गरिब परिचयपत्र वितरण शुरु

सल्यान,१३ माघ ।
सल्यानमा गरिब घरपरिवार परिचयपत्र वितरण शुरु गरिएको छ। जिल्लाको वनगाड कुपिण्डे नगरपालिका–१ बाट गरिब घरपरिवार परिचयपत्र वितरण शुरु गरिएको हो। सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गत स्थानीय तहको समन्वयमा गरिब घरपरिवार पहिचान गरिएको थियो। नगरपालिकाभित्रका १ हजार ४३५ रहेको गरिब घरपरिवार रहेको भनी पहिचान गरिएको बनगाड कुपिण्डे नगरपालिकाले जनाएको छ ।
पहिचान भएका १ हजार ४३५ मध्ये अति गरिब वर्गमा ३३, मध्यम वर्गमा ६९२ र सामान्य गरिबमा ४०५ रहेको मेयर कर्णबहादुृर बुढाथोकीले जानकारी दिए। १ वटा सूचकको आधारमा गरिब पहिचान गरिएको उनको भनाइ छ।
विपन्न तथा गरिबका लागि कार्यक्रम सञ्चालन गरे पनि वर्गाीकरण नहुँदा ती समुदायका लागि सञ्चालित कार्यक्रम प्रभावकारी हुन सकेको थिएन। परिचयपत्र पाउने गरिबलाई आयमूलक कामको लागि सीप सिकाउन, शिक्षा र स्वास्थ्यको ग्यारेन्टी गर्न, खाद्य सुरक्षा सुनिश्चित गर्न सहज हुने बुढाथोकीको भनाइ छ।
परिचयपत्रको आधारमा स्वास्थ्य बिमा, छात्रवृत्ति, सीपमूलक, तालिम सहकारीमार्फत ऋणको कार्यक्रम सञ्चालन हुने नगरप्रमुख बुढाथोकीको भनाइ छ। गरिबी न्यूनीकरण गरी गरिब जनतालाई आर्थिक रूपमा आत्मनिर्भर र सक्षम बनाउन सञ्चालित कार्यक्रम एकद्वार प्रणालीबाट सञ्चालन गर्न यो कार्डले सजिलो हुने सरोकारवालाको बुझाइ छ।
गरिबी निवारणको काम राज्यको प्रमुख दायित्व भएकाले गरिबी निवारणका लागि पर्याप्त बजेट विनियोजन भए पनि सदुपयोग हुन नसकेको टिप्पणी हुँदै आएको थियो । गरिबीका कार्यक्रम नियमन र एकीकृत नहुँदा दोहोरोपनासहित दुरुपयोग हुने गरेको गुनासो आउने गरेको छ।
गरिबी अन्त्य गर्न सरकारले २०५९ सालमा गरिब घरपरिवार पहिचान र परिचयपत्र वितरण समन्वय बोर्ड गठन गरेर गरिबको पहिचान शुरु गरेको थियो ।


