२०८२ फाल्गुन ५ गते
×

Now Playing

हरित अभियान सफल पार्न दुई सय १८ ट्रि गार्ड सहयोग

कोहलपुर नगरपालिकाद्वारा व्यापक वृक्षरोपण गरेर सुरु गरिएको हरित कोहलपुर अभियानलाई सफल बनाउन विभिन्न सङ्घसंस्थाले बिरुवा संरक्षणका लागि दुई सय १८ वटा ट्रि गार्ड सहयोग गरेका छन् ।

वृक्षरोपण गरिने तर संरक्षणमा ध्यान कम दिँदा अधिकांश बिरुवा मरेर जाने वा छाडा चौपायाले नष्ट गर्ने हुँदा विरुवाको संरक्षण गर्ने उद्देश्यले विभिन्न सङ्घसंस्थाबाट दुई सय १८ थान ट्रि गार्ड सहयोग प्राप्त भएको नगरपालिकाले जनाएको छ ।

कोहलपुर नगरपालिकाका प्रमुख पूर्णप्रसाद आचार्यले नगरलाई हरित नगर बनाउन व्यापक मात्रामा गरिएको वृक्षरोपणको संरक्षण गर्न कोहलपुरलगायत बाँकेका सङ्घसंस्था, बैंक वित्तीय संस्था र व्यक्तिहरुले हालसम्म ६ लाख ९७ हजारभन्दा बढी रकमको दुई सय १८ वटा ट्रि गार्ड सहयोग गरेको बताए ।

उनले कोहलपुर नगरपालिकाको हरित अभियानप्रति ऐक्यबद्धता जनाउँदै बैंक, वित्तीय संस्था, प्याब्सन र एन प्याब्सन, उद्योगी व्यवसायी लगायत शैक्षिक संस्थाहरु गरेर ३८ वटा संस्थाले सहयोग गरेको बताए ।

कोहलपुर नगरपालिकाका नगर प्रहरी प्रमुख वीरबहादुर थापाका अनुसार नगरमा तीन हजार ४० कोनोकार्पस ल्यान्सिफोलियस प्रजातिको बिरुवा र अन्य पाँचसय गरेर नगरभरि तीन हजार पाँचसय बिरुवा रोपिएको छ । ती बिरुवा ठूलो भएपछि बाह्रमासे नगरमा हरियाली र सुन्दरता देखिनेछ ।

बिरुवाको संरक्षण गर्न नगरपालिका, स्थानीय र सरोकारवाला व्यक्तित्व, सङ्घसंस्थाले यस अभियानलाई सहकार्य, सहयोेग गरेकोमा अभियान सफल हुने विश्वास उनले गरे ।

कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकालले बिरुवा संरक्षण गर्ने दायित्व सबैको भएको जनाउँदै निर्वाचित जनप्रतिनिधि वा कार्यालयले मात्र गरेर नहुने बताए ।

नगरपलिकाको नगरप्रहरी प्रमुख थापाका अनुसार बिरुवा संरक्षणका लागि क्रिसा, प्याब्सन, एन प्याब्सनले ५० वटा, एनएमबी बैंक लिमिटेड कोहलपुर शाखाले २० वटा, कृषि विकास बैंकले २० वटा, सुनिल राईस मिल बैजनाथले १७ वटा, लक्ष्मी सनराइज बैैंकले १५ वटा, शाइन रेसुङ्गा डेभलोपमेन्ट बैंक कोहलपुर शाखाले १० वटा, कालिका लघुवित्तीय संस्था लिमिटेडले ८ वटा र अन्य सङ्घसंस्था, उद्योगी र व्यवसायीले गरेर २१८ वटा ट्रिगार्ड सहयोग गरेका छन् ।

उनले थप सङ्घसंस्था र व्यक्तिहरुले पनि बिरुवा संरक्षणका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएको बताए ।

हरित अभियान सफल पार्न दुई सय १८ ट्रि गार्ड सहयोग

स्थानीय पाठ्यक्रम बन्या तर पुस्तक भने छैन

हरित अभियान सफल पार्न दुई सय १८ ट्रि गार्ड सहयोग

बल्खुमा दुर्गा प्रसाईं समर्थक र प्रहरीबीच झडप