दशैंः उहिले र अहिले

विजया दशमी भनेपछि विजय जोडिन्छ, विजय भनेको जित हो । त्रेता युगमा रामले लंकामा विजय प्राप्त गरे । पछि पृथ्वी नारायण शाहको दिग्बिजय पनि जोडियो । तर, यसको प्रारम्भ नत मैसाशुुरलाई मारेको कारणबाट हो, न त रावणलाई । नत पृथ्वी नारायणको दिग्विजयको कारणले नै आरम्भ भएको हो । यो त पहिलेदेखि नै चलेको चलन हो । यसको प्रारम्भ भएको नेपालबाटै हो भन्ने थुप्रै प्रमाणहरु पनि भेटिन्छन् ।

शरद ऋतुको सौन्दर्य आएको छ, फूल फक्रेका छन् । प्रकृति सुन्दर भएको छ । त्यही सुन्दरतामा सबैको भेटघाट हुन्छ । रमाइलो वातावरण हुन्छ । अर्को साल पनि यसैगरी भेटघाट होस्, रमाइलो होस भनेर आर्शिवाद दिने गरिन्छ । यसरी दशंै पर्वको आरम्भ भएको पाइन्छ ।

यही अनुसार नै दशैंको धार्मिक महत्व मानिन्छ । विजया दशमीमा दुर्गा भगवतीले दानव माथि विजय गर्ने घटना कालान्तरमा उपस्थित भयो । पहिले दानवहरु माथि विजय गरेपछि मात्र दशंै शुरु भयो भन्ने भनाई पनि त्यति नै सुनिन्छ । पछि दुर्गाले विजय गरेको घटना मिसियो । पछि त्रेता युगमा भगवान रामको अवतार भयो । विजयादशमीकै दिन यात्रा गरेर रामले रावण माथि विजय प्राप्त गरेपछि अर्को प्रसंग थपियो ।

हिन्दु धर्मका हरेक कुरामा संस्कृति, धर्म, विज्ञान सबै जोडिएको हुन्छ । प्रकृति माथिको विजयबाट यो आरम्भ भयो । पछि संयोगले दुर्गादेवीको विजय भयो । दानवहरु असत्य र देवताहरु सत्यको रक्षाका लागि लडेका थिए । आजभन्दा अढाई सय वर्ष अघि पृथ्वीनारायण शाह नेपाललाई एकीकृत गर्ने यात्रामा हिँड्न लाग्दा विजया दशमीको साइतमा हिड्नु राम्रो हुन्छ भन्ने परम्परा बसिसकेकाले अर्को सन्दर्भ जोडिन आयो । उनलाई आमाले चामलको अक्षताको टिका लगाएर बिदा गर्दा टिकाको सन्दर्भ जोडियो ।

पहिलेको दशैं

दशैं शब्द सुन्नासाथ मनमा एक किसिमको उर्जा पैदा हुन्छ । पहिले दशैंको मस्ती नै बेग्लै थियो । नयाँ लुगा लगाउने, मिठा परिकार खाने, हाँस्ने र रमाउने, कति आनन्दको पर्व ! कति उल्लास र उमङ्गले सबैको मन भरिन्थ्यो । जब सोह्र श्राद सुरु हुन्थ्यो तब दशैंका तयारीका लागि गर्नुपर्ने कामको लिस्ट तयार हुन्थ्यो । माटो र इट्टाले बनेको र माथिल्लो तला काठको फलेकले बनेको चिटिक्क घरहरु थिए । सकिनसकी भित्तामा भ¥याङ अड्याएर कुच्चोले कमेरो (सेतो माटो) र रातो माटोलाई छाँट मिलाई–मिलाई लगाउने गरिन्थ्यो । सोह्र श्राद्धबाटै घर शुद्ध र सफा सुग्घर राख्नु पर्छ भन्ने मान्यता थियो ।

चिउरा कुट्ने, बारीमा पाकेको काँक्रोको गालेको अचारसँग पोलेको, ढिकीमै कुटेको चिउरा घरमै बनाउने गरिन्थ्यो । बालबालिकालाई बर्षमा एकैपटक दुई जोर कपडा पाउने दशैं कहिले आउला झंै हुन्थ्यो । स्कुलको ड्रेस र टीकाको दिनमा लगाउने अर्को ड्रेस ।

