पञ्चकोशी क्षेत्रको विकास गर्न पहल गर्छु : प्रधानमन्त्री प्रचण्ड

सुर्खेत । प्रधानमन्त्री पुष्पकमल दाहालले दैलेखको धार्मिक तथा ऐतिहासिक पञ्चकोशी क्षेत्रको विकासका लागि पहल गर्ने बताएका छन् । बुधबार बत्स गोत्रीय दहाल, लम्साल, रुपाखेती कुँवर, राणा परिवारका आदिपुरुष कुल शिरोमणि दासुको शालिक अनावरण गर्न दैलेखको दुल्लू पुगेका प्रधानमन्त्री प्रचण्डले आफ्नो पुख्र्यौली रहेको दहका साथै समर्ग पञ्चकोशी क्षेत्रको विकासका लागि प्रतिवद्ध रहेको बताए ।

दैलेखको दुल्लु नगरपालिका -१२ दह गाउँमा कुल शिरोमणि दासु स्मृति तथा अनुसन्धान प्रतिष्ठान केन्द्रीय कार्यालय काठमाडौँले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले आफूहरुको पुख्र्यौली थलो जुम्लाको दह वा दैलेखको दह कहाँ हो भन्ने अन्यौल भएका बेला दैलेखको दह गाउँ आफुहरुको पुख्र्यौली थलो भएको पुष्टि भएपछि खुशी लागेको बताए ।
उनले दैलेखमा रहेको पेट्रोलियम पदार्थको अन्बेषण, नेपालगञ्ज हुँदै नाग्चेनाग्लासम्म जोड्ने त्रिदेशी सडक, पञ्चकोशी क्षेत्रको गुरुयोजना अनुसार विकासगरी दैलेखलाई पर्यटकीय हव बनाउन विशेष ध्यान दिनुपर्ने बताए । प्रचण्डले दैलेखको श्रीस्थानमा उत्खनन् गर्न लागिएको पेट्रोलियम पदार्थको अन्बेषणका लागि भएका कामको प्रगति र त्यसको हवाई अवलोकनसमेत गरेका थिए ।






