ओखर, जिम्बो, फापरको पिठो, कोदो, जौँको पिठो, खरायोको रौंको टोपी, स्विटर र राडिपाखी जस्ता उत्पादन खरिद गरेर लैजान्छन् ।
दसैंको बेलाबढी मुगुको राराताल हेर्ने पर्यटकहरु जुम्ला भएर आउदै गर्दा अर्गानिक उत्पादन खरिद गर्ने गरेको चन्दननाथ अर्गानिक मिनी मार्केटका शाखा प्रमुख राजु बोहोराले बताए । बाह्य पर्यटकहरु कर्णालीको झन् जुम्लाको उत्पादन भन्ने वित्तिकै हुरुक्कै हुन्छन् ।
बोहोराले भने, ‘कतिपय सामान अर्डर अनुसार पठाइने पनि गरेको छ ।’
सहकारी संस्थाले अर्गानिक मिनी मार्केट पसल चन्दननाथ मन्दिरको छेउमै खोलेपछि जुम्लाका सबै ठाउँमा उत्पादन हुने अर्गानिक वस्तुहरु संकलन गर्न समेत सहज भएको छ । ‘उत्पादनको महत्व दर्शाइरहेको छ’, चन्दननाथ सहकारीका व्यवस्थापक ऋषिराम पाण्डेले भने, ‘किसानमा स्थानीय उत्पादन बढाउन हौसला दिइरहेको छ । संस्थाले जुम्लाको अर्गानिक उत्पादन महँगा र ठूला शहरसम्म पु¥याइरहेको छ ।’ जुम्लामा रैथाने उत्पादन हुने कृषि तथा पशुजन्य वस्तुहरु सुपथ मूल्यमा बिक्रि वितरण गरिएको पाण्डेले बताए ।

जुम्लाको सबै ग्रामीण क्षेत्रमा अर्गानिक कृषि उत्पादनको माग अत्यधिक हुने गरेको छ । चन्दननाथ अर्गानिक मिनी मार्केट शाखा प्रमुख बोहोराका अनुसार दैनिक न्यूनतम एक लाख ५० हजार रुपैयाँसम्मको आम्दानी हुने गरेको छ ।
उनले भने, ‘अहिले पुरै पसल रित्तै छ । कर्णालीको धार्मिक पर्यटन गन्तब्य चन्दननाथ र भैरवनाथ मन्दिर मिनी मार्केट अगाडी भएकोले आन्तरिक तथा बाह्य पर्यटकको नजर सिधैँ मिनी मार्केट तिर जाने गरेका छन् । काठमाडौं, चितवन, पोखरा, झापा, बुटवल, सुर्खेत, नेपालगंज लगायतका ठाउँबाट पर्यटकहरु आउछन् । नियमित ८० देखि एक सय ३० जना पसलमा पुग्छन् ।’
पर्यटकहरुले कोशेलीको रुपमा अर्गानिक उत्पादन लैजान्छन् । जुम्लामा पुग्ने सरकारी उच्च अधिकारीहरु, मन्त्रीहरु, सांसदहरु, पालिकास्तरका जनप्रतिनिधिहरु अर्गानिक मिनी मार्केटमा पुगेर अवलोकन गर्छन् । आफूले लैजान चाहेका वस्तुहरु किनेर लैजाने गरेको बोहोराले बताए ।
मिनी मार्केटमा स्याउ, स्याउबाट बनेका विभिन्न परिकार, सिमी, आलु, मकै, कोदो, फापर, मार्सीधान, मार्सीधानको चामल, ओखर ,टिमुर, चिनो ,कागुनो, घ्यु, मह, राडीपाखी लगायतका बस्तु विक्रिका लागि राखिएको छ ।

जुम्लाका किसानले हातले बुनेका खरायो टोपी सबैभन्दा बढी बिक्री हुने गरेको छ । पर्यटकहरुले कोशेलीका रुपमा यो टोपी यहाँबाट लैजाने गरेका छन् । प्रतिटोपी तीन हजार पाँच सय रुपैयाँसम्म पर्छ ।
त्यसैगरी कर्णालीमा पालिएका भेडाहरुको उनबाट बनेको राडीपाखी, लिउ, फेरे, काटेपाखो, मोजा स्वीटर, मफलर पनि मिनी मार्केटमा राखिएका छन् । यी उत्पादन भेडाको उनबाट तयार हुन्छन् । कालो काम्लो प्रतिगोटा आठ हजार रुपैयाँमा बेचिन्छ । जो कर्णालीको लोकल भेडाको उनबाट तयार हुन्छ ।
अल्लोका कपडाहरु पनि पर्यटकहरुले बढी रुचाइरहेका छन् । अल्लोको टोपी, जुत्ता, कोट समेत बिक्रिका लागि राखिएका छन् । अल्लोका सामाग्री न्यूनतम आठ सयदेखि १३ हजार रुपैयाँ सम्मका छन् । अर्गानिक मिनीमा पाइने वस्तुको मूल्यसूची राखिएको छ । किसानबाट खरिद भएको मूल्यमा केही नाफा राखेर मूल्य निर्धारण गरिन्छ ।

अहिले सहकारीमा १८ हजार सदस्य आवद्ध छन् । जसमध्ये १२ हजार सदस्यको अर्गानिक वस्तु मिनी मार्केटमा ल्याउने गरिएको छ । सहकारीले मिनी मार्केट खोलेपछि किसानको अर्गानिक उत्पादन बजार नपाएर थन्किएका छैनन् ।
आगामी दिनमा कृषि व्यवसायमा लाग्नको लागि किसानलाई प्रेरित बनाएको छ । चन्दननाथ बहुद्देश्यीय सहकारीले जुम्लाको सिँजामा विद्यालय समेत सञ्चालन गरेको छ । पातारासी गाउँपालिकमा सुपथमुल्यको पसल र मेडिकल समेत स्थापना छ । त्यसैगरी वीरेन्द्रनगरबाट समेत अर्गानिक पसल सञ्चालन गरेर सेवा दिईएको छ ।





