विद्युत् अवरुद्ध, हवाई सेवा सुचारु

जुम्ला,१३ माघ ।
हिमपातले यहाँको विद्युत् सेवा अवरुद्ध भएको छ। मंगलबारदेखि लगातारको हमपातले यहाँको राष्ट्रिय प्रसारण लाइनको विद्युत् सेवा अवरोध हुँदा जुम्लावासी अन्धकारमा बस्न बाध्य भएका छन्।
हिउँ लगातार परेकाले विद्युत् प्रसारण लाइन बनाउन निकै कठिन भएको छ। हिमपातले चन्दननाथ नगरपालिकाको मिचा, तिला गाउँपालिकाको दानसाँघु र कालीकोटको फाईमहादेवका ठाउँठाउँमा विद्युत्का खम्बा र तारमा क्षति पुगेपछि विद्युत् सेवा अवरुद्ध भएको नेपाल विद्युत् प्राधिकरण जुम्ला वितरण केन्द्रका प्रमुख नरेशदत्त रावलले जानकारी दिए।
‘विद्युतमा क्षति पुगेको ठाउँमा कर्मचारी खटाएका छौँ, हिमपातले काम गर्न कठिन भएको छ, कालीकोट र जुम्ला विद्युत् प्राधिकरणका प्राविधिक कर्मचारीले अवरुद्ध विद्युतको काम गरिसकेपछि मात्र विद्युत् सेवा सञ्चालनमा आउँछ,’ उनले भने।
विद्युत् अवरुद्ध भएपछि खलंगालगायत प्रसारण लाइन पुगेका गाउँका ग्राहक प्रभावित भएका छन्। हिमपातका कारण जुम्ला पुरै हिउँले सेताम्य भएको छ। सो हिमपातले हिउँले बालीनालीदेखि स्याउका बिरुवालाई राहत हुने भएपछि किसानलाई राहत भएको कृषि विकास कार्यालयले जनाएको छ।
यसैबीच जुम्ला विमानस्थलमा धावन मार्गको हिउँ पन्छाएपछि हवाई सेवा सञ्चालन भएको छ। लगातारको हिमपातले धावन मार्गमा जहाज बस्न कठिन भएको थियो। बिहीवार बिहानैदेखि सुरक्षानिकायले धावन मार्ग सफा गरेपछि हवाई सेवा सञ्चालन भएको हो।
नेपाल नागरिक उड्डयन प्राधिकरण जुम्लाका अनुसार हिउँ पन्छाएपछि दुईवटा उडान भएका छन्। नागरिक उड्डयन प्राधिकरण जुम्लाका निमित्त प्रमुख राजीव श्रेष्ठका अनुसार हिउँ सफा गरेसँगै हवाई सेवा सञ्चालन भएको हो। जहाज आएपछि तीन दिनदेखि थन्किएका यात्रु आवतजावत गर्न थालेका छन्। बिहीवार विमानस्थल सफाइ गरेपछि समिट एयर र तारा एयरले जुम्लामा उडान भरेका छन्।
त्यस्तै धावन मार्गमा हिउँ जमेपछि बिहानैदेखि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीले धावनमार्गको हिउँ फाल्ने काम गरेका थिए। नेपाली सेना २४ नम्बर वाहिनीका वाहिनीपति सोवेन्द्रसिंह महत, नन्दाबक्स गणका गणपति रविन थापा बिहानैदेखि जुम्ला विमानस्थलको धावनमार्ग खुलाउन खटिएका थिए। तीन दिनदेखि हिउँ परेर नेपालगञ्जमा जुम्ला आउने यात्रु अलपत्र थिए।


