कर्णालीको लगातार चौथो हार


प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेटमा कर्णाली प्रदेशले लगातार चौथो हार बेहोरेको छ ।
सोमवार कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा भएको खेलमा कर्णाली लुम्बिनी प्रदेशसँग ३० रनले पराजित भयो । लुम्बिनीले दिएको एक सय ३४ रनको लक्ष्य पछ्याएको कर्णालीले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय तीन रनमात्र बनाउन सक्यो । कर्णालीका लागि गौरी बोहराले सर्वाधिक २२ रन बनाइन् । बलिङतर्फ लुम्बिनीकी सरस्वती पुन र कृतिका मरासिनीले समान दुई विकेट लिइन् ।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनीले २० ओभरमा पाँच विकेट गुमाएर एक सय ३३ रन बनायो । लुम्बिनीका लागि कप्तान सरस्वती जीएमले नट आउट ५३ रन बनाइन् । बलिङतर्फ कर्णालीकी यमुना थारु, रश्मी खड्का र तृसना विश्वकर्माले समान एक विकेट लिइन् ।
कर्णालीको चार खेल हार्दै तालिकाको पुछारमा छ । लुम्बिनी चार खेलमा चार अंक जोड्दै तालिकाको पाँचौँ स्थानमा छ ।






