सेनाको स्वास्थ्य शिवरबाट उपचार पाउँदा पातारासीका जनता निकै खुसी


जुम्लाको पातारासी–४ तिर्खु गाउँका ८७ वर्षिय कालो बोहोरा डाक्टरसँग जँचाउन पाउँदा खुसी भएका छन् । वृद्ध अवस्थामा डाक्टरलाई देखाएर आफ्ना रोगका बारेमा गुनासो राख्न पाएकामा उनी दंग थिए । हाम्रा गाउँघरमा पनि यसरी डाक्टर आउने रहेछन् । उनले भने, ‘सबै कुरा भन्न पाएँ । त्यसैमा खुसी लागको छ ।’
बोहोरा मात्र होइन, सोही वडा डोल्काटी गाउँकी ८० वर्षिय लामा पनि निकै खुसी थिइन् । घर आँगनमै डाक्टरको सेवा पाएकाले उनका आँखामा हर्षका आँसु बगे । उनले भनिन्, ‘यस्ती बूढी भइयो । पहिलोपटक डाक्टरसँग गाउँघरमै जँचाउन पाइयो ।’
नेपाली सेनाको नन्दावक्स गणले आइतवार राखेको निःशुल्क स्वास्थ्य शिविरमा एकै दिनमा ५ सय ४८ जनाले सेवा लिएका छन् । यसरी सेवा लिनेमा ज्येष्ठ नागरिक र महिला बढी थिए । जुम्लाको पातारासी गाउँपालिका–४ डिल्लीचौरमा अवस्थित मानवशास्त्री डोरबहादुर विष्टले बनाएको कर्णाली इन्टिच्युट भवनमा राखेको शिविरबाट उनीहरूलाई बढी फाइदा पुग्यो ।
लैगिंक हिंसाविरुद्धको १६ दिने अभियानको समापनको अवसर पारेर शिविर आयोजित गरिएको पातारासी गाउँपालिका अन्तर्गतको महिला तथा बालबालिका शाखा प्रमुख भगवती गिरीले बताइन् ।
शिविरमा चार सय २१ महिला सहभागी थिए । पुरुषको संख्या एक सय २७ जना थिए । शिविरमा उपचार गर्न आउनेलाई निःशुल्क औषधिसमेत वितरण गरिएको नन्दाबक्स गण जुम्लाका गणपति सुमन श्रेष्ठले बताए ।
उनले भने, ‘जनताको स्वास्थ्य अवस्था सुधारका लागि गाउँमै विशेषज्ञ चिकित्सक लिएको हो । विशेषज्ञ चिकित्सक गाउँमै लिएर उपचार गर्दा जनता निकै उत्साहित भए ।’

दुर्गमका बासिन्दाका लागि यो शिविरले धेरै फाइदा पुगेको छ । शाखा प्रमुख गिरीकाअनुसार सोही वडाको ऋणमोक्ष मावि डिल्लीचौरका तीन सय ५० विद्यार्थीलाई लैगिंक हिंसासम्बन्धी जनचेतनामूलक सचेतना गरिएको थियो । म हिंसा गर्दिन, म हिंसा सहन्न र हिंसा भएको देखेमा प्रतिकार गर्छु । भन्ने सन्देशमुलुक नारा पनि लगाइएको हो ।
गाउँपालिका अन्तर्गतका प्रत्येक स्वास्थ्य चौकीका आमाहरू संग पनि लैगिंक हिंसाका बारेमा जानकारी गराइएको गिरी बताउँछिन् । ढाड दुखेको, आँखा दुख्ने र ज्वरो आउने समस्याले ग्रसित गाउँमै विशेषज्ञ स्वास्थ्य सेवा पाउँदा खुसि स्थानीय महिला गोरी बुढाले लागेको प्रतिक्रिया दिइन् ।
सेनाले गाउँमै विशेषज्ञ चिकित्सक ल्याएर उपचार गराइदिएको प्रति निकै खुसी छ । गाउँमा सेवा दिदै गर्दा उपचार हुन नसकेका बिरामी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा रेफर गरेर उपचार हुनेछ । विहान १० बजेदेखि बेलुकी ६ बजे सम्म विशेषज्ञ सेवा दिइएको थियो । पातारासी गाउँपालिका उपाध्यक्ष जनमाया रोकायाले खेतिपातीमा व्यस्त रहेर अस्पताल जान नसकेका र घरायसी कामका कारण स्वास्थ्य सेवा लिन नसकेका बिरामीको लागि लक्षित गरेर विशेषज्ञ सेवा प्रदान गरिएको बताइन् ।

स्थानीय पनि निकै उत्साहित भएर स्वास्थ्य सेवा लिन सहभागि भए । नितान्तै खुसि छौँ । उनले भनिन्, ‘सेनाले स्वास्थ्य सेवा मार्फत जनसम्बन्ध सुमधुर बनाउन थालेको अनुभुति भइरहेको छ ।’ अधिकांश महिलाहरुमा पाठेघरको समस्या भेटिएको डाक्टर आशिष् खड्काले बताए ।
महिलामा पाठेघर क्यान्सरको जोखिम, सेतो पानी बग्ने र महिनावारी भएको बेला रक्तश्राव हुने समस्या बढी देखिएको उनले बताए ।
उनिहरुलाई आबश्यक औषधी र कामसंगै प्रयाप्त पोषिला खानेकुरा खान र आराम गर्न समेत सम्झाइएको छ । स्वास्थ्य परिपक्क नभई बच्चा जन्माउनु बिवाह गर्नु, कार्यभार धेरै हुनु, चुरोट तमाखुको प्रयोग गर्नु, भारी बोक्नु आराम नगर्नु लगायतका कारणले दुर्गमका महिलाहरुमा पाठेघर क्यान्सरको जोखिम बढ्ने गरेको डाक्टर भनाइ छ ।
सेवा लिएका पुरुष, बालबालिका, यूवा युवतीहरुमा, ग्याष्ट्रिक, हाडजोर्नी, छाती दुख्ने लगायतका समस्या बढी देखिएको उनी बताउँछन । उमेर नपुग्दै सानैमा विवाह,आराम भन्दा काम बढी गर्नाले पाठेघरमा समस्या हुने गरेको छ । यसको रोकथामका लागि गाउँगाउँमा सचतना चेतनामुलक कार्यक्रमहरु बढाउनु पर्ने उनी बताउँछन ।






