कर्णालीकाे संसदमा पूर्व राजाको नाम आएपछि

सुर्खेत । कर्णाली प्रदेश सरकारले प्रदेशसभामा पेश गरेको कर्णाली प्रदेश विनियोजन विधेयक, २०८० का उद्देश्य, प्राथमिकता र नीतिमाथी छलफल चल्दै थियो । बैठकको प्रारम्भमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संसदीय दलका नेता यामलाल कँडेलले बोले । कँडेलपछि बोल्ने पालो आयो राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद सन्तोषी शाहीको ।

शनिवार वीरेन्द्रनगरमा राजावादीहरुले पूर्व राजा ज्ञानेन्द्रलाई नागरिक अभिनन्दनको कार्यक्रम राखेका छन् । राप्रपा सांसद शाहीले यही सन्दर्भमा आफ्नो लिखित मन्तव्यमा पूर्व राजा र तिनका परिवारको नाम उच्चारण गर्दै कर्णाली प्रदेशसभामार्फत स्वागत गरिन् ।

‘सर्वप्रथम म हाम्रो पार्टी राष्ट्रिय प्रजातन्त्र पाटीको तर्फबाट मिति २०८० जेठ १३ गते कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा सवारी हुन लाग्नु भएका बडामहाराजधिराज सरकार ज्ञानेन्द्र विरविक्रम शाहदेव र बडामहारानी कोमल राज्यलक्ष्मीदेवी शाह, युवराज्ञी हिमानी शाह लगायत मैसुफहरुको भ्रमण टोलीमा सहभागी सबै पाहुनाहरुलाई म कर्णालीमा पार्टीकोतर्फबाट हार्दिक स्वागत व्यक्त गर्न चाहन्छु ।’
शाहीले संविधानले नचिन्ने बडामहाराजधिराज सरकार भनेपछि नेकपा माओवादी केन्द्रका सांसद विन्दमा विष्टले नियामापत्ति जनाए । सभामुख नन्दा गुरुङ्गले विष्टलाई सोधिन ‘के होला मान्यज्यू ।’

विष्टले प्रदेशसभामा नेपालको संविधान र प्रदेशसभा नियामावली भित्र रहेर माननिय सदस्यले धारणा राख्नुपर्ने नियामापत्ति जनाएपछि विष्ट र शाही बिच सवाल जवाफ भयो । ‘सभामुख महोदय हामी यो प्रदेशसभाको सभामा नेपालको संविधान अन्तर्गत रहेर छलफल, बहस लगायतका कार्यक्रमहरु अगाडि बढाइ राखेका छौं । नेपालको संविधानले श्री ५ बडामहाराजधिराज, श्री ५ बडामहारानी भनेर कहि पनि कहिले पनि बुझ्दैन, चिन्दैन, जान्दैन संविधानले नचिनेका नजानेका कुराहरु आज यो हाम्रो सम्मानित प्रदेशसभामा बडामहाराज र बडामहारानी भनेर सम्बोधन हुने र बेलाबेलामा भइराख्ने जो भइ राखेको छ, त्यसमा म यो सम्मानित सभामा मान्य सभामुखमार्फत म आपत्ति व्यक्त गर्न चाहन्छु । यस्ता प्रकारका शब्दवलीहरु यो रेकर्डबाट हटाइयोस् भन्ने अनुरोध गर्न चाहन्छु ।’

जवाफमा राप्रपा सांसद शाहीले भनिन्, ‘यो हाम्रो पार्टी र मेरो आस्थाको विषयवस्तु भएको हुनाले मैले यो विषय प्रस्तुत गरेकी हुँ । र जनताबाट चुनिएर म आज यो सदनमा उभिरहदा मैले मेरो आस्थालाई बोल्न नमिल्ने छ र ? म यो प्रश्न गर्न चाहन्छु, सबैले आफ्नो पार्टीका सिद्धान्तहरुलाई सदनमा बुलन्द आवाज दर्शाउन, तेर्साउन हुुने मैले मेरो पार्टीको आस्थालाई मेरो मुलधारको आस्थालाई मैले बोल्नै नपाउने यो कुन तन्त्रमा लेखिएको छ ? यसको भत्र्सना गर्छु’ भन्दै उनी अगाडि बढिन्, ‘गरिमामय सदनमार्फत मौसुफको प्रदेश राजधानी वीरेन्द्रनगरमा स्वागत गर्न पाउँदा म अत्यन्तै हर्षित भएको छु । विदेशी हस्तक्षेप, भ्रष्टाचार, बेतिथिले आक्रान्त कर्णालीवासी बडामहाराजधिराज सरकारको भ्रमणले…।’

