१६ जना चिकित्सक छोडि डाक्टर लिन मुगु उड्यो नेपाल एयरलाइन्सको जहाज

सुर्खेत ।
समिट एयरले मुगुको ताल्चा विमानस्थलमा छाडेका चिकित्सकहरूलाई लिन नेपाल वायु सेवा निगमको जहाज पठाइएको छ । टिकट लिइसकेका चिकित्सकहरूलाई समिटको जहाजले छाडेर नेपालगञ्ज विमानस्थल उडेको थियो । विमानस्थलमा १६ जना चिकित्सक छन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले छुटेका चिकित्सकहरूलाई लिन नेपाल वायु सेवा निगमको जहाज पठाइएको बताए ।
मुगुको ताल्चा विमानस्थलबाट नेपालगन्ज आउने छुटेका चिकित्सकहरूको खबरले दुःखित बनाएको र गन्तव्यमा पु¥याउन नेपाल वायुसेवा निगमको जहाज पठाइएको उनले बताए ।
नेकपा (माओवादी केन्द्र)का उपमहासचिव मातृका यादवसहितका नेताहरूका कारण मुगु विमानस्थल ताल्चाबाट नेपालगञ्ज आउन लागेका १६ जना चिकित्सकहरू त्यहीँ रोकिएका थिए ।
समिट एयरका स्टेसन म्यानेजर महेन्द्र भामले भिआइपीको लागि सिट जरूरी परेकाले पाँच जना चिकित्सकलाई लैजान नसकिने बताएका थिए । त्यसपछि समूहमा रहेका सबै चिकित्सक आउन नमानेका हुन् ।
चिकित्सकहरूलाई त्यहीँ छाडेर विमान मुगुबाट उडिको थियो । माओवादी उपमहासचिव यादवसहित कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाही, प्रदेश अध्यक्ष विमला केसी, धर्मराज शाह र प्रकाशबहादुर शाहीका लागि सिट मिलाउनुपर्ने भएकाले सबैलाई लान नसकिने जानकारी पाएको चिकित्सहरूले बताएका छन् ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मेरूदण्डसम्बन्धी गोष्ठी र अन्तरक्रियाका लागि चिकित्सकको टोली गत शुक्रबार जुम्ला गएको थियो ।






