स्वस्थकर खाद्य वस्तुहरु खाऔं, दशैंमा रमाऔं

दशैं तथा चाडवाडको बेला राम्रो लगाउने, मीठो खाने, घुमघाम गर्ने हाम्रो प्रचलन छ । मिठो खाने, विभिन्न प्रकारका खानेकुरा खरीद गर्ने र खाने परम्परासँग जोडिएको यो पर्वको बेलामा खाद्यन्न र अन्य विभिन्न चिज वस्तुहरुमा पनि अवश्य ध्यान दिन जरुरी हुन्छ । चाडपर्वको बेलामा विशेषगरी धेरै खाद्य सामग्रीहरु किनबेच हुने गर्दछ ।

मिसावटयुक्त, न्युनस्तर र दुषित खानेकुराबाट हामी ठगिन, फूड पोइजन भै बिरामी हुन र मृत्यु समेत हुन सक्ने तथ्य हामी सामु रहेको छ । अतः चाडबाडमा रमाइलो गर्ने चक्करमा दुर्घटना नहोस भनेर हामी सबै सजग र सचेत हुनु पर्दछ । आम उपभोक्ताले दैनिक उपभोग्य वस्तुहरुका सन्दर्भमा थाहा पाउनुपर्ने महत्वपूर्ण कुराहरु धेरै छन् । अझै दशैं, तिहारजस्ता चाडपर्वको समयमा अझै धेरै जानकार हुन आवश्यक छ ।

माछामासुः

दशैंको समयमा उपभोक्ताले धेरै प्रयोग गर्ने माछामासु पनि एक हो । यती हरेकको घरमा माछामासुको धेरै खाने गरिन्छ । अस्वस्थकर माछामासु खाएको खण्डमा दशैं खल्लो पनि हुन सक्छ । त्यसैले माछामासुजन्य वस्तुहरु खरिद गर्दा जनावर तथा पशुपंक्षीहरु बध गर्ने स्थल र मासु बिक्री गर्ने स्थलमा स्वच्छता कायम गरिएको, रोगी तथा मरेका पशुपंक्षी तथा अन्य जनावरको मासु मिसावट नगरिएको ताजा र स्वच्छ मासु एकिन गरेर मात्र खरीद गर्ने गर्नुपर्छ । प्रशोधित मासु जस्तै सुकुटी, ससेज, मासुको अचारजस्ता परिकार खरीद गर्दा लेबल हेरी उपभोग्य अवधी एकिन गरेर मात्र खरीद गर्ने गर्नु पर्दछ । स्वच्छता र गुणस्तरमा शंका लागेमा सम्बन्धित नियमन निकायमा उजुरी गर्न सके त्यसको नियमन गर्न सकिने र आम उपभोक्ताले ताजा माछामासु खाना पाउने अधिकार सुनिश्चित हुन सक्छ ।

ताजा माछामासुको स्वच्छता र गुणस्तर पशुबधशाला र मासु जाच ऐन अनुसार पशु सेवा कार्यालयका पशुपंक्षी बिज्ञ (भेटेरिनरी डाक्टर) हरुले र प्रशोधित मासुको परिकारको स्वच्छता र गुणस्तर खाद्य ऐन अनुसार खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालयहरुका खाद्य विज्ञहरुले नियमन गर्ने कानुनी व्यवस्था रहेको छ । यही कुरालाई ध्यान दिएर काँही कतै गुणस्तरहिन माछामासु विक्रि वितरण भएको थाहा पाए जानकारी गराउन पनि सकिने कुरालाई ध्यान दिन आवश्यक छ ।

घरेलु मदिराः

दशैं, तिहार लगायतका ठुला चाडपर्वमा मदिराको पनि प्रयोग धेरै गर्ने गरिन्छ । विशेषगरी रमाइलोको नाममा मदिराहरुहरुको प्रयोग धेरै गर्ने प्रवित्तिका कारण शान्ति सुरक्षामा त चुनौँती थपिएको छ नै । अर्कोतर्फ स्वास्थ्यमा समेत प्रतिकुल असर परिरहेको हुन्छ ।