त्यतिकैमा ढ्यापढ्यापसहित हल्लासहितको आवाज सुनिन्छ । सभामुख गुरुङ्गले भनिन्, ‘रोक्नुस मान्यज्यू रोक्नुस् ।’ केहि समयपछि सभामुखले नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीलाई बोल्न आह्वान गरिन् । शाही भन्छन्, ‘नियामापत्ति त अघि मान्य सदस्यज्यूले गरिसक्नुभो । यो सभालाई कतातिर डोर्‍याइँदै छ । सभामुखज्यू नयाँ हुनुहुन्छ । सचिवज्यू पुरानो हुनुहुन्छ । बोल्ने तरिका केहो भन्ने कुरापनि यो सभाले निर्धारण गर्ने हो भने, सभाको मर्यादा कहाँ जान्छ ?’ कांग्रेस नेता शाहीले दोस्रो नम्बरमा एक सिट रहेको राप्रपाका सांसदलाई बोल्न दिएकोमा सभामुखको ध्यानाकर्षण गराए । मुख्यमन्त्री, प्रमुख प्रतिपक्षी दलका नेता, ठुलो दलका नेतापछि अन्य दलको पालो आउने भन्दै यस्ता गल्ती नदोर्‍याउन सचिवालयलाई चेतावनी दिए ।

‘होला कसैको आस्था राख्न पाइन्छ, तर यो सदनभित्र राख्ने आस्थामा त्यो ढङ्गले राख्नु आफ्ना बाहिर गर्ने कुराहरु गर्न पाइन्छ । जब यत्रो कुराहरु आइसकेपछि हिजो पनि यहाँ धेरै कुराहरु भएका छन् । एकले अर्कालाई गाली गर्ने त्यो गर्न पाइदैन, तर यो रोष्टम भनेको बिना राजतन्त्रको रोष्टम हो । जुन दिन राजतन्त्र फर्केर आउला उहाँहरु त्यही दिन बोल्नु होला भन्नुहोला’, शाहीको चेतावनी थियो, ‘अहिले आएर केही नगर्ने र तपाईहरुले यो सिष्टम बिगारी सकेपछि त्यसो हो भने, हामीले किन भाग लिने, यो ठुलो दलको मर्यादामा आघात हो कि होइन । होइन भने हाम्रो नियामावलीमा लेखेको छ त । हाम्रा सिस्टमहरु छन त । यो सदनले सभामुख र सचिवहरुले जे पनि गर्ने हो भने भोलिबाट यो सदन नचल्न सक्छ । हामीले बेलाबेलामा भनेका छौं । बेलाबेलामा सम्झाएका छौं ।’

शाही यत्तिकैमा रोकिएनन्, ‘यो सदन पिपल चौतारी हुँदै होइन । यदि यी कुराहरु रेकर्डबाट मेटिदैनन् भने, हाम्रो उपस्थिती रहदैन । को एकजना बोल्ने हुन् तपाईहरु बोल्नुस् । तपाईहरु बस्नुहोला । हामीहरु बाहिर जान बाध्य हुनेछौं । यस्ता खालका कार्यक्रमहरु फेरिपनि भयो भने, यो सदन नै चल्ने विषयमा पुनरविचार गर्नुपर्ने होला ।’ जीवन शाहीपछि रोष्टममा उभिएकी राप्रपा सांसद शाहीले सभामुखको अनुमति लिदै बोल्न सुरु गरिन् । ‘मैले यो आस्थालाई दर्शाउन मात्र खोजेको हो । राजतन्त्रलाई स्थापना गर्न खोजेको होइन र थिएन । मैले भोलिको कार्यक्रमको जनतालाई आह्वान मात्र गर्न खोजेकी थिए, स्वागतका लागि बधाई दिन खोजेकी थिए । मात्र हो । मैले अरु केही पनि राख्न खोजेकी थिएन । मेरो एउटा आस्थाको विषय र म त्यहीको सांसद भएको हुनाले मात्र यी कुराहरु राख्न खोजेको हो’, कांग्रेस नेता शाहीलाई सांसद शाहीले जवाफ फर्काइन् । उनी पुनः बोल्न थालिन् । त्यतिकैमा ढ्याढ्याप आवाज आउछ ।

