सहकारीको बलियो आधार नै पारदर्शीता र उत्तरदायित्व

वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकाल (भण्डारी) ले सहकारीको बलियो आधार भनेको पारदर्शीता र उत्तरदायित्व भएको बताएकी छिन् ।
सहकारी क्षेत्रमा उत्कृष्ट पहिचान बनाइरहेको जनहितकारी बचत तथा ऋण सहकारी संस्थाको कालुञ्चोक सेवा केन्द्रको उद्घाटन गर्दै नगर प्रमुख ढकालले यस्तो बताएकी हुन् ।

नगरप्रमुख ढकाल (भण्डारी) ले समाजमा छरिएर रहेको पूँजीलाई संकलन गरी एकीकृत सेवा प्रदान गर्ने कार्यको प्रशंसा गर्दै विजयादशमीको अवसर पारेर शुरु गर्न लागिएको यो शाखाले विजया दशमीको सन्देश जस्तै सहकारीको उत्तरोत्तर प्रगतिको कामना गरिन् । पछिल्लो समयमा सहकारीका बारेमा अनेकौ समाचार बाहिर आइरहेका प्रसंग उल्ल्लेख गर्दै नगर प्रमुख ढकालले जनहितकारी सहकारीले शाखा विस्तार गरेर समाजमा केही सहकारी अझै पनि पारदर्शी र समाजप्रति उत्तरदायी भएर काम गरिरहेका छन् भन्ने सन्देश प्रवाह गरेको बताइन् । नगरप्रमुख ढकालले शाखा कार्यालयको उद्घाटन पछि कार्यालयको अवलोकन समेत गरिन् ।
कार्यक्रमलाई सम्वोधन गर्दै वीरेन्द्रनगर नगरपालिका वडा नंं. ८ का अध्यक्ष टिकाराम शर्माले जनहितकारी सहकारीले २५औं वसन्त पार गरिरहँदा वास्तवमा सहकारीले एउटा परिपक्व युवाको झैं आफ्ना गतिविधिहरुलाई परिपक्व तरिकाले विस्तार गरिरहेको बताए । साथै उहाँले शाखा विस्तारसँगै आफ्ना गतिविधिहरुलाई अझै प्रभावकारी ढंगले विस्तार गर्नका लागि आग्रह समेत गरे ।
कार्यक्रमलाई सम्वोधन गर्दै सहकारी आन्दोलनका अगुवा तथा जनहितकारी सहकारीका अध्यक्ष हरिहरनाथ योगीले सहकारीको कार्यक्षेत्र वीरेन्द्रनगर नगरपालिका भएकाले वीरेन्द्रनगरभित्र रहेका सबै सदस्यहरुलाई सहयोग पुग्ने हिसाबले कार्यक्षेत्र विस्तार गरिएको जानकारी दिए ।
सहकारी संस्थाको कार्यक्षेत्र विस्तार गर्नुभन्दा भएकै कार्यक्षेत्रभित्रका सदस्यहरुलाई उत्कृष्ट सेवा प्रवाह गर्नु संस्थाको उद्देश्य रहेको बताउँदै अध्यक्ष योगीले सदस्यको सन्तुष्टी नै सहकारीको सफलता भएकाले सदस्यको सन्तुष्टीका लागि छिटो र छरितो सेवा विस्तारका लागि सहकारीले काम गरिरहेको बताए ।
कार्यक्रमका सहभागीहरुलाइ सम्वोधन गर्दै जनहितकारी सहकारीका कोषाध्यक्ष नवराज कडेलले धेरै पहिले नै शाखा खोल्ने तयारी भए पनि प्राविधिक कारणले ढिलो भएको बताउँदै सेवा विस्तार कार्यालयले वीरेन्द्रनगर नगरपालिकाका वडा न ७, ८ र १२ का सदस्यहरुले सेवा लिन सक्ने बताए ।
करिब १० हजार सदस्यलाई सेवा प्रवाह गरिरहेको सहकारीले हाल एटिएम सेवा, क्युआर कोडको सेवा लगायतका सेवाहरु विस्तार गरिरहेको जनाएको छ ।
आइतवार असोज २८ गते घटस्थापनाको शुभ दिन पारेर वीरेन्द्रनगर नगरपालिकाको वडा नं. ८ कालुञ्चोकमा शाखा कार्यालय विस्तार गरिेएको कालुञ्चोक शाखाका प्रवन्धक टिका पुरीले जानकारी दिए ।






