दशैंमा के गर्दैछन् कर्णालीका मन्त्री र सांसद ?

हिन्दुहरुको महान चाड दशैं धुमधानमका साथ मनाईन्छ । यो बर्षको दशैं नजिकिएसँगै कर्णाली प्रदेशको राजधानी सुर्खेतसहित देशका विभिन्न ठाउँमा रहेका सर्बसाधरणहरु कर्मथलोबाट जन्मथलो पुगीसकेका छन् । आश्विन महिनाको शुक्ल प्रतिपदाका दिनदेखि नवमीसम्म शक्तिको आराधना गरी दशौं दिन अर्थात दशमीका दिन आफूभन्दा ठुला मान्यजनहरुको हातबाट टीका–जमरा र प्रसाद ग्रहण गरेर विशेष रुपमा पुर्णिमासम्म मनाउने यो पर्वमा नेतादेखि सर्बसाधरण आफ्नो मान्यजनबाट आर्शिवाद लिन जम्मा हुने गर्दछन् । यो बर्ष कर्णाली प्रदेश प्रमुखदेखि सभामुख मन्त्री र सांसदहरुले यो बर्षको दशैं कहाँ कसरी मनाउँदै छन् ?
नन्दा गुरुङ्ग (सभामुख)
सातै प्रदेश मध्य प्रदेशसभाको पहिलो सभामुख हुन सफल कर्णाली प्रदेशसभाका सभामुख नन्दा गुरुङ्गको यो पटक दशैं टिका छैन् । उनले टिका नलगाएपनि सुर्खेत वीरेन्द्रनगरमै आफ्नै घर परिवार र नागरिकसँग सुख दुख साटासाट गर्ने योजना बनाएकी छन् । दशैं पर्व सकिएसँगै उनी आफ्नो नियमित काममा फर्किने कार्यतालिका बनाइएको सचिवालयले जनाएको छ । दशैं बिदाको फुर्सदमा मतदाता र सुभचिन्तकहरुसँग भेटघाट तथा शुभकामना आदानप्रदानको कार्यतालिका सभामुख गुरुङ्गको छ । ‘यो पटक मेरो दशैं टिका छैन’, सभामुख गुरुङ्गले भनिन्, ‘दशैं टिका नभएपनि परिवारका सदस्यहरु, घरमा आउने आफन्त र सुभचिन्तकहरुसँग सुख–दुख साटासाट गरेर यो पर्वलाई हर्षउल्लास बनाउने योजनामा छु ।’ वर्ष दिनको चाडपर्वलाई हर्षउल्लास र खुशियालीका साथ मनानउन म अनुरोध गर्छ । दशैंमा धेरै तडकभडक गर्न आवश्यक छैन, जे छ त्यसैमा खुशी हुनुपर्छ । स्वास्थ्यको ख्याल राखेर ठिक्क मात्रामा खानपिन खानाले स्वास्थ्य समस्याबाट बच्न पनि म सुझाव दिन्छु, सभामुख गुरुङ्गले बताइन् ।
कृष्ण जिसी (आन्तरिक मामिला तथा कानुन मन्त्री)
कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण जीसीले यो बर्षको दशैं आफ्नै गृह जिल्ला सुर्खेतको चिङ्गाडमा मनाउने योजना बनाएका छन् । दशैं टिका नभएपनि उनले घर परिवार, आफन्त र नागरिकसँग सुख दुख साटासाट गर्ने योजना बनाएका छन् । ‘मेरो यो पटक दशैं टिका छैन् ।’ उनले भने, ‘टिका लगाउने कार्यक्रम नभएपनि परिवार, आफन्तसँग खुशी साटासाट भने अवश्य गरिन्छ नै । त्यो भन्दा महत्वपूर्ण कुरा आफ्नो गाउँघरमा शान्ति सुरक्षा र सद्भाव कायम राख्न मेरो ध्यान केन्द्रीत हुनेछ ।’
प्रदेशको शान्ति सुरक्षा कायम राख्नु आफुले सम्हालेको मन्त्रालयको जिम्मेवारी भएकाले त्यतातर्फ पनि आफ्नो ध्यान केन्द्रीत गर्नेगरी कार्ययोजना बनाइएको मन्त्री जिसी बताउछन् । ‘पछिल्लो समय समाज हिंसात्मक बन्दै गएको छ’, उनले भने, ‘जसमा हामी जस्तो नेतृत्व तहमा रहेका व्यक्तिको भुमिका धेरै हुन्छ ।’ चाडपर्वलाई भड्किलो नबनाएर सहज बनाउँदै खुशी रुपमा मनाउन उहाको सुझाव छ ।
कृष्ण कुमार विसी (उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री)
कर्णाली प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री कृष्ण कुमार विसीले यो बर्षको दशैं सुर्खेत वीरेन्द्रनगरमा मनाउँदै छन् । दशैंको दुइदिन अगाडी आफ्नो जन्मथलो दैलेख गुराँस गाउँपालिका जाने कार्यतालिका छ, त्यहाँ गएर आफन्त, आम जनतासँग भेटघाट गर्ने कार्यक्रम रहेको मन्त्री विसीले बताए ।