अझै घरेलु मदिराको प्रयोगले त झनै ज्यानै जाने सम्भावना धेरै हुने गर्दछ । किनभने घरेलु मदिरामा विभिन्न मिसावट गरिन्छ । त्यसैगरी अल्कोहल मात्रा पनि एकिन गरिएको हुँदैन । त्यसैले स्वास्थ्यमा प्रतिकुल असर पर्न जान्छ । अर्को महत्वपूर्ण जान्नैपर्ने विषय विषाक्त च्याउको बारेमा पनि हो । च्याउको प्रयोग चाडवाडको बेलामा धेरै गरिन्छ । जंगली च्याउ खानाले ज्यानै पनि गएका घटनाहरु आइरहन्छन् । त्यसैले आम उपभोक्ताले जंगली च्याउको प्रयोग पनि गर्न हुँदैन ।

मिठाइजन्य वस्तुः

चाडपर्वको समयमा धेरै किनबेच हुने वस्तु अन्तरगत मिठाइजन्य वस्तु पनि पर्दछ । जेरी, दालमोठ नमकीन जस्ता खाद्य वस्तुहरु राम्रो देखाउनको लागि रङ्गको प्रयोग गरिएको हुन्छ । यसरी विभिन्न रङ्गहरुको मिसावट गरिएका मिठाइजन्य वस्तुहरुले हाम्रो स्वास्थ्यमा प्रतिकुल असर गर्दछन् । त्यसैले रङ्ग नहालेको ताजा मिठाइजन्य वस्तुहरु किनेर मात्रै प्रयोग गर्नुपर्दछ ।

फुड पोइजनलाई ध्यान दिउः

नपकाइकन खाइने पदार्थहरु जस्तैः सलाद, आइसक्रिम, दही, मोही, लस्सी, जुस लगायत हल्का पेय पदार्थ, साँदेर बनाइएको अचार, चट्पट, पानीपुरीजस्ता खाद्य परिकारबाट फूड पोइजन हुने अत्यधिक सम्भावना हुन्छ । यस्ता परिकार तयार गरेको अवस्था एकीन गरी सावधानी अपनाउन आवश्यक हुन्छ ।

खाद्य सामग्री खरिदमा ध्यान दिउः

आम उपभोक्ताले सबैभन्दा जान्नुपर्ने कुरा केहो भन्दा जथाभावी जाहाँ पायो त्यहीबाट खाद्य सामग्रीहरु खरिद गर्नु हुँदैन ।

विशेषगरी सिलबन्दी खाद्यको हकमा लेबल हेरी म्याद नाघेको होकी होइन ? भन्ने कुरा एकीन गरेर (म्याद गुज्रेको खाध पदार्थ खरीद नगर्न ) र होटल रेस्टुरेन्टमा खानु अघि पहिले किचनको अवलोकन गरेरमात्र खानेकुरा अर्डर गर्ने (किचनमा सरसफाई सन्तोषजनक नभएको, झिगा भन्केको, सडेगलेका खाद्य बस्तु भेटिएको, बट्टामा नै अखाद्य रङ्ग र अन्य अखाद्य केमिकल लेखिएको बस्तु भेटिएमा त्यस्तो खानेकुरा अर्डर नगर्ने) र प्रयोग गर्न हुँदैन । यदी खाद्य तथा पेय पदार्थको स्वच्छता तथा गुणस्तरमा शंका लागेमा खाद्य प्रविधि तथा गुण नियन्त्रणका कार्यालयहरुमा सम्पर्क गरेर जानकारी गराउनुपर्दछ ।

भेषराज थापा (खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, सुर्खेत), (नेपाल प्रेस युनियन सुर्खेतद्वारा प्रकाशित दशै विशेषाङ्क ः प्रेरणाबाट साभार)
स्वस्थकर खाद्य वस्तुहरु खाऔं, दशैंमा रमाऔं

आज वर्षाको सम्भावना

स्वस्थकर खाद्य वस्तुहरु खाऔं, दशैंमा रमाऔं

११ः०२ बजे टिकाको साइत