पूर्वराजा ज्ञानेन्द्रलाई वीरेन्द्रनगरमा नागरिक अभिनन्दन गरिदैँ

सुर्खेत । पूर्वराजा ज्ञानेन्द्र शाहलाई सुर्खेतको वीरेन्द्रनगरमा नागरिक अभिन्दन गर्न लागिएको छ । शनिवार दिउँसो २ बजे घण्टाघर अगाडिको खुला मैदानमा विशेष समारोहका बिच अभिनन्दन गर्न लागिएको नागरिक अभिन्दन मूल समारोह समितिका संयोजक मुकुन्दश्याम गिरीले जानकारी दिए ।

गिरीका अनुसार पूर्वराजा शाहले कार्यक्रममा सम्बोधनसमेत गर्नेछन् । उनको स्वागतका लागि कार्यक्रमस्थलमा नेपालको झण्डा, र शाहको तस्बिर र स्वागतद्वारले सजाइएको छ । नेपालगन्जमा रहेका शाह दिउँसो २ बजे जहाज चार्टर गरेर सुर्खेत आउन लागेको आयोजकले जनाएको छ ।
संयोजक गिरीका अनुसार कार्यक्रमको सम्पूणर् तयारी भइसकेको छ । अभिनन्दन कार्यक्रम पश्चात् उनी देउती बज्यै मन्दिर र कालिका मन्दिरमा पूजापाठ गर्ने कार्यक्रम रहेको गिरीले जानकारी दिए । पूर्वराजा शाहसहित पूर्व महारानी कोमल, पूर्व युवराज्ञी हिमानी शाह पनि कार्यक्रममा सहभागी हुने जनाइएको छ ।






