उपसचिवमाथि वडाध्यक्षले किन हाने मुक्का ?

सुर्खेत । एक वडा अध्यक्षले उपसचिवलाई मुड्कीले हानेर ढालेको भिडियो सोसल मिडियामा भाइरल छ । भिडियो हालै सार्वजनिक भए पनि घटनाचाहिँ डेढ महिनाअघिको हो । मुक्का हान्ने व्यक्ति सुर्खेतको वीरेन्द्रनगर नगरपालिका– ३ का अध्यक्ष ३२ वर्षे विनोदसिंह विष्ट हुन् । मुक्का खाने व्यक्ति कर्णाली प्रदेश मुख्यमन्त्री कार्यालयका उपसचिव नेत्र कार्की हुन् । नाताले उनीहरू सालाभेना हुन् । तर, आवेगमा उनीहरूले न आफ्नो मर्यादा सम्झिए, न साइनो नै ।

भएको के थियो ?
घटना गत फागुन महिनाको एक शनिबारको हो । सडक स्तरोन्नतिका क्रममा उत्पन्न विवादपछि हात हालाहालको स्थिति बनेको थियो । भिडियोमा अध्यक्ष विष्टसहित वडाका प्रतिनिधिहरू पनि देखिन्छन् ।
सडकलाई १० मिटर चौडा बनाउने वीरेन्द्रनगर नगरपालिकाको नीति छ । सोही नीति कार्यान्वयन गर्न सडकका साँधवालाहरूलाई जनप्रतिनिधिहरूले मनाइरहेका थिए । उपसचिव कार्कीको जग्गामा पुगेपछि सडक ८ मिटर मात्रै थियो । विपरीतका जग्गावालाले १ मिटर जमिन सडकका लागि छोड्न तयार भए । तर, कार्कीले छोड्न नमानेको वडाध्यक्ष विष्ट बताउँछन् । ‘उहाँ (कार्की) अर्कोतिरका जग्गावाला खड्काजीसँग विवाद गर्दै हुनुहुन्थ्यो,’ विष्टले भने ।
विवाद मिलाउन भनेर वडाध्यक्षसहितका जनप्रतिनिधि त्यहाँ पुगे । रिसले तातेका उपसचिवले आवेगका माझ वडाध्यक्षलाई नै घोक्र्याएको भिडियोमा देख्न सकिन्छ । उपसचिवले घोक्र्याएपछि वडा अध्यक्ष आफैँले पुलिस बोलाउन लगाए । तर, उनको आवेग यतिमै मत्थर भएन । वडा सदस्यहरूको भिडमै उनले उपसचिव कार्कीको अनुहारमा मुक्का प्रहार गरे । उपसचिव त्यहीँ ढलेको भिडियोमा देखिन्छ ।
त्यसपछि के भयो ?
सार्वजनिक भिडियोमा त्यसपछिको दृश्य छैन । त्यसपछिको घटना वडा अध्यक्ष विष्टले यसरी सुनाए । ‘प्रहरीमा गइयो । हामी दुवैले आवेगमा आएर हात हाल्न हुँदैनथ्यो । दुवै जनाले आत्मालोचना गर्यौँ अनि मिल्यौँ । त्यसपछि प्रदेश मन्त्रालयमा पनि यसबारे छलफल भयो । मलाई बोलाउनुभयो, गएँ । त्यहाँ पनि अब कुनै तुष नरहने गरी मिलियो । उपसचिवज्यू र म त छिमेकी पनि हौँ । एक किलोमिटरको दूरीमा पर्छ उहाँको र मेरो घर । उहाँ पनि नराम्रो मान्छे होइन । तर, आवेगमा हामी दुवैले गल्ती गरेकै हौँ । नाताले उहाँ मेरो भिनाजु पर्नुहुन्छ । अहिले हामीबीचको सम्बन्ध ठीकठाक छ ।’
उपसचिवको अडान
व्यक्तिगत रूपमा दुई जना मिले पनि विवाद सुरु भएको विषयचाहिँ समाधान भएको छैन । उपसचिव कार्कीले सडकका लागि जग्गा नछोडेको विष्ट बताउँछन् । ‘अघिल्लो नगर सरकारले गर्न नसकेको काम मैले गरिरहेको छु । सार्वजनिक जग्गा मिचेर बनाइएका घरहरूमा डोजर चलाएको छु । सडक फराकिलो पार्ने कामलाई तीव्र पारेको छु,’ उनले भने, ‘यो अभियानमा उहाँ (कार्की) को साथ चैँ पाइएन, उहाँले अझै बाटोका लागि जग्गा छोड्नुभएको छैन । उहाँभन्दा मास्तिरका जग्गावालाले बाटोलाई जग्गा दिइसकेका छन् ।’
भिडियो कसले ल्यायो ?
वीरेन्द्रनगर कर्णाली प्रदेशको मुकाम हो । वडा नम्बर ३ वीरेन्द्रनगरको मुकाम हो । २४ हजारभन्दा बढी जनसंख्या भएको यो वडामा विष्ट एक्ला जनप्रतिनिधि हुन्, जसले एमालेबाट चुनाव जिते । गत स्थानीय चुनावमा वडा नम्बर ३ बाट निर्वाचित चार जना वडा सदस्य सबै कांग्रेसका हुन् । डेढ महिनाअघिको भिडियो हालसालै बाहिरिएको छ । वडा अध्यक्ष विष्टको आशंकामा कांग्रेसकै वडा सदस्यमध्ये कसैले भिडियो बाहिर ल्याएको हो ।
तर एक वडा सदस्य भने वडा अध्यक्षकै सहयोगीले भिडियो बाहिर ल्याएको दाबी गरे । सार्वजनिक भिडियो हेरेर धेरैले वडा अध्यक्ष विष्टको आलोचना गरिरहेका छन् । ‘हात हाल्ने वा झैझडा गर्ने कुरा आफैँमा गलत हो । यसमा आत्मालोचना गरेर हामी मिलिसकेका छौँ,’ वडाध्यक्ष विष्टले भने, ‘आगामी दिनमा यस्तो घटना नहोस्, हामी हुन दिने पनि छैनौँ ।’


