लगाममा नेपाली सेनाको स्वास्थ्य शिविर


पश्चिम सुर्खेतको लगाममा नेपाली सेनाले स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

शनिवार चौकुने गाउँपालिका–२ लगाममा सुर्खेतमा रहेको कालीबहादुर गणले स्वास्थ्य शिविर सञ्चालन गरेको हो । सामाजिक विकास मन्त्रालय, कर्णाली प्रदेश अस्पताल, जिल्ला आँखा अस्पताल, ज्योति फाउण्डेशन लगायतको आयोजनामा सो शिविर सञ्चालन भएको हो ।

गुणस्तरीय स्वास्थ्य सेवाको पहुँचभन्दा बाहिर रहेको दुर्गम गाउँमा पुगेर नेपाली सेनाले स्वास्थ्य शिविर सञ्चालन गरेको गणपति प्रमुख सेनानी शैलेन्द्र सिलवालले बताए ।

‘नेपाली सेनाले गर्ने सामाजिक सेवाअन्तर्गत हामीले स्वास्थ्य शिविर सञ्चाल गरेका हौं, पालिकाका जनप्रतिनिधिसँगको समन्वयमा गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच नभएको गाउँ रोजेका हौं,’ उनले भने ।

यसले सर्वसाधारण र नेपाली सेनाबीचको सम्बन्ध सुधार हुने उनले बताए ।

शिविरमा कर्णाली प्रदेश अस्पतालमा कार्यरत जनरल सर्जन डा. उपेन्द्रकृष्ण रेग्मी, स्त्रीरोग तथा प्रसूति विशेषज्ञ डा. रोजी यादव, नेपाली सेनाका उपसेनानी डा. मोनिमा महर्जन, प्रदेश अस्पतालकै डा. दर्पण नेपाली, सुर्खेत आँखा अस्पतालका ओपिडी इञ्चार्ज अरुण गुप्ताले सेवा दिएका छन् ।

शिविरमा चौकुने गाउँपालिकाका वडा नम्बर १, २ र ३ का माथिल्लो लगाम, तल्लो लगाम, बडासैन, पोखरे, साताबोला, धम्मु, फिचला, मौरीबन, पिपलकुन्टा, कोसेडा, सिमलखेत, हल्दुखेत, धनरास, पग, सोत, तोलीसैन, रानागैरा, धामीसैन, तालागाउँ, केलाबोट, चायबोट, काप्रीकाँडा, सिमली, धौलीछायाँ, दानीगौडा, सातसल्ली, सिमलगैरा, धौलेकाँडा, थापाथैली, गहुँखाडा गाउँका नागरिकले सेवा लिएका छन् । यी गाउँका चार सय बढीले शिविरबाट सेवा लिएका छन् ।
स्वास्थ्य सेवा लिन गाडी खोजेर टाढा जानुपर्ने बाध्यताबीच गाउँमै शिविर चलाएर आफूलाई सहज भएको स्थानीय रतनसिं बान्तोलाले बताए ।

गाउँपालिकामा नेपाली सेनाले पहिलो पटक शिविर चलाएको गाउँपालिकाका अध्यक्ष खड्क विकले बताए ।

‘सडकको राम्रो सुविधा नभएका यहाँका गाउँबाट गुणस्तरीय सेवा लिन सदरमुकामसम्म जान पनि समस्या छ, यस्तो अवस्थामा गाउँमै आएर सैनिकले शिविर चलाएपछि स्थानीयलाई राहत भएको छ,’ उनले भने ।

लगाममा नेपाली सेनाको स्वास्थ्य शिविर

नेपाल राष्ट्र बैंकमा रिक्त पदपुर्तिका लागि विज्ञापन

लगाममा नेपाली सेनाको स्वास्थ्य शिविर

स्वास्थ्य क्षेत्रको विकासलाई उच्च प्राथमिकता