फुकोट–कर्णाली आयोजना इआइए स्वीकृतिको ढिलाइले समस्या


कालीकोटमा निर्माण हुने फुकोट कर्णाली अर्धजलाशययुक्त जलविद्युत आयोजना वातावरणीय प्रभाव मूल्यांकनमा अल्झिएको छ ।
विद्युत विकास विभागबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय हुँदै वन तथा वातावरण मन्त्रालयमा पुगेको प्रतिवेदन सो मन्त्रालयले स्वीकृत भएको छैन ।
इआइए स्वीकृत नहुँदा अध्ययनका सबै काम सकेर पनि आयोजनाले ‘जेनेरेसन लाइसेन्स’ पाउन सकेको छैन । विद्युत उत्पादन कम्पनीले इआइए प्रतिवेदन स्वीकृतिका लागि करिब नौ महिनाअघि ऊर्जा मन्त्रालय पठाएको थियो ।
ऊर्जाले वन तथा वातावरण मन्त्रालयमा स्वीकृतिका लागि पठाएको दुई महिना पुगिसकेको छ । वन मन्त्रालयले स्वीकृति दिएपछि प्रतिवेदनले अन्तिम रूप पाउनेछ । आयोजनाको विस्तृत डिजाइन र अध्ययन पूरा गरिसकेको आयोजना प्रमुख हिरामान वाइबाले जानकारी दिए ।
‘हामीले सम्भाव्यता, डिटेल डिजाइन, बिडिङ डकुमेन्ट लगायतका काम सकिसकेका छौँ’ उनले भने, ‘इआइए रिपोर्ट स्वीकृति हुने अन्तिम चरणमा छ ।’
२०७५ सालमा आयोजनाको सर्वेक्षणका लागि विद्युत विकास विभागले अनुमति दिएको थियो। कालीकोटमा निर्माण हुने चारसय ८० मेगावाटको फुकोट कर्णाली जलविद्युत आयोजनाको विस्तृत परियोजना प्रतिवेदन डिपिआर चार वर्ष लगाएर तयार भइसकेको छ ।
सन् २०२२ मै डीपीआरको काम सकिएको थियो । डीपीआर र इआइएको काम सम्पन्न भएको आयोजना प्रमुख वाइबाले बताए । तर, इआइए प्रतिवेदन मन्त्रालयमा अड्किएको छ ।
प्रस्तावित आयोजनाको बाँधको दायाँतर्फको भाग सान्नी त्रिवेणी गाउँपालिका वडा ३ मा पर्छ । बायाँतर्फको भाग खाँडाचक्र नगरपालिका वडा ११ मा रहनेछ । मुख्य बाँधको उचाइ जगदेखि एकसय ६० मिटर तथा नदीको पिँधको स्तरबाट एकसय नौ मिटर हुनेछ । बाँधको माथिल्लो भाग क्रेस्टको लम्बाइ तीनसय १३ मिटर र चौडाइ दश मिटर हुनेछ ।
प्रस्तावित आयोजनाका केही पूर्वाधारका काम भने भइरहेका छन् । कार्यालयको भवन निर्माण, गेष्टहाउस निर्माण, वाल निर्माण र पहुँच मार्ग विस्तार लगायतका काम धमाधम भइरहेका छन् । पावर हावस भने यसअघि नै निर्माण गरिसकिएको छ । इआइए स्वीकृत हुनेवित्तिकै ‘जेनेरेसन लाइसेन्स’ का लागि विद्युत विकास विभागमा अनुमतिका लागि निवेदन पेस गर्नेगरी काम भइरहेको छ ।
९२ प्रतिशत जग्गा अधिग्रहणको काम सकिएको छ । दोभान क्षेत्र बाहेकको जग्गा अधिग्रहण गर्ने प्रक्रियामा रहेको छ । हालसम्म करिब नौ सय रोपनी जग्गा अधिग्रहण भइसकेको वाइबाले बताए । जग्गा अधिग्रहणमा ४५ करोड रुपियाँ खर्च भइसकेको छ । आयोजनाका लागि एक हजार ७५ रोपनी जग्गा अधिग्रहण हुनेछ ।
कालीकोटको सानीत्रिवेणी गाउँपालिका–३ सिस्नेगाडामा पाँचसय २० मिटरको परीक्षण सुरुङ खनेर एकसय ६० मिटर अग्लो बाँध निर्माणगरी १३।५ किलोमिटर सुरुङबाट सानीको भौतेगाडामा निर्माण हुने विद्युत् आयोजनामा जोड्ने योजना छ ।
निर्माण सुरु भएको पाँच वर्षभित्र पूरा गरिनेछ । विद्युतको अधिकतम माग हुने समयमा सञ्चालन गर्ने उद्देश्यका साथ यो आयोजना निर्माण गर्न लागिएको हो ।
आयोजना निर्माणको जिम्मा भने भारतीय सरकारी कम्पनीले पाएको छ । नेपालको सरकारी कम्पनी विद्युत उत्पादन कम्पनीले बनाउन लागेको यो आयोजनामा अब भारत सरकारको स्वामित्वमा रहेको एनएचपीसी इण्डिया लिमिटेडको पनि लगानी हुनेछ ।
विद्युत उत्पादन कम्पनी र एनएचपीसी इन्डिया लिमिटेड कम्पनी मिलेर छुट्टै कम्पनी खडागरी सोहीमार्फत आयोजना निर्माणको काम अघि बढाउने तयारी छ ।
एमओयूको मस्यौदाअनुसार एनएचपीसीको ५१ र भीयूसीएलको ४९ प्रतिशत लगानीमा फुकोट कर्णाली आयोजना बनाउने तयारी छ । आयोजनाको ब्याजदरसहित ९२ अर्ब रुपियाँ लागत लाग्ने अनुमान गरिएको छ ।





