एमयूको स्वायत्तता तथा भूमिका विषयक अन्तरक्रिया

मध्यपश्चिम विश्वविद्यालय (एमयू) सुर्खेतको आयोजनामा २१औं शताब्दीमा विश्वविद्यालयको स्वायत्तता तथा भूमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा. डा. नन्द बहादुर सिंहको अध्यक्षतामा सम्पन्न भएको थियो ।

उक्त कार्यक्रममा कर्णाली प्रदेश तथा जिल्ला स्थित विभिन्न राजनैतिक पार्टीका मूल नेतृत्व एवं प्रतिनिधिज्यूहरु, वीरेन्द्रनगर नगरपालिकाका पूर्व मेयर, सुर्खेत शिक्षा क्याम्पसका पूर्व क्याम्पस प्रमुख तथा पूर्व जिसस सभापति लगायतको उपस्थिति रहेको थियो ।

अन्तरक्रिया कार्यक्रम पूर्व विश्वविद्यालयका पदाधिकारी तथा अतिथिहरु सम्मिलित संयुक्त टोलीले मध्यपश्चिम विश्वविद्यालय केन्द्रीय कार्यालय परिसर, ग्र्याजुएट स्कुल अफ इञ्जिनियरिङ्ग (सानो सुर्खेत), ग्र्याजुएट स्कुल अफ साइन्स एण्ड टेक्नोलोजी, मुसोम, ग्र्याजुएट स्कुल अफ एजुकेशन, ग्र्याजुएट स्कुल अफ ह्युम्यानिटिज एण्ड सोसल साइन्सेस र ग्र्याजुएट स्कुल अफ म्यानेजमेन्टको भ्रमण तथा पछिल्लो समय भएको विकास र परिवर्तनको अवलोकन गरेको थियो ।

भ्रमण पश्चात औपचारिक रुपमा संचालित अन्तरक्रिया कार्यक्रममा मध्यपश्चिम विश्वविद्यालयका रजिष्ट्रार प्रा. डा. नारायण प्रसाद पौडेलले स्वागत मन्तव्य राखेका थिए । स्वागत मन्तव्य पश्चात विश्वविद्यालयका उपकुलपतिले मध्यपश्चिम विश्वविद्यालयको एकिकृत दुरदृष्टि तथा प्रगति विवरण प्रस्तुत गरेका थिए ।
कार्यक्रममा मध्यपश्चिम विश्वविद्यालयको विगत र वर्तमान दर्शाउने ‘मध्यपश्चिम विश्वविद्यालय रूपान्तरण वृत्तचित्र प्रस्तुत गरिएको थियो । उक्त प्रस्तुतीकरण पश्चात विभिन्न राजनैतिक पार्टीका मूल नेतृत्व, नागरिक समाजका अगुवा एवं विशिष्ट व्यक्तित्वहरुले मन्तव्य राखेका थिए ।







