भूकम्प प्रभावित क्षेत्रमा बीमा प्राधिकरण

भूकम्प प्रभावित जिल्लामा नेपाल बीमा प्राधिकरणले जनचेतनामुलक कार्यक्रमको आयोजना गरेको छ । प्राधिकरणको कर्णाली प्रदेश कार्यालयले रुकुम पश्चिमको बाँफिकोट गाँउपालिका र जाजरकोटको कुशे गाँउपालिकामा बीमा सम्बन्धी जनचेतनामुलक छलफल तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो ।

प्राधिकरणले गत मंसिर २९ गते रुकुमपश्चिमको बाँफिकोट गाँउपालिका र मंसिर ३० गते जाजरकोटको कुशे गाँउपालिकामा जनचेतनामुलक कार्यक्रमहरुको आयोजना गरेको हो ।

बाँफिकोट गाँउपालिकाका अध्यक्ष जनककुमार बाठामगरले बीमाका कार्यक्रमहरुलाई पालिकाले अगाडि बढाउन चाहेपनि पालिकासम्म बीमा कम्पनीको उपस्थिति नभएको गुनासो गरे । ‘जीवन बीमा गर्न अभिकर्ताहरु बेलाबेला देखिने गरेतापनि बालि, पशुवस्तु तथा सम्पत्तिको बीमा गर्न भने किसान पनि उत्सुक नदेखिने र बीमा सेवा प्रदायकको पनि उपस्थिती नरेकोतर्फ पनी प्राधिकरणले पहल गर्नुपर्छ’, उनले भने ।

सो क्षेत्रका नागरिकका निम्ती बीमाका कार्यक्रमहरुको संचालन गरी जोखिम व्यवस्थापन गर्न आफु सधै तयार रहेको र यसका लागि सहकार्य गरिदिन बीमा प्राधिकरणसँग उनले अनुरोध गरे ।

कार्यक्रममा सहभागिहरुले कृषि तथा पशुपन्छी बीमामा रहेका समस्याहरुको बारेमा प्रश्न राखेका थिए ।

त्यस्तै जाजरकोटको कुशे गाँउपालिकका अध्यक्ष हरिचन्द्र बस्नेतले भूकम्प लगायतका प्राकृतिक प्रकोपका कारण भैतिक संरचना तथा मानविय क्षति हुने गरेकाले त्यस्ता जोखिमलाई न्युनिकरण गरी वित्तीय सहायता प्राप्त गर्न बीमा आवश्यक रहेको कुरा औल्याए । ‘कर्णाली प्रदेश सरकारले दुरगामी सोचका साथ अगाडि बढाएको प्राकृतिक प्रकोप दुर्घटना बीमाले कारण कार्तिक १७ मा भूकम्पमा परी ज्यान गुमाएका मृतकका परिवारले प्रति मृतक दुई लाख रुपैयाँ प्राप्त गरेका छन’, उनले भने, ‘यस्ता कार्यक्रम हाम्रो पालिकाले समेत कार्यान्वयन गर्न तयार छ ।’

सहभागिका जिज्ञासाहरुलाई सम्बोधन गर्दै नेपाल बीमा प्राधिकरण, कर्णाली प्रदेश कार्यालयका प्रमुख पदम प्रसाद सोडारीले ति समस्यालाई समाधान गर्न प्राधिकरणले पहल गरिरहेको जानकारी दिए । बीमा सम्बन्धी जनचेतना अभिवृद्दि गर्न पालिकाका जनप्रतिनिधिको भुमिका महत्वपूर्ण रहने भएकाले बीमाबारे सर्वप्रथम जनप्रतिनिधिले बुझ्न आवश्यक रहेको उनले बताए ।

प्रमुख सोडारीले बीमा सम्बन्धी कुनै समस्या भएमा प्राधिकरणमा जानकारी गराउन समेत आग्रह गरेका थिए ।

प्राधिकरणको कर्णाली प्रदेश कार्यालय प्रमुख सोडारीले बीमाबाट ग्रामिण क्षेत्रमा रहेका नागरिकले लाभ प्राप्त गर्न नसकेकाले प्राधिकरणले ग्रामिणस्तर लक्षित कार्यक्रमहरु सचालन गर्दै आईरहेको जनाए ।

ग्रामिण स्तरसम्म बीमाको पहुँच तथा दायरा विस्तार गरी आम नागरिकलाई बीमामा आवद्ध गर्न नेपाल बीमा प्राधिकरणले अभियानकै रुपमा विभिन्न तहका सरकार तथा सरोकारवालासँग छलफल तथा अन्तरक्रिया गर्दै आएको छ ।

भूकम्प प्रभावित क्षेत्रमा बीमा प्राधिकरण

अक्षयकोष स्थापनार्थ सहयोग

भूकम्प प्रभावित क्षेत्रमा बीमा प्राधिकरण

YUGAAWHAN NATIONAL DAILY (2080-09-03)