सभामुखले के होला मान्य सदस्यज्यू भन्छिन् । त्यसपछि नेकपा एमाले सांसद विनोदकुमार शाहले नियामापत्ति जनाउँछन् । शाह भन्छन् ‘मान्य सदस्यज्यूले नियामापत्ति जनाई सकेपछि त्यसको प्रोसेसमा जानुपर्ने स्थिती हुन्छ । त्यसकारण उहाँलाई बोल्न रोक्नुपर्छ । र तपाईहरुले आफ्नो निणर्य दिएर मान्य सदस्यले माग गरेको कुरालाई पुरा गर्नुहोस् ।’ शाहको उक्त भनाई पछि सभामुख गुरुङ्गले प्रदेशसभा सचिवलाई इशारा गर्दै सासंद शाहीलाई बोल्नबाट रोक लगाइन ।

शाही पुनः बोल्न सुरु गर्छिन् । पुनः म चाही विषयवस्तु तिर आफ्ना भनाईहरु व्यक्त गर्न चाहन्छु ।’ शाहीले केही समय बैठकको विषयमा केन्द्रित भइन् । केही समय बोलेकी शाहीलाई सभामुख गुरुङ्गले बिचमै रोकिन् । सभामुखले सभामा सांसदहरुले उठाएको नियामापत्तिका सम्बन्धमा ध्यानाकर्षण भएको सुनाइन् । नेपालको संविधान, प्रदेशसभा नियामावलीको मर्यादा बमोजिम धारण राख्न छलफलमा भाग लिन आग्रह गरिन् । ‘सभालाई असान्दर्भिक लागेका कुरा नियामावली बमोजिम हुने कुरा रुलिङ गर्दछु’, रुलिङ गराउने सन्दर्भमा सभामुख र सचिवालय अलमलिएपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका संसदीय दलका नेता यामलाल कँडेल सहजिकरण गर्न पुगे ।

‘हाम्रो प्रदेशसभामा नियामापत्ति पहिलो कार्यकालमा भएन । यो सभामा अस्ति र आज यो विषयले प्रवेश पाएको छ । सहयोगका लागि खास गरी सचिवालय अल्मलिएको देख्दा यद्यपी पुरानो साथी हुनुहुन्छ । संघीय संसदको अनुभव पनि छ । अलमल परेको देख्दा फेरी सुझाव दिएर सहयोग गरौ भन्ने कुरा हो । नियामावली हवला दिनै पर्दैन । नियामापत्ति गर्दा जे माग गरिएको छ त्यही कुरा कोड गर्ने हो । कोड गरेर रकेर्डबाट हटाउने कुरा सभामुखलाई उपयूक्त लागेमा हटाउने हो, नम्बर एक, नम्बर दुई एउटा मान्य सदस्यको बारेमा कुरा उठ्दा त्यसैमा गोलमोडल गरेर अरु सबै मान्य सदस्यहरुलाई जोड्ने कुरा उपयूक्त होइन’, उनले भने, ‘जो-जो मान्य सदस्यहरुले नियामावली अनुसार आफ्नो प्रस्तुति र व्यवहार गर्नुहुन्छ त्यो त्यो मान्य सदस्यज्यूहरुलाई कोड गर्ने गरी त्यति त्यति बेला उठ्ने र उठाउने विषय हो । एउटाले गरिरहेको विषयमा सबै मान्य सदस्यहरुले त्यो धारा आकर्षित गरेर रुलिङ्ग गर्ने कुराबाट सुधार गरेर अगाडि बढ्नु पर्ने एउटा अवस्था रहन्छ । जति बेला नियामापत्ति हुन्छ त्यति बेला समय लाग्न सक्छ ।’

त्यसपछि सभामुखले नियामापत्तिको निणर्य सुनाउछिन् र राप्रपा सांसदलाई विषयवस्तुमा रहेर आफ्ना धारणा राख्न अनुमति दिइन् । बजेटका सिद्धान्त र प्राथमिकतामाथीको शुक्रवारको छलफलमा राप्रपा सांसदपछि कांग्रेसका राजिवविक्रम शाहले बोलेका थिए । त्यसपछि माओवादी केन्द्रका विन्दमान विष्ट, एमालेका जितबहादुर मल्ल, कलबहादुर हमाल, नेकपा एकिकृत समाजवादीकी कल्याणी खड्का, कांग्रेसका घनश्याम भण्डारी लगायतका सांसदले आफ्ना धारणा राखेका थिए ।

कर्णालीकाे संसदमा पूर्व राजाको नाम आएपछि

मानवअधिकार रक्षक सम्मेलन सुरु

Leave a comment

Your email address will not be published. Required fields are marked *