२०८२ फाल्गुन ५ गते
×

Now Playing

उच्च हिमाली भेगमा कार्यरत प्रहरी जिल्लामा सारिए

हिमपातसँगै चिसो बढेर कर्णाली प्रदेशका उच्च हिमाली भेगमा रहेका प्रहरी इकाइमा कार्यरत प्रहरीहरुलाई जिल्ला प्रहरी कार्यालयमा सारिएको छ ।

कर्णालीका डोल्पा, हुम्ला र मुगुका उच्च भूभागमा रहेका प्रहरी इकाइमा कार्यरत प्रहरीहरुलाई अस्थायीरुपमा जिल्लामा सारिएको हो । अहिले सारिएका प्रहरीहरु अब फागुन महिनामा मात्र हिमाली भेगका प्रहरी इकाइमा जानेछन् ।

कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार ईलाका प्रहरी कार्यालय नाम्दो डोल्पा, ईलाका प्रहरी कार्यालय तिन्जे डोल्पा, प्रहरी चौकी भिजेर डोल्पा, प्रहरी चौकी धौ डोल्पा, अस्थायी प्रहरी पोष्ट टास्की डोल्पा, अस्थायी प्रहरी वेश राप डोल्पा, अस्थायी प्रहरी पोष्ट फोक्सुण्डो डोल्पा, ईलाका प्रहरी कार्यालय लिमि हुम्ला र ईलाका प्रहरी कार्यालय मुगुमा कार्यरत प्रहरीहरुलाई सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा कामकाजका लागि खटाइएको छ ।

हिमाली जिल्लाका उच्च भेगमा रहेका ९ वटा प्रहरी इकाइमा कार्यरत ५३ जना प्रहरीहरुलाई जिल्ला प्रहरी कार्यालयमा कामकाजका लागि खटाइएको प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । हिउँदयाममा चिसोको कारण उच्च हिमाली भेगका प्रहरी इकाइलाई मर्ज गर्ने गरिएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी भीमप्रसाद ढकालले बताए ।

चिसो र हिमपातमा त्यहाँका प्रहरी इकाइहरु बस्न अनुकूल नभएकोले प्रहरीलाई जिल्लामा सारिएको उनले बताए । उनले भने, ‘चिसोको समयमा त्यहाँका अधिकांश नागरिकहरु पनि तलै झर्छन् । अन्य कार्यालय पनि बस्दैनन् । प्रहरीहरु पनि हामीले तल झारेका हौं ।’

प्रहरीहरु जिल्ला आएपछि पनि त्यहाँको सुरक्षाका लागि महिना–महिनामा प्रहरीको गस्ती पठाउने गरिएको उनले बताए । उनले भने, ‘सुरक्षा समन्वय पनि भइरहेको हुन्छ । स्थानीय नागरिकसँग सम्पर्क गरेर सम्बन्धित ठाउँको जानकारी लिने काम पनि गरिरहेका हुन्छौं ।’

उच्च हिमाली भेगमा कार्यरत प्रहरी जिल्लामा सारिए

पूर्व मन्त्री न्यौपानेको निधन

उच्च हिमाली भेगमा कार्यरत प्रहरी जिल्लामा सारिए

राष्ट्रिय वीमाद्धारा एक सय २९ परिवारलाई वीमा