घटास्थापना सुरु भएसँगै साथीभाई र ठूला दाइहरुसँग मिलेर पिङ्ग राख्नको चटारो हुन्थ्यो । खरको व्यवस्था गरेर घरै पिच्छे ५–१० रुपैयाँ उठाएर पिङ्ग बनाउने गरिन्थ्यो ं। पिङ्ग राखिसकेपछि बल्ल दशंै आए झैं हुन्थ्यो । त्यति मात्रै नभएर घरआगन, बाटोघाटा,े चौतारो सरसफाई गर्ने र रङ्गाउने काम पनि गरिन्थ्यो ं।

पहिला गाउँमा सबैका घरघरमा टेलिभिजन थिएनन् । दशैं भनेपछि मनोरञ्जन गर्ने, खाने, खेल्ने, रमाउने र गाउँभन्दा बाहिर, देशभन्दा बाहिर रहेका आफन्त, छिमेकी जम्मा हुने पर्व भएकाले मनोरञ्जनका लागि चेतनामूलक नाटक तथा सास्कृतिक कार्यक्रम गरिन्थ्यो । प्रायः गाउँमा सबै जम्मा भएपछि अष्ठमी÷नवमीका दिन पारेर भब्य सांस्कृतिक कार्यक्रम गरिन्थ्यो । मनोरञ्जनको साधन अरु केही नभएकोले हामीले आयोजना गरेको सांस्कृतिक कार्यक्रम हेर्न टाढाटाढा गाउँबाट पनि आउँथे । गाउमा सबैसँग सहयोगीपन आत्मीयता सेवाभाव हुन्थ्यो ।

अहिलको दशैं

अहिले गाउँलाई पनि सहरिकरणले ढाकेको छ । त्यस्ता दिन, त्यस्तो बेला र त्यस्ता स्वभाव र रुचि भएका केटाकेटी गाउँमा पनि छैनन् । अहिले दशैंलाई सबैले दशंैको रुपमा मान्न पनि छोडेको अवस्था छ । कतिपयले त यो चार्डलाई परिमार्जन गर्नुपर्छ भन्न थालेका छन् । आर्य र अनआर्यबीचको विवाद उठ्यो । अघिल्लो इतिहास बिर्सेकाले यी कुराले ठाउँ पाएका हुन् । प्रकृति माथिको विजयबाट दशंै आरम्भ भएको हो भन्ने कुरा नबिर्सिएको भए आर्य र अनआर्यको विजय हुने थिएन । मधेस र पहाडका भाईभाईको कस्तो मित्रता थियो । सबै एकाकार भएका थिए । उनीहरुलाई प्रयोग गरेर सत्ता प्राप्त गर्ने खेलमा लागेकि भन्ने लाग्दैछ । बेला मौकामा राजनीति गर्नेले र संस्कृतिमाथि आक्रमण गर्नेहरुले पनि संस्कृति माथि आक्रमण गर्दैछन् । यो संस्कृति तिमीहरुको होइन भनेपछि उनीहरु त संस्कृतिविहिन भए । जसले गर्दा तिमीहरुको चार्ड भएन, अर्को चार्ड मनाउनुपर्छ भनेर भन्न थाले ।

पहिले तराईवासीले मात्र मनाउने गरेको छठ अहिले सबैले मान्न थालेका छन् । जुन निक्कै खुशीको कुरा हो । कतिपय चार्ड साझा हुन्छन् । कतिपय निश्चित जातिका मात्र हुन्छन् तर, हरेक चार्डको पछाडि सुन्दर इतिहास र विज्ञान लुकेको हुन्छ तिनलाई खोज्नुपर्छ । तर, छठ्, ल्होत्सार लगायतका चार्डभन्दा सबैलाई जोड्ने चार्ड दशैं नै हो, भन्दा कुनै अप्ठारो नपर्ला । त्यसैले पनि यो चार्ड सबैको हो, भनेर बुझ्न सकिन्छ ।

(नेपाल प्रेस युनियन सुर्खेतद्वारा प्रकाशित दशै विशेषाङ्क ‘प्रेरणा’मा अमर कार्कीद्वारा लेखिएको लेख)

दशैंः उहिले र अहिले

११ः०२ बजे टिकाको साइत

दशैंः उहिले र अहिले

चुकेनी जलविद्युत् आयोजनाको ९८ प्रतिशत काम सकियो