गुप्तांगमा लागुऔषध लुकाएर ल्याउँदै गरेकी युवती पक्राउ

गुप्तांगमा लागुऔषध लुकाएर ल्याउँदै गरेकी एक युवतीलाई प्रहरीले कैलालीको त्रिनगर भन्सार नाकाबाट पक्राउ परेको छ । प्रहरीको लागुऔषध अनुसन्धान ब्युरो कञ्चनपुर र जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले धनगढी उपमहानगरपालिका– १, बस्ने २० वर्षीया अनुस्कासिंह ठकुरीलाई नाकाबाट पक्राउ गरेको हो ।
लागुऔषध खैरो हिरोइन ल्याइरहेको सूचनाका आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । प्रहरीका अनुसार उनले योनीभित्र लुकाएको अवस्थामा एक ग्राम खैरो हेरोइन बरामद गरिएको छ ।

नाकामा रहेको हेल्थ डेस्कमा कार्यरत महिला स्वास्थ्यकर्मीको सहयोगमा योनीमा लुकाएको लागुऔषध निकालिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले पक्राउ परेकी युवती प्रयोगकर्ता हुन् वा कारोबारी हुन् भन्नेबारे अनुसन्धान भइरहेको बताए ।
खैरो हेरोइन भने भारतबाट ल्याइएको खुलेको उनको भनाइ छ । कैलालीको टीकापुर बसपार्कबाट प्रहरीले एक ग्राम लागुऔषध खैरो हेरोइनसहित शुक्रबार एकजनालाई पक्राउ गरेको छ । अछामको साँफेबगर घर भई टीकापुर बस्ने २२ वर्षीय मनोज भुललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार चेकजाँचका क्रममा उनको साथमा लागुऔषध फेला परेको थियो । भारतसँगको लामो खुला सीमाका कारण कैलाली, कञ्चनपुरमा लागुऔषधको कारोबार हुने गरेको छ । चरेसबाहेक सबैजसो लागुऔषध सीमावर्ती भारतीय बजारहरूबाट लुकिछिपी ल्याउने गरिएको प्रहरीले जनाएको छ ।