दशैंको अघिल्लो दिन वीरेन्द्रनगर फर्किने दशैं टिका परिवारसँग बसेर मनाउने योजना मन्त्री विसीको छ । ‘दशैं अन्य बर्षहरुमा जसरी मनाइन्थ्यो । त्यसरी नै मनाउने मेरो तयारी छ’, उनले भने, ‘मन्त्री भएको बेलामा फरक तरिकाले मनाउने र अरु बेला फरक भन्ने हुँदैन्, आम सर्वसाधारणले जसरी मान्यजन आफन्तहरुको भेटघाटमा दशैं मनाउनुहुन्छ, त्यसैगरी नै म पनि दशैं मनाउछु ।’
दशैंमा आफुसँग जे छ, त्यसैमा रमाएर मनाउन उनले आग्रह गरे । ‘अरुको देखासिखी गरेर होइन, जे जस्तो आफैसँग भएको कुरामा रमाएर दशैं मनाउन अनुरोध गर्छु ।’
कल्याणी खड्का, (प्रदेश मामिला समिति सभापती )
प्रदेशसभा सदस्य एवम् प्रदेश मामिला समिति सभापती कल्याणी खड्काले यो बर्षको दशैं आफ्नो गृह जिल्ला रुकुमको चौरजहारीमा मनाउदै छिन् । उनले आफ्ना भाइ–बुहारी र भदैको साथमा बसेर दशैं मनाउने योजना बनाएकी हुन् । आफ्ना नातेदार, इष्टमित्र र गाँउमा भएका आफन्तहरुसँगै नागरिकसँग सद्भाव बाड्दै दशैं पर्व मनाउने खड्का बताउछिन् । ‘मेरो राजनितिक कार्य क्षेत्र रुकुमको चौरजहारी–९, अनि मेरो बुवाआमाको घर र समुदाय पनि भएकाले म त्यतै मनाउछु’, उनले भनिन्, ‘मेरो बालापन वितेको रुकुममै यो बर्षको दशैं मनाउछु ।’
‘पहिले चाडपर्वमा शहरबाट गाँउ फर्किने युवा जमात अहिले विदेशिन थाले जसले घरमा बुढाबुढी मात्रै हुन थाले’, उनले भनिन्, ‘परिवारमा सबै एकनासको हुदैन कोहि धनि छ कोहि गरिब तर चाडपर्वमा यसले माइने राख्नु हुदैन, नितान्त परिवारको जमघट, ठुलाको हातबाट आशिष लिने अनि दुख सुख साटासाट गर्ने मौका हो, त्यसरी नै मनाउन म आग्रह गर्छु ।’
घनश्याम भण्डारी, (सांसद एवम् सामाजिक विकास समिति)
नेपाली कांग्रेसबाट दैलेख क्षेत्र नम्बर २ (क) बाट निर्वाचित कर्णाली प्रदेश सभाका सबैभन्दा कान्छा सांसद घनश्याम भण्डारीले यसवर्षको दशैं आफ्नै निर्वाचन क्षेत्रमा मनाउदैछन् ।
उनले आफ्नो निर्वाचन क्षेत्रका २० वटा वडामा पुगेर त्यहाँको अवस्थाका बारेमा जानकारी लिई सबै वडाका नागरिकसँग अन्तक्रिया गर्ने योजना बनाएका छन् । ‘सबैभन्दा महत्वपुर्ण कुरा चाडपर्वलाई भड्किलो नबनाउने, सरल तरिकाले मनाउने उत्तप्रेरित गर्ने योजना छ’, उनले भने, ‘जुवातास, मदिरा लगायतको सेवनले गर्दा दशैंलाई खल्लो बनाइदिन सक्छ, त्यस्ता क्रियाकलाप बन्द गर्न प्रेरणा प्रदान गर्नेगरी अन्तरक्रिया गर्ने योजनामा छु ।’ छुट्टी मनाउन गाँउ जाने राष्ट्र सेवक र शहरबाट गाँउ पुग्ने मानिसले भड्किलो व्यवहार गरेर गाँउघरको शान्ति सुरक्षा भगं गर्ने प्रचलन अन्त्य गर्न सबै नागरिकको माँझमा गएर दशै मनाउने योजना आफुले बनाएको सांसद भण्डारी बताउछन् ।
रणसिहं परियार, (सांसद हुम्ला अदानचुली)
माओवादी केन्द्र हुम्लाको प्रदेश सभा ‘क’ बाट निर्वाचित सासंद रणसिहं परियारले यो वर्ष दशै अगावै आफ्नो निर्वाचन क्षेत्रमा जाने योजना बनाएका छन् । दशै अगावै आफ्नो निर्वाचन क्षेत्रमा गएर नागरिकसँग शुभकामना आदानप्रदान गरि दशैं मनाउन भने आफ्नो परिवार भएको सुर्खेतमै आउने कार्यतालिका बनाएका छन् । दशैंको मौसम नै खुशी दिने मौसम हो ।
उनी भन्छन्, ‘यस्तो खुशीको बेलामा परिवार, आफन्त र जनतासँग साट्ने योजना बनाएको छु । दशैंभन्दा केहीदिन अगाडी हुम्ला जान्छु र जनतासँग सुख साट्छु, अनि दशैंकोको टिका भने सुर्खेतमा मनाउने कार्यतालिका बनाएको छु ।’
पछिल्लो समय सबै काम केन्द्रीत भएकाले जन्मस्थान, परिवार, इष्टमित्र, गाँउघर भन्दा पनि पैसा केन्द्रीत हुँदा संस्कृती हराउने डर भएको उहाँ बताउनुहुन्छ । संस्कृती जोगाउनेगरी दशैंलाई मनाउन सुझाव उनले दिए ।
(नेपाल प्रेस युनियन सुर्खेतद्वारा प्रकाशित दशै विशेषाङ्क ‘प्रेरणा’मा सिर्जना बुढाथोकीद्वारा लेखिएको लेख)






