अपाङ्गताका सवालमा एक्येवद्धता


सुर्खेत ।
सुर्खेत स्थित विभिन्न गैरसरकारी संस्थाका प्रतिनिधिहरुले अपाङ्गताका सवालमा एकद्वार तथा समन्वयकारी रुपमा कार्यक्रम सञ्चालन गर्न एक्येवद्धता जनाएका छन् ।
शुक्रवार राष्ट्रिय आदिवासी जनजाती अपाङ्ग महिला संघ, नेपालको आयोजनामा अपाङ्गता भएका व्यक्तिहरुको सवालमा प्रादेशिक संवाद् कार्यक्रमका सहभागीहरुले यस्तो प्रतिवद्धता जनाएका हुन् ।
कार्यक्रममा बोल्दै सिमान्तकृत महिलाहरुका लागि महिला संस्था (वाम) का अध्यक्ष देवी पौडेलले अपाङ्गता सवालमा भएका कामहरुमा ‘डुब्लिकेशन’ नहुनु पर्ने र पीडितले न्यायको महशुस गर्नुपर्ने धारणा व्यक्त गरिन् । त्यसैगरी एकल महिला समूह सुर्खेतका अध्यक्ष ममता नगालले खण्डिकृत तथ्यांकको आवश्यकता रहेको जनाउँदै सोहि अनुसार अपाङ्गता रहेका सबै व्यक्ति, समुदायहरुको लागि गैरसरकारी संस्थाहरु एकजुट भएर लाग्नुपर्ने बताइन् ।
राष्ट्रिय आदिवासी जनजाती अपाङ्ग महिला संघ प्रतिमा गुरुङ्गले अपाङ्गताका सवालमा विभिन्न गैरसरकारी संस्थाहरुले काम गरिरहेको भएपनि आगामी दिनमा भने छाता संगठनका रुपमा अगाढी बढाउनुपर्ने धारणा व्यक्त गरिन् ।






